सोमबार, मंसिर २३, २०७६

प्रधानमन्त्री ओलीको हिजो र आज लगातार मिर्गौलाको डायलासिस

काठमाडौं, मंसिर १५ : प्रधानमन्त्री केपी शर्मा ओलीको हिजो (शनिबार) र आज (आइतबार) लगातार मिर्गौलाको डायलासिस गरिएको छ। हिजो र आज साँझ प्रधानमन्त्रीको छातीमा पानी जमेर श्वासप्रश्वासमा समस्या आएपछि डायलासिस गरिएको हो। 

प्रधानमन्त्रीको उपचारमा सहभागी एक चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको आइतबार गरिएको डायलासिस केहीबेर अघि मात्रै सकिएको छ। आज उनको डायलासिस साँझ ५ बजेबाट सुरु गरिएको थियो। लगातार दुई पटक डायलासिस गरेका कारण प्रधानमन्त्री कमजोर भएकाले थप भिटामिनका औषधिहरु पनि चलाइएको छ।

एपेन्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्रीको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमै डायलासिस गरिएको हो। प्रधानमन्त्री ‌ओलीको रगतमा प्लेट्लेट्सको मात्रा पनि कम भएको ति चिकित्सकले बताए। 

यसअघि प्रधानमन्त्री ओलीले ग्राण्डी अस्पतालमा चार पटक मिर्गौलाको डायलासिस गराएका थिए। सेन्टरमै पनि यसअघि दुई पटक र हिजो तथा आजसहित चार पटक डायलासिस गरिएको छ। 

सेन्टरमा भर्ना भएदेखि प्रधानमन्त्री ओलीको कुनै फोटो वा भिडियो भने सार्वजनिक गरिएको छैन। प्रधानमन्त्री ओलीलाई राखिएको सेन्टरको आइसियुमा सुरक्षामा कडाई गरिएकाे छ। सेन्टरकै एउटा रुमलाई प्रधानमन्त्री मात्रै बस्नेगरी आइसियु बनाइएको छ।

 Published Date: Sunday, 1st December 21:27:30 PM