बुधबार, कात्तिक २७, २०७६

दक्षिण एसियाको पहिलो अन्तरदेशीय पाइपलाइन निर्माण हुनु दुई देशको सौभाग्य : मोदी

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। | तस्वीर:फाइल फोटो

काठमाडौं, भदौ २४ : अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

पाइपलाइनको उद्घाटन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको पहलमा दक्षिण एसियाको पहिलो अन्तरदेशीय पाइप लाइन निर्माण भएकोमा नेपाललाई बधाई दिएका छन्। ‘हामी दुवै देशको सौभाग्य हो, पहिलो अन्तरदेशीय पाइपलाइन दक्षिण एसियामा निर्माण गरेका छौ,’ प्रधानमन्त्री मोदीले भने। उनले पाइपलाइन दुई देशको संयुक्त पहलमा निर्माण भएकाले अन्य क्षेत्रमा पनि विस्तार गर्न आग्रह समेत गरेका छन्।

परियोजनाबाट नेपालको वार्षिक अर्बौ ढुवानी खर्च जोगिनेमा मोदीको भनाइ थियो। उनले भारत नेपालसँगको साझेदारीमा अन्य आयोजना अघि बढाउन चाहेको समेत बताएका छन्। ‘हामी नयाँनयाँ परियोजनामा संयुक्त लगानी गर्न चाहान्छौ, सहकार्य गर्न चाहान्छौ,’ मोदीले भने।

उनले विरगञ्जको आईसीपी, पशुपतिको धर्मशालाको कुरा कोट्याउँदै अन्य परियोजना पनि संयुक्त रुपमा अगाडि बढाउन चाहेको बताएका छन्। नेपाल र भारतको दौत्य सम्बन्ध परापूर्वकालदेखि रहेको बताउँदै प्रधानमन्त्री मोदीले नेपालसँग अन्य ठूला परियोजनामा संयुक्त रुपमा काम गर्ने घोषणा समेत गरेका छन्।

उद्घाटनको पूर्वसन्ध्यामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलेले पाइपलाइन विस्तारमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोगको प्रशंसा गरेका छन्। ‘भारतको सहयोगले पाइपलाइन अमलेखगन्ज आइपुगेको र अन्य स्थानमा समेत अव विस्तार हुने छ,’ प्रधानमन्त्री ओलीले भने।

बहुप्रतिक्षित  परियोजना दुई देशको पहलमा सम्पन्न भएकोमा भारत सरकारलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिएका छन्। भारतको मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाईन बिछ्याइएको छ। उद्घाटनसँगै अब भारतबाट पाईपमा पेट्रोलियम पदार्थ नेपाल आउने छ।