आईतबार, असोज ५, २०७६

विप्लवलाई छाडेका पदम राईको प्रश्न- बम र बन्दुक पड्काएर पुग्ने ठाउँ कहाँ हो?

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छोडेर केही दिनअघि सत्तासीन दल नेकपामा प्रवेश गरेका पदम राई। | तस्वीर:रिवाज राई

०६३ सालमा अन्तरिम संसद्मा माओवादी पनि आएपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भौतिक योजना तथा निर्माण राज्यमन्त्री हुन्– पदम राई। ०६४ सालको चुनावमा भोजपुरबाट निर्वाचित संविधानसभा सदस्य उनी पछिल्लो समय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको भूमिगत नेकपाका पोलिट्व्युरो सदस्य थियो। 

भूमिगत नेकपा त्यागेर सत्तारुढ नेकपा प्रवेश गरेको एक सातापछि भेट्दा उनी निकै भावुक देखिए। पार्टीभित्र बन्दूक र बारुदको दबदबा बढ्न थालेपछि लगातार वार्ताको कुरा उठाए– उनले। राजधानी बसेका कारण आफ्नै पार्टीबाट सिआईडीसम्मको आरोप पनि खेपे। कम्युनिष्ट पार्टीका लागि जीवनको ३४ खर्च गरेको बताउने ५३ वर्षीय राईले भावुक हुँदै भने, ‘यदि मलाई विप्लवका मान्छेले मारे भने मरिदिउँला, यो पनि एउटा इतिहास बन्छ।’ 

दोस्रो संविधानसभाले संविधान लेख्दै गर्दा उनी काठमाडौंमै जग्गा भाडामा लिएर तरकारी खेती गर्दै थिए। भोजपुरको साविक बोया गाविसका स्थायी बासिन्दा हुन् उनी। कम्युनिष्टले जनताबाट चन्दा उठाएर खाने प्रवृत्तिको विरोध गर्छन्। ‘नेपालको पूर्वी समाज पूँजीवादी छ तर पश्चिम नेपालको समाज सामन्तवादी छ। त्यसैले हामी कुरा उठाउँछौँ, सुन्न पनिसक्छौँ तर विप्लवजी सुन्न सक्नुहुन्न’, उनले तीतो अनुभव सुनाए, ‘उहाँहरू आफ्नो आदेश पालना गर्नु कार्यकर्ताको कर्तव्य बुझ्नुहुन्छ।’'राजनीतिक जीवनमा जम्मा नौ पटक पक्राउ परेको बताउँदै उनले भने, ‘तीमध्ये सात पटक चाहिँ विप्लवजी नेतृत्वको नेकपामा हुँदा पक्राउ परेँ।’ राईसँग उनकै निवासमा काठमाडौंप्रेसका माधव ढुङ्गेलले लिएको अन्तर्वार्ता :

तपाईँ त तत्कालीन नेकपा माओवादी संशोधनवादी भयो, क्रान्तिबाटै आमूल परिवर्तन गर्ने भनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमा लाग्नुभएको थियो। अहिले किन मन फेरियो र फेरि सत्तारुढ नेकपामै फर्किनुभयो ?

जुन उद्देश्यले हामीले विप्लवजीको नेतृत्वमा पार्टी बनायौँ र अगाडि बढ्यौँ। पछिल्लो चरणमा त्यो उद्देश्यअनुसार चल्न छाडेपछि केही छलफल सुरु भो। पार्टी सही ढंगले लक्ष्यतिर उन्मुख हुनुभन्दा अलि दायाँबायाँ मोडिएर ‘जिक्ज्याक’ हुन थाल्यो। पार्टी छाड्नुपर्ने अवस्थामा पुगेँ म। 

कम्युनिष्ट राजनीति गरेको ३४ वर्ष भयो। पछिल्लो समयमा त कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्ति, युद्ध, संघर्ष र विद्रोह गरेर जनताको लागि केही गर्ने अपेक्षासहित पार्टी बनाएका थियौँ तर त्यो पुरानै कुराको पुनरावृत्तितिर लाग्यो। 

वर्ग शत्रुलाई सफाया गर्ने अनि जनसत्ताको विकास गर्ने भन्ने विप्लवजीको बाटो उचित लागेन ?

शत्रु भनेको को ? आफूलाई मन नपर्ने सबैलाई शत्रु भनेर हुँदैन। मन पर्ने जति मित्र, साथी र सहयोद्धा अनि मन नपर्नेबित्तिकै शत्रु भन्ने नेपाली राजनीतिमा जुन छ, म त्यो पक्षमा छैन। 

मानौँ, म पनि सही र असल हुँला तर म मात्र असल हैन। पार्टीमा असल अरु पनि छन्। हाम्रो पार्टीमा मात्र हैन, अरु पार्टी र समाजमा पनि असल र इमान्दार मान्छे छन् भनेर म बुझ्छु। मैले बुझ्छु– म र मेरो पार्टीमात्र राम्रो हैन। उद्देश्य जे राखेर पार्टी बनाइयो, भएन। नभएपछि के गर्ने त अब ? 

जनवादी सत्ता स्थापनाका लागि बन्दूक, बम बोकेर लड्नुपर्छ भन्ने ‘क्रान्तिकारी राजनीति’ अब उचित छैन भन्ने तपाईँको ठहर हो?

भ्रष्टाचारी, तस्करी, कालाबजारी, जनता शोषण गर्ने शोषकहरू, फटाहालाई कारवाही गर्नुपर्छ भन्ने राम्रो कुरा हो। तर, कम्युनिष्ट पार्टीमा ‘रेड टेरर’ र ‘ह्वाइट टेरर’ हुन्छ। लाल आतङ्क र श्वेत आतङ्क भन्ने चलन छ। कम्युनिष्टले चलाउने लाल आतङ्क र अर्काले चलाउने श्वेत आतङ्क हो। मेरो विचारमा लाल आतङ्क पनि आतङ्क हो।

कम्युनिष्ट वा  गैरकम्युनिष्ट, जसले मान्छे कुटे पनि दुख्छ नि त ! कम्युनिष्टले ठग्दा, लुट्दा पनि जनता लुटिन हुन्छ ? कम्युनिष्टले लुट्दा चाहिँ नलुटिने हो र ? हामीले लालआतङ्क मच्चाउने भन्थे, त्यो मैले मान्दिनँ। अरुलाई चाहिँ भ्रष्टाचार, तस्करी, कालाबजारी गर्न दिन हुँदैन भन्ने, मैले चाहिँ गर्न पाउनुपर्छ भन्न भन्ने संस्कृति त खराब हो। 

विप्लवजीसँगको सहकार्यपछि पटक–पटक पक्राउ पर्नुभो, हैन ?

कम्युनिष्ट राजनीतिमा ३४ वर्ष लाग्दा जम्मा नौ पटक पक्राउ परेँ। त्यसमध्ये विप्लवको पार्टीमा सात पटक पक्राउ परेँ। पहिला गएको माघमा (२०७४ साल) पक्राउ परेर गत असोजमा मात्र रिहा भएँ। पाँच वटा जिल्लामा घुमाइयो। सबैभन्दा पहिला तार्केश्वर नगरपालिका, नेपालटारको कार्यक्रममा म मञ्चबाट बोलिरहेकोबेला त्यहाँबाट समाते।

बालाजुमा राखे। त्यहाँ १८ दिन राखेपछि मोरङ् लग्यो। मोरङबाट भोजपुर पुर्‍यायो। त्यहाँबाट संखुवासभा पुर्‍यायो। संखुवासभाबाट दाङ पुर्‍यायो। त्यहाँबाट सबै मुद्दा खेप्दै–खेप्दै अहिले सकियो। अब संखुवासभाको मुद्दा बाँकी छ। म मौजुदा कानूनलाई पनि आत्मसात गर्नुपर्छ भन्ने मान्यता राख्छु। भलै, त्यसमा कतिपय कुरा नपुगेका पनि होलान्। 

हिजो प्रचण्डजीको नेतृत्वमा भएको माओवादी सशस्त्र द्वन्द्व हुँदा तपाईँ पार्टीको पूर्वी कमाण्डको नेतृत्वमै हुनुहुन्थ्यो। अहिले फेरि विप्लवजी त्यही पथमा हुनुहुन्छ। तपाईँलाई के लाग्छ– विप्लवजीको विद्रोहले फेरि त्यही उचाइ पाउला ? 

उचाइ प्राप्त गर्छ कि गर्दैन, जित्छ कि जित्दैन भन्नेसँग मेरो सरेकार छैन। जे उद्देश्य राखेर विप्लवको नेतृत्वमा नेकपा बनाइयो, पछिल्लो समयमा त्यो उद्देश्यअनुसार कामहरू त्यतातिर गएन। फर्सीले चुलेसीलाई हाने पनि वा चुलेसीले फर्सीलाई हाने पनि काटिने त फर्सी नै हुन्। अरुले गरेको खराब, मैले गरेको ठीक भन्ने खालको ‘कल्चर’ छ त्यहाँ। 

तपाईँको विचारमा अहिले नेपाली जनता क्रान्ति चाहन्छन् कि चाहँदैन त ?

विज्ञान प्रविधिको जमाना हो यो। अहिले मान्छे आर्थिक समृद्धि, भौतिक विकास, स्थायी शान्ति र प्रविधियुक्त जीवन जिउन चाहन्छन्। यी चार कुरा सम्बोधन हुँदैन भने समाजवाद भन्नुस् कि वैज्ञानिक समाजवाद वा जेसुकै भन्नुस्, त्यसको कुनै अर्थ हुँदैन। आर्थिक समृद्धि, भौतिक विकास, स्थायी शान्ति र प्रविधियुक्त जीवन जिउन बन्दूक बमबाडीको खासै आवश्यक हुँदैन।

अहिले जमीन बाँझो छ, मान्छे बेरोजगार छन्, बजेट फ्रिज छ। फ्रिज बजेट, बाँझो जमीन र बरोजगार युवालाई एक ठाउँमा ल्याउँदा त उत्पादन हुन्छ। आर्थिक समृद्धि हुन्छ अनि किन चाहियो बन्दूक? फेरि अहिलेसम्म कसैले बन्दूक नबोकेर, बम नपड्काएर कायर भएका कारणले जनताको सत्ता नआएको त हैन ? दशवर्षे युद्ध हामीले लडेर आएकै हो। त्योभन्दा अघि पनि भएकै थियो। त्यसो हुनाले अब त्यहाँबाट हुँदैन। जित्छ कि हार्छ भन्ने मुख्य कुरा हैन नि त ! त्यो अहिलेको समय हैन। मान्छेले अहिले युद्ध चाहेका छैनन्। 

कोही मान्छेले मलाई भ्रष्टाचारी भन्यो भने ताली पिट्ला। तर, जब रक्त मुच्छेल बनाएपछि जनताले भन्छन्– यत्ति साह्रो नगरेको भए हुन्थ्यो। मान्छे शान्ति चाहन्छन्। जति आवेगमा आएको मान्छेले पनि रगत बगेको मन पराउँदैन। अहिले नेपाली जनता रक्तमुच्छेल भएको हेर्न चाहँदैनन्। अरुलाई रुवाएर आफूले शान्तिको महसुस गर्ने शान्तिवादीको त छुट्टै कुरा होला। 

तपाईँ विप्लवजीसँग कति समयदेखि अलि टाढा हुनुहुन्थ्यो?

गएको (२०७४ साल) पुसको अन्त्यमा केन्द्रीय समितिको बैठक थियो। केन्द्रीय समितिको बैठक सक्दा नसक्दै माघे सक्रान्ति आयो। स्पटमै माघे सक्रान्ति मनाएर छुट्यौँ। १६ महिनादेखि देखेको छैन। उहाँ कस्तो भइसक्नुभो, मलाई थाहा छैन। म नेपाल कम्युनिष्ट पार्टीको पोलिटव्युरो सदस्य थिएँ। आफ्नो पार्टीको राजनीतिक व्युरोको एउटा सदस्यलाई भेट्नु पनि नपर्ने, बोलाउनु पनि नपर्ने, सोध्नु पनि नपर्ने, कहाँ छ भन्ने थाहा पनि पाउनु नपर्ने ?

तपाईँ जेलबाट छुटेपछि यही डेरामा आउनुभो?

चार वटा जिल्लाका मुद्दा सकिए, अब एउटा जिल्ला बाँकी छ। म्याद राखेर यता आएँ। म फागुन  ८ देखि निरन्तर यहीँ छु। ११ गते एनसेलमा बम कड्क्यो। त्योभन्दा अघिदेखि नै म निरन्तर यहीँ छु। एनसेलको टावर हानेपछि पार्टीलाई प्रतिबन्ध लगायो, प्रतिबन्धित पार्टीको पोलिटव्युरो सदस्य यहीँ छ। 

पार्टीमा सक्रिय चाहिँ हुनुहुन्नथ्यो? 

मलाई आर्थिक नाकाबन्दी, साङ्गठनिक नाकाबन्दी र राजनीतिक नाकाबन्दी गरेको लगभग डेढ वर्ष नै हुन आँट्यो। मैले भनेँ– क्रान्तिको कुरा त गर्नुपर्छ तर त्यो क्रान्ति जनताका लागि हुनुपर्‍यो।

अर्कोलाई तह लगाउने, रिसइबी साध्ने वा प्रतिरोध गर्ने वा बदला लिने हिसाबले मात्र हैन। जोसुकैले गरेको भए पनि नेपाली जनता र राष्ट्रलाई फाइदा हुनुपर्‍यो नि ! राणाशासनविरुद्धको आन्दोलनदेखि अहिलेसम्म आउँदा त्यस्ता युद्ध, क्रान्ति, विद्रोहहरू कति भए ? नेपाली जनता र राष्ट्रलाई फाइदाभन्दा घाटा नै लागेको छ।  
एकले अर्कोलाई हार्ने र जित्ने त हुँदै आएको छ तर जनता र राष्ट्रका लागि गुमाएकै छ। जनता र राष्ट्रले मुक्ति, समृद्धि र स्वतन्त्रता पाउनुपर्‍यो। एउटाले प्रतिबन्ध लगाउने, अर्कोले प्रतिरोध गर्ने हुँदा दुई शक्तिको मात्र कुरा भयो। जनता र राष्ट्रले पाउने बाटो कसरी हो ? त्यहाँ जाऊँ, सल्लाह गरौँ। 

विप्लवजी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको महाधिवेशनबाटै सशस्त्र संघर्षबाट जनवादी सत्ता हासिल गर्ने भन्ने कार्यनीति पारित गराएको थियो कि थिएन?  

म सानो छँदा गिरिजा मरेपछि सबै ठीक हुन्छ भनेर नारा गलाउँथे। गिरिजा छैनन् अहिले। त्यसपछि राजा वीरेन्द्र नभए सबै कुरा हुन्छ भन्थे। अहिले राजा वीरेन्द्र पनि छैनन्। ठीक भयो त ? अहिले केपी नभएपछि भन्लान्, भोलि प्रचण्ड नभएपछि भन्लान्। तर, कुनै एक जना व्यक्तिको कारण देश बिग्रेको हैन। सबैले सोच्न जरुरी छ। राजतन्त्र ढल्यो, राजतन्त्र ढाल्ने शक्ति जिउँदै छ। के भइरहेको छ ? केही भएन भन्ने हैन, हुँदैछ। 

अहिले विप्लव कामरेडले पनि सपना राम्रै देख्नुभएको होला। क्षमता पनि छ उहाँसँग। तर, यो ढङ्गले हुँदैन भन्न पनि त मैले पाउनुपर्‍यो नि ! उहाँले बन्दूकै बोक्नुपर्छ, बन्दूकै बोक्नुपर्छ, यो भन्दा विकल्प छैन पनि भन्न सक्नुपर्‍यो नि त ! हामीले आठौं महाधिवेशनमा पारित गरेको दस्तावेजमा वार्ताको कुरै नगर्ने, पार्टी बम–बन्दूक बोकेर भूमिगत हुने भनेर लेखेको थिएन। 

रोल्पामा आठौं महाधिवेशनले वार्ताको कुरै नगर्ने, बम बन्दुक बोकेर पार्टी भूमिगत हुने भनेर कहीँ लेखेको थिएन। त्यहाँ त बौद्धिक वर्ग-मध्यम वर्गको घेरा फराकिलो भएको छ। मध्यम वर्गको साथ, सहयोग र समर्थनमा जनताको सहभागितामा शहर, गाउँ र राजधानी पनि नछाडी जनताको काम गर्दै अघि बढ्ने भनेको हो नि त ! बन्दूक बोकेर भूमिगत हुने, मान्छेलाई ठोक्दै, मार्दै हिँड्ने छ भनेको थिएन। यदि त्यसो भनेको हो र मैले नबुझेको हो भने अब मलाई बुझाए पनि म त्यहाँ हुन्न। 

‘चन्दको चन्दा आतङ्क’ भनेर प्रचार गरिन्छ। तपाईँले त्यहाँ हुँदा क्रान्तिका लागि भनेर कत्तिको चन्दा उठाउनुभो ?

मैले उठाइन, म हावा खाएर बाँचेँ भन्न सक्दिनँ। तर, ०६३ को आन्दोलनपछि अन्तरिम विधायक हुँदै काठमाडौं प्रवेश गर्‍यो, पदम राई। अहिले ०७६ साल भयो। यो मलाईभन्दा पूर्वतिरका उद्योगपति व्यापारीलाई सोध्दा हुन्छ– पदम राईले पार्टीका नाममा कति चन्दा उठायो भनेर। 

जनता र राष्ट्रको कुरा गर्ने, अनि चन्दा उठाएर मनपरी गर्ने हैन। पदम राई अर्काको जमीन भाडामा लिएर तरकारी खेती गर्ने, छोराछोरी पाल्ने पढाउने, घरको भाडा र पसलको उधारो तिर्ने यही पूर्वविधायक हो। मेरो दिमाग मेरो नियन्त्रणमा हुँदासम्म म गिट्टी कुट्छु, बालुवा चाल्छु तर जनतालाई ठग्दिनँ। 

पार्टीभित्र पदम राई जत्तिकै इमान्दार मान्छे कत्तिको छन्?

म इमान्दार, अरु बेइमान भन्न सक्दिनँ। त्यो दुनियाँले समीक्षा गर्ने विषय हो। मैले पार्टीमा असहमति राख्ने कुरा चन्दा पनि हो। प्रकाण्ड कामरेडले मलाई आर्थिक हिनामिना गरेको भनेर कारवाही गरेको भन्ने सुनेको छु। त्यो सुन्ने मान्छेले के भन्लान् भन्ने पनि छैन। मन नपरेपछि आरोप लाइदिने क्या ! 

कम्युनिष्ट पार्टीले उठाएको चन्दाको सदुपयोग नै भएको होला त?

चन्दाको विषयमा सबै कम्युनिष्ट पार्टीले बुझ्न जरुरी छ। २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भयो– वैज्ञानिक वस्तुवादी सिद्धान्त माक्र्सवाद बोकेर। साम्यवादको सपना देख्दै। वैशाख १० गते ७० वर्ष पूरा भयो। ७० वर्षसम्म वैज्ञानिक वस्तुवादी सिद्धान्त बोकेको पार्टीले के गर्‍यो ? यसको मतलब गर्दै गरेन भन्ने हैन। केही गर्नुपर्छ भन्ने छ। गर्ने आश छ। तर, ७० वर्षसम्म कति खर्ब रुपैयाँ चन्दा उठ्यो ? चन्दा मात्र उठाउने, नेपाल बन्द मात्र गर्ने, गाडी मात्र पोल्ने, गाडी मात्र फुटाउने, मान्छे मात्र कुट्ने, बम मात्र पड्काउने, चन्दाको पैसाले बम मात्र किन्ने, बन्दुक मात्र किन्ने अनि सिर्जनात्मक काम गरेको खोई ? कसले दिएन ? यो समीक्षा गर्नुपर्छ। 

कम्युनिष्ट पार्टीले ‘ग्रासरुट’ मा कस्तो काम गर्नुपर्थ्यो?

७०–७० वर्षसम्म वैज्ञानिक वस्तुवादी सिद्धान्त बोकेको पार्टीका यत्रा हजारौँ कार्यकर्ता छन्। ती पार्टीले बन्दूक र बम मात्र पड्काउने हैन। कम्युनिष्ट पार्टीका नाममा एक जनालाई रोजगारी दिन सकेको छ ? सरकारमा गएर आसेपासे केहीले गर्न पाएको होला। पार्टीले पहल गरेर कुनै उत्पादनको क्षेत्रमा काम गर्न दिएको छैन। म ठीक, मेरो पार्टी राम्रो छ भन्दै हिँडेर कहिल्यै सफल हुन सक्दैन। 

पार्टी छाडेर यता आएपछि विप्लवजीहरूबाट चाहिँ ‘थ्रेट’ छ कि छैन?

मलाई त्यस्तो लाग्दैन। विप्लव कमरेड एउटा सपना देख्ने मान्छे हो। एउटा उद्देश्य राख्ने मान्छे हो। विप्लवजीका कार्यकर्ताको क्रियाकलाप हेर्दा गलत दिशातिर गइराखेको जस्तो लाग्छ। मलाई केही गरिहाल्लान् कि भन्ने लाग्दैन। गर्नुभो भने के होला त भन्दा म मरिदिउँला। इतिहासमा एउटा रेकर्ड होला नि त? आफूले गरेको कामबाट आफैँ खुशी र सुखी हुन सक्दैन भने पदम राईले किन गर्ने ? केको लागि गरेको भन्ने पनि थाहा नहुने अनि आफैँ दुःखी हुँदै किन गर्ने ? म हिजो पार्टीमा बस्दा पनि दुःखी नै भएँ। मैले पार्टी बनाउन विप्लव र प्रकाण्ड कमरेडलाई सहयोग गरेको थिएँ। पोलिटव्युरो सदस्य पदम राईको बुझाइ गलत भन्न सक्नुपर्‍यो उहाँहरूले। 

अब प्रचण्डजीसँग टीका लगाएर पसेपछि अब नेकपाको तपाईँ  के हो?

पदम राई कुनै पदमा बार्गेनिङ गर्ने मान्छे हैन। अहिले नेकपामा दुई जना अध्यक्ष हुनुहुन्छ। एक जना प्रधानमन्त्री हुनुहुन्छ। उहाँसँग त हाम्रो केही पनि भलाकुसारी भएको छैन। भावना साटासाट पनि भएको छैन। प्रचण्डजीले राम्रै बुझ्नु हुन्छ। अब मेरै पार्टी भइसकेपछि मलाई यो गर भनेर डिस्टर्ब त गरिराख्नुभएन नि ! 

बच्चा जन्माएपछि चेतनाको अभावमा केही महिला बच्चा रोएपछि मात्र दूध खुवाउँछन्, भोक लागेछ भनेर। सचेत महिलाले चाहिँ समय हेरेर बच्चा नरोई भोक लाग्यो होला भनेर खुवाइहाल्छन्। प्रचण्ड कमरेड टाइमटेबलले खुवाउने महिलाजस्तो हो भन्ने विश्वास छ। विप्लव या अरु कतिपय कमरेडहरूले चाहिँ मैले दुःख पाओस् भन्ने चाहन्छन्– पार्टी छाडेर संसदीय राजनीतिमा जानेको यस्तै खराब अवस्था हुन्छ भनेर देखाउन।

छाड्नुअघि नै तपाईँलाई सीआईडी भनेर शङ्का गर्न थालिसकिएको थियो, पार्टीबाट?

पार्टीलाई सरकारले प्रतिबन्ध लगायो, म चाहिँ यहीँ छु। पार्टीका नेता कार्यकर्ताले के बुझ्दैनन् भने हामीलाई प्रतिबन्ध लगाउने शक्तिलाई पनि ब्यालेन्स मिलाएर काठमाडौंमा बस्न सकेको छ भनेर बुट्टदैनन्। काठमाडौंमा खुलै बस्नसक्ने क्षमता, कला भनेर बुझ्दैन। उसकै मान्छे भनेर सिआईडी भन्छ क्या ! कति गलत हो। 

पछिल्लो चरणमा त्यस्तै देखियो। पछिल्लो चरणमा विशेष गरी मैले वार्ताको कुरा उठाएँ। प्रतिबन्ध लगाउने र प्रतिबन्धित हुने शक्तिबीचको द्वन्द्व भयो भने नेपालीलाई क्षति पुग्छ। राज्यले विप्लवलाई तहसनहस पारेर सक्ला वा विप्लवले प्रतिरोध गरेर राज्यलाई तहसनहस पार्ला तर जनता र राष्ट्रलाई घाटै लाग्छ। त्यो चिन्ताले वार्तामै जानुपर्छ भन्ने मेरो मत थियो। राज्य पनि जनताकै हो। राज्यले पनि र विप्लवले पनि केही गर्न खोजेको हो भने एक ठाउँमा किन नआउने त ? दुइटैले देश र जनताका लागि भन्ने अनि एकले अर्कोलाई निषेध गर्न त भएन।
 

 Published Date: Monday, 10th June 17:58:28 PM