शुक्रबार, कात्तिक १, २०७६

भाषा-भोक पैदा गर्ने ह्रस्व दीर्घ गीतको रचना-कथा

काठमाडौं, असोज ४ : यसै साता एक दिन काठमाडौंको शंखमूलस्थित अवेरनेस इन्टरनेशनल एकेडेमी पुग्दा विद्यार्थीहरू सूर मिलाएर गीत गाउँदै थिए –

साधारण नियम यो सुरुको र बीचको
ह्रस्व हुन्छ, अन्तिमको दीर्घ बरी लै

त्यो दिन त्यहाँ कुनै औपचारिक कार्यक्रम भइरहेको थिएन। नियमित कक्षामै विद्यार्थीहरू ह्रस्व दीर्घका सामान्य नियम बुझाउने गीत गाउँदै थिए–

हात्ती, स्वामी, खसी, सम्धी चारवटा अपवाद
पुलिङ्गी नाम आए ह्रस्व घुमाऊ हात 

नेपालमै जन्मे–हुर्केका, नेपाली नै मातृभाषा भएका र नेपाली माध्यमबाटै शिक्षा ग्रहण गरेका नेपालीहरूका लागि पनि ह्रस्व दीर्घ सधैं एक दुरुह विषय रहँदै आएको छ।

उनीहरू अङ्ग्रेजी लेख्दा सकेसम्म हिज्जे र व्याकरण मिलाउने प्रयास गर्छन्। बोल्दा वा लेख्दा अङ्ग्रेजी व्याकरण नमिले लज्जित महशुस गर्छन्। तर, नेपाली व्याकरणप्रति खासै ध्यान दिँदैनन्। सामाजिक सञ्जाल, अनलाइन–पत्रिका र पुस्तकमा भाषागत त्रुटि गर्दा पनि लाज मान्दैनन्।

अङ्ग्रेजी माध्यमबाट पढाइ हुने निजी स्कूल पढ्ने विद्यार्थीहरू त सगर्व आफूलाई नेपाली नआउने घोषणा गर्छन्। मानौं, नेपाली भाषा नजान्नु पनि एक स्ट्याटस् सिम्बल हो।

तर, निजी स्तरमा सञ्चालित र अङ्ग्रेजी माध्यमबाटै पढाइ हुने अवेरनेस इन्टरनेशनल एकेडेमीले भने शुद्धाशुद्धीका सामान्य नियम सम्बन्धी गीत रचेर आफ्ना विद्यार्थीहरूलाई मात्र होइन, सारा नेपालीभाषीलाई ह्रस्व दीर्घबारे ‘अवेर’ गराएको छ।

‘यो गीतको पहिलो पंक्तिले भन्छ – सुरुको  इकार उकार ह्रस्व हुन्छ, अन्तिमको चाहिँ दीर्घ। यति एउटा साधारण नियममात्रै जान्नुभयो भने पनि तपाईं ८० प्रतिशतसम्म ह्रस्व दीर्घ  शुद्ध लेख्न सक्नुहुन्छ।’

गत साल तीजको अवसरमा सार्वजनिक गरिएको र तीजकै भाकामा गाइएको यो गीत म्यूजिक नेपालको यूट्युब च्यानलमा मात्रै झण्डै २५ लाखपटक हेरिएको छ। सामाजिक सञ्जालहरूको पनि भ्यूज जोड्दा त कति हो कति।

यस गीतका प्रमुख रचनाकार हुन्, अवेरनेस एकेडेमीकै नेपाली भाषा शिक्षक विमल घिमिरे। झण्डै दुई दशकदेखि नेपाली भाषा पढाउँदै आएका विमल सर भन्छन्, ‘यो गीतको पहिलो पंक्तिले भन्छ – सुरुको ह्रस्व हुन्छ, अन्तिमको चाहिँ दीर्घ हुन्छ। यति एउटा साधारण नियममात्रै जान्नुभयो भने पनि तपाईं ८० प्रतिशतसम्म शुद्ध ह्रस्व दीर्घ लेख्न सक्नुहुन्छ।’

तर, ह्रस्व दीर्घका नियममा अपवादहरू हुन्छन्। एउटा उदाहरण हेरौँ – पुलिङ्गी शब्दको अन्तिम इकार–उकार ह्रस्व हुन्छ । जस्तै – भाइ, दाइ, दाजु आदि। तर, त्यसका अपवादहरू पनि छन्। जस्तै – स्वामी, खसी, सम्धी। घिमिरेले यस्ता अपवादहरूलाई पनि सरल रुपमा प्रष्ट्याएका छन्।

गीतको दोस्रो हरफमा पनि यस्तै नियम र अपवादहरू प्रष्ट पारिएका छन्। हेरौँ यो हरफ –

अन्तिममा ‘इक’ आए सबै ह्रस्व लेखिदेऊ
‘निर्भीक’, ‘प्रतीक’ अलग्गै हुन् यिनलाई छाडिदेऊ

धेरैले जटिल मान्ने ह्रस्व दीर्घका नियमलाई सरल रुपमा बुझाउने गीत रचना गर्ने अवेरनेस एकेडेमी अहिले त ह्रस्व दीर्घ स्कूलको रुपमा पनि चिनिन्छ। यूट्युबमा यो गीत हेरेर, सुनेर १५ सयभन्दा बढीले प्रतिक्रिया लेखिसकेका छन्।

विमल सरका एक पूर्व विद्यार्थीले यस्तो लेखेका छन् – आजभन्दा १७–१८ वर्षअघि ५–६ कक्षामा विमल सरले पढाउनु भएको झलझली सम्झना आयो। साह्रै खुशी लाग्यो, त्यही कुरा अहिले यो भिडियोमा देखेर। सर हजुरलाई हार्दिक नमन!

विमल सरसँग नपढेका तर यो गीत हेरेका एक पूर्व विद्यार्थीको प्रतिक्रिया यस्तो छ– काठमाडौंमा यसरी पढाउँदा रैछन् व्याकरण। गाउँमा हाम्रो मास्टरले बर्खामासको गोरु चुटेजसरी कटबाँसको लौरीले चुट्दै घोकाउँथे।

ह्रस्व दीर्घबारे गीत लेख्ने सोच चाहिँ कहाँबाट आयो? के हो यसको रचनागर्भ?

धेरै कालजयी कविता वा लोकप्रिय गीत–कथाहरू कुनै निश्चित घटना–परिस्थितिमा रचिएका हुन्छन्। कवि–रचनाकारहरू सधैं यस्तो यूरेका मोमेन्टको खोजीमा हुन्छन्।

तर, यो ह्रस्व दीर्घ गीत कुनै एक निश्चित यूरेका मोमेन्टमा रचिएको थिएन। यो त विभिन्न सामान्य घटना, भोगाइ र सोचाइको उपज थियो। विमल सरको अनुभवमा विद्यार्थीहरू कथा–कविता पढ्दा उत्साहित हुन्छन्, तर व्याकरण पढ्दा चाहिँ हाई काढ्छन्।

विमल सर भन्छन्, ‘जब विद्यार्थीले पढाइलाई बोझ ठान्छन्, तब सिक्नै सक्दैनन्। त्यसैले, ह्रस्व दीर्घका नियमलाई मिठो गीतको रुपमा प्रस्तुत गर्ने प्रयास गरेको हुँ।’

नेपाली भाषाका इकार–उकार ह्रस्व र दीर्घ हुनुका खास कारणहरू छन्। जुन इकार–उकार ह्रस्व हुन्छ, त्यसलाई दीर्घ लेख्न सकिँदैन। ह्रस्वलाई दीर्घ लेख्यो भने अर्थै अर्को हुन्छ। जस्तै – फूलको अर्थ पुष्प हुन्छ, तर फुलको अर्थ अण्डा हुन्छ।

नेपाली भाषामा अनेकार्थी शब्दहरू छन्। श्रुतिसमभिन्नार्थक शब्दहरू छन्। यिनको प्रयोगमा विशेष ध्यान नदिइए लेख्न खोजेको भन्दा भिन्नै अर्थ लाग्छ। तर, अधिकांश नेपाली भाषीहरू यसमा ध्यान दिँदैनन्। होर्डिङ बोर्डमा बग्रेल्ती गल्तीहरू देखिन्छन्।

पत्रपत्रिकामा पनि प्रशस्तै गल्तीहरू भेटिन्छन्। पछिल्लो समय अनलाइन पत्रकारिताको प्रभाव बढ्दो छ, तर अनलाइनमा त झन् भाषागत त्रुटिहरू कति हुन्छन् कति!

यस्ता त्रुटिहरू देख्दा विमल सरको मन छियाछिया हुन्थ्यो, अझै हुन्छ। उनी आफ्नो विद्यार्थीलाई मात्र होइन, अरुलाई पनि शुद्धाशुद्धी सिकाउन चाहन्थे। यसैले पनि उनी यो गीत लेख्न उत्साहित भए। भन्छन्, ‘सङ्गीत नै शिक्षणको सबैभन्दा उपयुक्त माध्यम हो, यसैले पनि यो गीत लेखेको हुँ।’

विमल सरको बुझाइमा व्याकरण नै नेपाली भाषाको प्राण हो। व्याकरणको सही प्रयोग गर्न सकियो भने भाषामा मिठास मात्रै आउँदैन, विचारको सम्प्रेषण पनि झन् सशक्त हुन्छ। तर, अहिलेका विद्यार्थीहरूको शब्द–शक्ति कमजोर छ। व्याकरणको ज्ञान पनि कहालीलाग्दो अवस्थामा छ।

कतिपय विद्यार्थीहरू ह्रस्व दीर्घ गलत भइदिन्छ भनेर सामाजिक सञ्जालमा देवनागरीको सट्टा रोमनमै नेपाली भाषा लेख्छन्, जसले उनीहरू नेपाली भाषाको सौन्दर्यबाट झन् टाढा पुग्दैछन्। उनी भन्छन्, ‘यो गीतले पूरै भाषा नसिकाउँला, तर भाषा जान्ने भोक अहिलेका नानीबाबुहरूमा पैदा गरेको छ। मेरो ध्येय पनि त्यही हो।’ 

गीतको पुरा भिडियो

 Published Date: Saturday, 21st September 14:50:32 PM