मंगलबार, कात्तिक २६, २०७६

प्रधानमन्त्री ओलीको दोस्रो डायलासिस हुँदै

प्रधानमन्त्री केपी शर्मा ‌ओली। | तस्वीर:फाइल फोटो

काठमाडौं, कात्तिक १४ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलाको दोस्रो डायलासिसको गर्न थालिएकाे छ।

धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा अहिले उनलाई डायलासिसका लागि आईसीयू कक्षमा राखेर डायलासिस गर्न थालिएकाे हाे। करिब दुई घण्टा लगाएर डायलासिस गरिने प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकले बताए।

हिजो (बुधबार) एक घण्टा डायलासिस गरिएको थियो। आज दुई घण्टा गर्न लागिएको हो। भोली (शुक्रबार) पुनः ३ घण्टाको डायलसीस गरेपछि मात्रै पहिलो चरणको डायलासिस पूरा हुने चिकित्सकले जनाएका छन्।

प्रधानमन्त्री सचिवालय र उनका निजि चिकित्सकले भने प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस गरिएको विषयमा अझै जानकारी दिएका छैनन्। त्यसलाई गोप्य नै राखेका छन्।

प्रधानमन्त्रीको रगतमा देखिएको संक्रमणको कल्चर रिपोर्ट भने शुक्रबार राति मात्रै आउने भएको छ। शुक्रबार डायलासिस गरेपछि प्रधानमन्त्रीलाई डिस्चार्ज गरेर बालुबाटारमै चिकित्सक र नर्ससहितको केयर दिने तयारी पनि गरिएको छ।

प्रधानमन्त्रीको मिगौलाको अब नियमित डायलासिस गर्नुपर्ने हो की होईन चिकित्सकहरूले खुलाएका छैनन् । यद्यपी मेडिकल विज्ञानका अनुसार, डायलासिसमा गैसकेपछि कि नियमिति डायलासिस गर्ने नभए मिर्गौला प्रत्यारोपणमा जानु पर्ने चिकित्सकहरु बताउँछन्।

मंगलबारदेखि पिसाव हुन नसकेपछि बुधबार बिहान ९ बजे प्रधानमन्त्री ओलीलाई ग्रान्डी ईन्टरनेसनल अस्पतालमा भर्ना गरिएको थियो। एक्कासी तौल बढेको, पिसाव नभएको र स्वास फेर्न अप्ठ्यारो महसुश भएपछि अस्पताल भर्ना गरिएको थियो।

प्रधानमन्त्री ओलीको १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। समस्या देखिएपछि साउन र भदौमा सिंगापुरमा उपचार गरिएको थियो। उनको सिंगापुरमा प्लामाफेरेसिस गरिएको थियो।

सिंगापुरमा प्लामाफेरेसिस गरेको दुई महिनामै फेरि समस्या देखिएको हो।

 Published Date: Thursday, 31st October 12:55:56 PM