सोमबार, असोज २७, २०७६

तराईका मात्रै होइन, पहाडका सर्प पनि विषालु

अहिले गर्मीसँगै वर्षातको समय हो। तराईमा सर्पको टोकाइबाट धेरैको मृत्यु हुने गरेको छ। कतिपयले समयमै उपचार नपाएर ज्यान गुमाउनु परेको छ। हामी कतिपयलाई तराईमा सर्प विषालु हुने तर पहाडका सर्पको विष नलाग्ने भन्ने भ्रम छ। पहाडका सर्प विषालु हुँदैनन् भन्ने कुरा एकदमै गलत हो।

नेपालमा करिब ८० प्रजातीका सर्प पाइन्छन्। जसमध्ये १७ प्रजातिका सर्प विषालु छन्। अगाडि दाँत भएका र मानिसको शरीरमा विष फाल्न सक्ने भएकाले विषालु सर्प भनिन्छ। सर्प सम्वन्धि अझै खोज र अनुसन्धान बाँकी नै छ। नेपालमा पनि ८० भन्दा प्रजातीका सर्प पनि हुन सक्छन्। 

जसरी हामी मानिसहरु विभिन्न क्षेत्रमा बसोबास गर्नेहरु फरक-फरक हुन्छौं। त्यसैगरी सर्पहरु पनि आफ्नो बासस्थान अनुसार फरक हुन्छन्। 

तराईमा पाइने मुख्य सर्प भनेको गोमन र करेत प्रजातिका हुन्। गोमनमा पनि फरक–फरक प्रजाति हुन्छन्। हामी कालो गोमन, सेतो गोमन, चस्मावाला, आँखावाला भन्छौं। करेतका पनि त्यस्तै ६ वटा प्रजाति छन्। 

यी मध्ये एउटा प्रजाति हिमालयन करेत जुन उच्च हिमाली क्षेत्रमा पाइन्छ। त्यो निकै विषालु हुन्छ। जसले डस्यो भने समयमै उपचार नपाए ज्यान पनि जान सक्छ। तर, हिमालयन करेतले हत्तपत्त डस्दैन। 

पहाडका सर्प विषालु हुँदैनन् भन्ने कुरामा म सहमत छैन। पहाडमा पाइने हरियो सर्पले पहिले पहिले डसेर रगत बगेको भन्ने कुरा थाहा हुँदैन थियो। तर, अहिले हामीले पहाडको हरियो सर्पले टोकेर पनि रगत पातलो हुने, रगत घट्ने, विभिन्न अंगहरुबाट रगत बग्ने र मर्गौला समेत बिग्रन सक्ने अवस्था देखिएको छ। 

अर्को पहाडमै पाइने बागे सर्पले डसेमा पनि त्यही असर पर्छ। जस्तो हरियो सर्पले डसेमा पर्छ। अहिले हरियो सर्पले डसेमा पनि विष लाग्ने भएकाले पहाडका सर्प विषालु हुँदैनन् भनेर ढुक्क भएर बस्न सकिने अवस्था छैन। र, त्यो मान्यतालाई गलत सावित गरिसकेको छ। 

सर्पले डसेको ठाउँमा विष लागेको छ भने त्यो ठाउँ सुनिन्छ। त्यसमा पानी फोकाहरु निस्कन्छन्। त्यो ठाउँ कुहिन सक्छ। विष रगतमा गएर शरीरमा फैलने र स्नायुतन्त्र वा रक्तसञ्चारमै असर गर्न सक्छ। 

रगत पातलो भएर रगत बग्ने, शरीरमा रगत कम हुने, धेरै रगत बगेर रक्तचाप कम भएर मृगौलालाई असर गर्ने जस्ता असर पनि हरियो सर्पले टोक्दा देखिन थालेको छ। 

८० प्रतिशत बिरामी अस्पतालमै पुग्दैनन्

नेपालमा सर्पले टोकेको ८० प्रतिशत बिरामी अस्पताल नै पुग्दैनन्।  डसेको ठाउँमै मर्छन् या त बाटोमै ल्याउँदा ल्याउँदै उनीहरुको ज्यान जान्छ। त्यसैले नेपालमा सर्पको टोकाइबाट कति जनाको ज्यान जान्छ? कतिलाई टोक्छ? भन्ने एकिन तथ्यांक छैन। 

भारतमा भएको एउटा अध्ययनले त्यहाँ वार्षिक ५० हजारभन्दा बढीकोे मृत्यु सर्पले डसेर हुने गरेको देखाएको छ। 

उनीहरुको तथ्यांक अनुसार ९७ प्रतिशत बिरामीको अस्पताल नपुर्‍याएर वा बाटोमै मृत्यु भएको देखिएको छ। जस्तै, गोमनले डसेर विष लाग्यो भने आधा घण्टादेखि विषले काम गर्न थाल्छ। र, विस्तारै शरीरमा फैलिन्छ। 

पछि स्नायुतन्त्र बिग्रेर स्वासप्रस्वास रोकेर मानिसको मृत्यु हुन्छ। त्यो बिरामीलाई बढीमा आधा घण्टाभित्रै अस्पताल पुर्‍याएर विष प्रतिरोधक औषधी दिनसक्यो भने मात्रै बचाउन सकिन्छ। तर, उक्त समयभित्र अस्पताल पुर्‍याउन नसक्दा विष शरीरमा फैलिएर बिरामीको मृत्यु हुने गरेको छ। तसर्थ, सर्पको टोकाइबाट बच्न सबैभन्दा पहिला गर्ने काम भनेकै जतिसक्दो छिटो अस्पताल पुर्‍याउने नै हो। 

भिडियाे

के सर्पको सबै टोकाइमा विष हुन्छ?

९० प्रतिशत विषालु सर्पले टोकेकै हुँदैनन्। सर्पले डस्दैमा यो विषालु सर्प हो भन्ने हुँदैन। अर्को कुरा, विषालु सर्पले टोकिहाल्यो भने सधै विष हाल्न भ्याउँदैन। आत्मरक्षा र आक्रमणका लागि सर्पले टोक्ने गर्दछ। त्यसैले पहिलो कुरा त बिरामीलाई सान्तोना दिनुपर्छ। केही हुँदैन, आत्तिनु पर्दैन भनेर त्यसपछि अस्पतालमै लग्नुपर्छ। करेतले टोकेपनि उसले विष फाल्न नभ्याएको पनि हुनसक्छ। त्यसैले आत्तिहाल्नु हुँदैन।  

सर्पले टोक्यो भने के गर्न हुँदैन?

टोकेको ठाउँमा बाध्ने, खुर्सानी दल्ने, काट्ने, चुस्ने, कुखुराको सुली दल्ने जस्ता कार्य कहिल्यै गर्नु हुँदैन। किनकि यसरी सर्पको विष झार्न सकिँदैन।

यसका लागि घरेलु उपाय केही छैन। घरमा राखेर विष झार्न सकिँदैन। बरु नहल्लिएर बस्यो भने विष सर्न पाउँदैन भनिन्छ। तर, किसानलाई हलो जोत्दाजोत्दै टोकेको हुन्छ यस्तो बेलामा बाहिर आउनै पर्छ।  

कसरी अपनाउने सावधानी? 

सर्पको टोकाइबाट तराईमा बढीले ज्यान गुमाउने गरेका छन्। गोमन सर्प राति आहारका लागि मानिसका घरभित्र छिर्छ। तराईतिर गर्मीले गर्दा मानिसहरु भुइँमा सुत्छन्।

कतिपयको खाट हुँदैन। गर्मीमा भुइँमा सुते शितल हुन्छ भन्दै भुइँमा सुत्ने चलन छ। सर्प राति मुसा, छुचुन्द्रा खोज्दै हिँड्छ। कहिलेकाहीँ घरभित्रै आउँछ। हामी निदाएका बेला हात खुट्टा चलाउँदा सर्पलाई चोट लाग्यो भने उसले टोक्ने हो।  सर्पले आफै कहिल्यै पनि टोक्दैन। उसलाई आक्रमण भएको उसले ठान्यो भने मात्रै टोक्ने हो। 

हामीले सन् २००४ मा गरेको एक अध्ययनले विष प्रतिरोधक एन्टीभेनम औषधि दिने सुविधा नभएको क्षेत्रमा धामीझाँक्री कहाँ गएर निधन हुनेको संख्या ठूलो देखियो। सर्पले टोकेकाहरुलाई समयमै अस्पताल पुर्‍याउँदा मृत्युको दर कम हुन्छ। तर, अस्पताल नभएको क्षेत्र वा अन्य विधि प्रयोग गर्दा मृत्यु हुने गरेको छ। 

हामीले त एउटा अभियान नै चलाएका छौँ। ‘सर्पले डस्दा स्वयं सेवक समाऔँ, अस्पताल गई ज्यान जोगाऔं’ । मोटरसाइकलमा ल्याउँदा छिटो पुगिन्छ र ज्यान जोगिन्छ भन्ने सन्देश पनि हामीले दिएका छौं। नेपाल सरकारले उदाहरणीय काम के गरेको छ भने सर्पले डसेमा एन्टीभेनम (सर्पको विष झार्ने औषधि) लाई निशुल्क वितरण गरेको छ। यो औषधि निकै महङ्गो पनि छ। यसले पनि धेरैको ज्यान बचाएको छ। एउटा औषधि जसले गर्दा शरीरमा भएको विषलाई झार्छ। अर्को, स्वासप्रस्वास रोकियो भने कृतिम  स्वासप्रश्वास दिनुपर्छ। तेस्रो भनेको डसेको ठाउँमा घाउ भए यसको उपचार गर्नुपर्छ। 

कसरी अस्पतालसम्म पुर्‍याउने भन्ने ध्यान केन्द्रीत गर्नुपर्छ। हाम्रो देशमा जहाँ गोमन करेत धेरै छन्। त्यहाँ कुनैपनि बहानामा सर्पले टोकेको बिरामीलाई अस्पताल पुर्‍याउन ढिलाइ गर्नु हुँदैन। मुख्य प्राथमिक उपचार भनेको मोटरसाइकलमा राखेर जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनु हो।

घर आँगन सरसफाइ गर्ने, कतै प्वाँल छ भने त्यत्तिकै हात नहाल्ने। राति हिड्दा लाइट लिएर मात्रै हिड्ने। सर्पसँग हामीभन्दा पनि हामीसँग सर्प बढी डराउँछ।  तराईमा सुत्दा झुल अनिवार्य टाँगेर सुत्नु पर्छ। झुलभत्रि सुत्दा करेतले टोक्ने सम्भावना निकै कम हुन्छ। ढोका लगाउँदा, जुत्ता लगाउँदा ख्याल गर्ने। पराल तान्दा, खेतबारी जाँदा, ढुंगा पल्टाउँदा पनि ख्याल गर्नुपर्छ।

(विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ चिकित्सक एवं सर्प विशेषज्ञ शर्मासँग इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित)
 

 Published Date: Saturday, 6th July 10:25:19 AM