आईतबार, असोज ५, २०७६

नेपाली मूलका अमेरिकी उपमेयरको नेपाल मिशन

काठमाडौं प्रेससँग अन्तर्वार्ताको क्रममा टाउन अफ इन्डियन हेडका नेपाली–अमेरिकी उपमेयर किरण सिटौला | तस्वीर:रिवाज राई

काठमाडौं, जेठ २७ : अढाई दशकअघि अमेरिका उड्न लाग्दा किरण सिटौलालाई उनका बुवाले भनेका थिए – ‘छोरा, इञ्जिनियर बनेर आउनुपर्छ है !’

तर, छोरा इञ्जिनियर बनेको हेर्ने बुवाको सपना पूरा भएन। किनकि, नेपालमा मेधावी विद्यार्थीमै गनिए पनि उनले अमेरिकामा इञ्जिनियरिङ छिचोल्न सकेनन्।

गणितको एउटा परीक्षामा शून्य अङ्क ल्याएपछि उनले आफ्नै मूल्याङ्कन गरे – मसँग इञ्जिनियरिङ पढ्ने क्षमता छैन रहेछ!’

You Can Read This Story In English: 

Nepali-American Vice-Mayor On A Mission To Improve Local Governments In His Country Of Birth

इञ्जिनियरिङ पढ्न नसकेपछि सिटौलाले लेखा विषय रोजे। रुचिको विषय भएकाले लेखामा राम्रो नतिजा ल्याए। तर, पढाई सकिने बित्तिकै नेपाल फिर्न पाएनन्। 

हाले उनी अमेरिकाको मेरिल्यान्ड राज्यमा सरकारी कर अधिकृत छन्। जागिरबाट फुर्सद मिल्नेबित्तिकै समुदायको सेवामा सक्रिय भइहाल्छन्। 

सधैं स्वयंसेवी भावले समुदायको सेवा गर्ने भएकाले उनी हालै दोस्रो कार्यकालका लागि मेरिल्यान्ड राज्यकै हेड अफ इन्डियन टाउन नगरपालिकामा उपमेयर निर्वाचित भएका छन्। 

बुवाले चाहे झैं इञ्जिनियर बन्न नसके पनि र पढाई पूरा गर्ने बित्तिकै नेपाल फर्किन नसके पनि उनी हरदम जन्म–देशको सेवा गर्ने मौकाको खोजीमा हुन्छन्। 

पछिल्लोपटक २०७२ सालमा नेपालमा भूकम्प आउँदा उनी राहत सामग्री बोकेर जन्म–देश आएका थिए। अहिले भने अलि अर्कै योजनाका साथ नेपाल आएका छन्। 

उनको योजना छ – नेपालका मेयर, उपमेयर र वडाध्यक्षहरूको क्षमता अभिवृद्धि गर्ने, ताकि नेपाली जनताले नगरपालिका–गाउँपालिकाबाट छिटो–छरितो र प्रभावकारी सेवा पाउन सकून्।

तलबाट माथि

सन् २०१६ मा नेपालका लागि तत्कालीन अमेरिकी राजदूत एलैना टेप्लिज मेरिल्यान्ड पुगेकी थिइन्। उनले मेरिल्यान्डको नेपाली समुदायसँग पनि अन्तक्रिया गरिन्। 

त्यसबेला किरण सिटौला उपमेयर पदमा निर्वाचित भएको एक वर्षमात्रै भएको थियो। नेपालमा पनि २० वर्षपछि पहिलोपटक स्थानीय निकायको निर्वाचन हुन लागेको थियो।

सिटौलाले टेप्लिजलाई भनिन् – मसँग अमेरिकाको स्थानीय निकायमा काम गरेको अनुभव छ र म आफ्नो अनुभव आफू जन्मेको देशका स्थानीय जनप्रतिनिधिहरूसँग बाँड्न चाहन्छु।

टेप्लिजले सिटौलालाई एउटा लिखित प्रस्ताव पठाउन आग्रह गरिन्। सिटौलाले केही दिनमै प्रस्ताव तयार गरी पठाए। अमेरिकाको विदेश मन्त्रालय र काठमाडौंस्थित अमेरिकी दूतावासलाई उनको प्रस्ताव राम्रो लाग्यो। र, उनलाई आर्थिक सहयोग गर्न अमेरिकी सरकार तयार भयो।

तर, व्यक्तिगत रुपमा आर्थिक सहयोग स्वीकार्ने आफू अनिच्छुक रहेको भन्दै उनले यो काम मेरिल्यान्ड यूनिभर्सिटीमार्फत् गर्ने प्रस्ताव पनि राखे। र, नेपालमा स्थानीय चुनाव भएपछि उनी नेपाल आए।

सिटौलासँगै यूनिभर्सिटी अफ मेरिल्यान्डकी आयशा वाशिङ्टन र मेरिल्यान्ड म्यूनिसिपल लिग (नेपालको नगरपालिका संघ)का टम रेनल्ड्स पनि नेपाल आएका थिए। उनीहरूले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, नेपालगञ्ज र बर्दियाका मेयर, उपमेयर र वडाध्यक्षसँग अन्तरक्रिया गरे। 

उनीहरूको उद्देश्य थियो – नेपालका स्थानीय जनप्रतिनिधिका समस्या–आवश्यकता पहिचान गर्ने। अन्तक्र्रियाको क्रममा धेरै जनप्रतिनिधिहरूको जिज्ञासा प्रायः उही थियो – बजेट कसरी बनाउने, विवादको निरुपण कसरी गर्ने, जनताका असीम चाहनाहरू कसरी पूरा गर्ने?

सिटौला भन्छन्, ‘नेपालमा स्थानीय सरकार चलाउने मेयर–उपमेयरहरू आफ्नो भूमिका र अधिकारको विषयमा अन्योलमा थिए, तर उनीहरू सबैमा सिक्ने र काम गर्ने उत्साह थियो।’

मेयर–उपमेयरसँगको अन्तक्रियाको क्रममा पहिचान गरिएका आवश्यकताकै आधारमा यूनिभर्सिटी अफ मेरिल्यान्डले तालिम सामग्रीहरू विकास ग¥यो, जसलाई नेपाल सरकारले पनि मान्यता दियो। त्यही सामग्रीहरूको आधारमा तालिम दिन नेपाल आएका हुन्। 

उनी भन्छन्, ‘विकसित देशलाई प्रायः एउटा आरोप लाग्ने गर्छ – आफूले आवश्यक ठानेको योजना लाद्ने। हामीले भने स्थानीय आवश्यकता बुझेर त्यही अनुसार योजना बनायौं।’

भिडियाे

स्थानीय सरकारः शासन होइन, सेवा

हेड अफ इन्डियन टाउन अमेरिकाकै सानो नगरपालिकाहरूमध्य पर्छ। यहाँ २ हजार ६ सय ७१ मतदातमात्रै छन्। जनसंख्या पनि करिब ४ हजार ५ सय मात्रै छ। 

अमेरिकाका साना नगरपालिकाका मेयर र अन्य पदाधिकारीहरूले स्वयंसेवकको रुपमा काम गर्छन्। तलब लिँदैनन्। उनी भन्छन्, ‘मैले खाने ब्रेड र बटरको आर्थिक स्रोत कर अधिकृतको रुपमा मैले पाउने तलब हो, उपमेयरको रूपमा त मैले स्वयंसेवा गर्ने हो।’

नेपालमा भने जतिसुकै सानो नगरपालिकामा पनि मेयर र उपमेयरले मात्रै होइन, वडाध्यक्ष र वडासदस्यले पनि तलब–भत्ता लिन्छन्। 

अमेरिकामा साना नगरपालिकामा पार्टीगत चुनाव पनि हुँदैनन्। उम्मेदवारहरूले स्वतन्त्र रुपमा चुनाव लड्छन्। सबैले मेयर पदकै लागि प्रतिस्पर्धा गर्छन्। र, सबैभन्दा बढी मत ल्याउने व्यक्ति मेयर हुन्छन्। दोस्रो अत्यधिक मत ल्याउने उपमेयर हुन्छन्। जसले गर्दा चुनाव सकिएपछि राजनैतिक तुष रहँदैन।

नेपालमा भने मनाङजस्तो पातलो जनसंख्या रहेको जिल्लामा समेत पार्टीगत चुनाव हुने गरेको छ। 

अमेरिकामा समुदायको आवश्यकताअनुसार नगरपालिकाहरू बन्छन्। जस्तै, सिटौला उपमेयर रहेको टाउन अफ इन्डियन हेडको समुदायले सन् १९२० मा चार्टर बनायो र त्यही चार्टरको आधारमा मेरिल्यान्ड राज्य सरकारको अनुमतिमा नगरपालिका बन्यो। नगरपालिकाको क्षेत्रफल, जनप्रतिनिधि र कार्यक्षेत्र तलबाटै तोकियो। 

नेपालमा भने कति नगरपालिका र गाउँपालिका बनाउने, कुन स्थानीय सरकारका लागि कति वडाध्यक्ष–वडासदस्य निर्वाचित गर्ने भन्ने कुरा माथिबाट लागू भयो। केन्द्रले बनाएको आयोगले नगरपालिका र गाउँपालिकाको क्षेत्र पनि निर्धारण गर्‍यो।

सिटौला नेपालको स्थानीय सरकार सञ्चालन गर्ने परिपाटीको आलोचना त गर्दैनन्, तर स्थानीय सरकार चलाउनेहरूले शासन होइन, सेवा गर्नुपर्ने सुझाव दिन्छन्। 

श्वेत–अश्वेतको नगरमा नेपालीको विजय

२०४६ सालमा काठमाडौंको बूढानीलकण्ठ स्कूलबाट एसएलसी पास गरेका किरण सिटौला २०५० सालको पुस महिनामा अमेरिका पुगेका थिए। 

नेपाल हुँदा पनि उनी विभिन्न सामाजिक गतिविधिमा सक्रिय हुन्थे। नयाँ देश र नयाँ ठाउँमा नयाँ जिन्दगी सुरू गर्दा पनि उनले समाजसेवा गर्ने छाडेनन्। 

इञ्जिनियरिङ पढ्न नसकेपछि लेखामा अन्डर–ग्र्याड गरे। अमेरिकाको सर्टिफाइड पब्लिक अकाउन्टेन्ट (सीपीए) को लाइसेन्स लिए। सीपीए भनेको नेपालको चार्टड अकाउन्टेन्ट (सीए) झैं हो। त्यसबेला एकाध नेपालीले मात्रै अमेरिकामा सीपीएको लाइसेन्स लिएका थिए। 

विभिन्न निजी कम्पनीमा काम गर्दा–गर्दै अन्ततः अमेरिकी सरकारी सेवामा प्रवेश गरे। जागिर खाए पनि समुदायको सेवा गर्न छाडेनन्। सार्वजनिक पुस्तकालय, चर्च र विद्यालयमा स्वयंसेवक भई काम गरिरहे। झण्डै १८ वर्ष समुदायको सेवा गरेपछि टाउन अफ इन्डियन हेडका बासिन्दाले उनलाई उपमेयर पदका लागि योग्य ठाने। 

सन् २०१५ को मेमा पहिलोपटक उपमेयर निर्वाचित हुँदा टाउन अफ इन्डियन हेडमा अमेरिकी नागरिकता पाएका २ नेपालीमात्रै थिए। एक उनी आफैं थिए। अर्का रामजी पहाडी थिए। श्वेत र अश्वेत मतदाताको मन–मत नजिती निर्वाचित हुन गाह्रो थियो। उनले उनीहरूको पनि मन जिते।

एकाध घर नेपालीमात्रै रहेको अमेरिकी नगरमा कसरी एउटा नेपाली–अमेरिकी उपमेयर बन्न सफल भए? उनी भन्छन्, ‘कुनै निपुण नेपाली कालिगढलाई सोध्नुस् – एउटा खुकुरी बनाउन कति समय लाग्छ? उसको उत्तर हुन्छ – २ साता र १८ वर्ष। अर्थात्, खुकुरी त दुई सातामै बन्छ, तर १८ वर्ष लामो अनुभव थिएन भने दुई सातामै खुकुरी बन्ने थिएन। मैले पनि १८ वर्ष स्वयंसेवा नगरेको भए दुई साता भोट मागेर अमेरिकामा चुनाव जित्ने थिइनँ।’
 

 Published Date: Monday, 10th June 15:32:27 PM