मंगलबार, असोज १३, २०७७

भारतीय विदेशमन्त्रीको भनाइ खण्डन गर्दै नेपालले भन्यो- बुद्धको जन्मस्थलबारे दिग्भ्रमित नहुनु

फाइल

काठमाडौं, साउन २५ : भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतका महान व्यक्ति भन्दै दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले आपत्ति जनाएको छ।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी पुरातात्विक प्रमाणका आधारमा बुद्धको जन्मभूमि नेपाल रहेकाले दिग्भ्रमित नहुन अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेको छ। 

भारतीय विदेशमन्त्री जयशंकरले भगवान बुद्धलाई महान् भारतीय भनेपछि नेपालमा उनको अभिव्यक्तिको विरोध भइरहेको छ। नेपाल भ्रमणका समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपाल बुद्धको देश भनेकाले त्यसमा विवाद गरिरहनु नपर्ने परराष्ट्रको तर्क छ।

‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित कुरा हो। बुद्धको जन्मभूमि बुद्धिज्मको उद्‍गम थलो लुम्बिनी युनेस्कोको सम्पदा सूचीमा छ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा यहाँको संसदलाई सम्बोधन गर्दै  नेपाल विश्वमा शान्तिका दूत गौतम बुद्धको देश भएको बताएका थिए।'

परराष्ट्रले नेपालबाट विश्वका विभिन्न मुलुकमा बुद्धिज्म फैलिएको भन्दै बुद्धको जन्मस्थलबारे विवाद गरिरहनुनपर्ने तर्क गरेको छ। ‘यो कुरा शंका र विवादभन्दा पर छ। त्यसैले यो बहसको विषय हुन सक्दैन। सारा अन्तर्राष्ट्रिय समुदाय यस विषयमा जानकार छ,’ परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ। 

कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा बोल्दै विदेशमन्त्री जयशंकरले संसारले सम्झिने दुई महान भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका थिए। 
 

 Published Date: Sunday, 9th August 2020 12:40:42 pm