बिहीबार, साउन २९, २०७७

नेपाल पुलिसको ए डिभिजन यात्रा– गर्विलो विगत सम्झनामा मात्रै सिमित

कुनै बेला लगातार लिग विजेता बन्दै रंगशालामा खेलभरी दर्शकको ताली खाने नेपाल पुलिस क्लब अहिले रेलिगेसनकाे संघारमा पुगेर मैदानमा दर्शकविहीन खेल खेल्न बाध्य भएको छ।

काठमाडौं, पुस २८ : नेपाल पुलिस क्लब सहिद स्मारक लिगमा सर्वाधिक अब्बल विभागिय टिम मानिन्छ । एकदशक अघिसम्म नेपालमा पुलिसको फुटबल कति लोकप्रिय थियो भने हरेक खेलमा राज्यको ओहोदाका उच्चपदस्थहरुको जमघट हुने ठाउँ हुन्थ्यो दशरथ रंगशाला । तर अहिले कथा फेरिएको छ– न लिगमा रोमाञ्चक्ता छ न पुरानो पुलिस क्लब

६० को दशकमा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस सधैँको उपाधि दाबेदार थियो । थ्री स्टार र मनाङको एकछत्र राज तोड्ने सामथ्र्य केवल पुलिसले राख्थ्यो । मनाङले लिगमा एकछत्र पकड बनाएकै समयमा पुलिसले २०६२ देखि २०६८ सम्म लगातार तीनपटक लिग उपाधि जित्दै सर्वाधि सफल विभागिय टिम बनेको थियो। 

पञ्चायत सुरु हुनु अघिको  लिगमा पुलिसको जुन रवाफ थियो, सोही रवाफ पुलिसले लोकतन्त्रपछिको ‘फर्मयाट’मा प्रस्तुत गर्न सफल भयो । सफल पनि किन नहोस्, राष्ट्रिय टिमका खेलाडीको पहिलो रोजाई जहिल्यै नेपाल पुलिस नै हुन्थ्यो । रंगशालामा भरिभराउ दर्शकलाई पुलिसले सायदै निरास बनाथ्यो। 

४० वर्षपछि सुरुवाती विरासत फर्काउन सफल पुलिसले नेपाली लिगमा नयाँ आयामनै ल्याएको मान्छन तत्कालीन खेलाडी हरि खड्का । उनी भन्छन ‘पुलिसको विगत साँचिकै लोभलाग्दो छ । हाम्रो खेल हेर्न देशका विभिन्न ठाउँबाट फ्यानहरु लामो यात्रा गरेरै काठमाडौं आउँथे।’

सहिद स्मारक लिगको सुरुवात भएको २०११ सालमा महावीरले उपाधि जित्यो । त्यसपछिका दुई वर्ष २०१२ र २०१३ मा तत्कालीन ‘नेपाल पुलिस फोर्स ११’ ले लिग जितेर नयाँ इतिहास बनायो । तर, ०४६ पछिको नयाँ फर्मयाटमा दशकअघिको पुलिसको त्यो उपाधि यात्रा अहिले एकादेशको कथा बन्न पुगेको छ।

पुलिसको बलियो विगत अहिलेको बर्तमान पुलिसले पटक–पटक झस्काइरहेको छ । सहिद स्मारक ए डिभिजन लिगको जारी संस्करणको पहिलो खेलमा गत १ पुसमा दशरथ रंगशालामा नेपाल पुलिस हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकियो । पुलिसले लिगको पहिलो खेलमा पुरानो विजेताको बिरासत जोगाउने कुनै पनि उत्कृष्ट अवसर सिर्जना गर्न नसकेको त्यो खेलपछि सोमबार लिगमा छैटौं खेल खेल्यो । जहाँ दोस्रो हारको सामना गर्न पुलिस बाध्य भयो । एनआरटी विरुद्ध पुलिस १–० ले पराजित हुँदै लिगको आठौं स्थानमा धकेलियो । प्रशिक्षक अनन्त थापाले भनिहाले ‘हामीलाई यहि हिसाबले रेलिगेशन जोगाउनै मुस्किल हुने देखियो ।’ उनको पिडादायि आवाजमा पुलिसको वर्तमान झल्कीन्छ।

आखिर पुलिस किन यति कमजोर भयो त ? ‘सबभन्दा महत्वपुर्ण कुरा खेलाडीको आकर्षण पुलिसमा नहुनु दुखद हो’ खड्का भन्छन्, ‘हामीले फुटबल खेल्दा सिंगो संगठनमा ऊर्जा आउँथ्यो । अझ दर्शकहरू पनि नेपाल पुलिसकै खेल हेर्न रंगशाला पुग्थे । तर, अहिले चार्म कम हुँदै गएको देख्दा चिन्ता लाग्छ।’ 

खड्का पनि अब पुलिसले नयाँ तरिकाले सोच्न ढिला गर्न नहुने मत राख्छन् । ‘पुलिस नेतृत्वले चाह्यो भने पुरानो बिरासत फर्कन समय लाग्दैन, तर सोच्ने कहिले ?’ उनको प्रश्न छ। 

सुरुवातमा विपक्षी कमजोर हुनुको फाइदा पुलिसले लिन सकेन् । अहिले सेट भएका टिमहरुसँग उसलाई निरन्तर संघर्ष गर्ननै मुस्किल बन्दै गएको छ । बल प्रोसेसनमा केही पकड बनाएको पुलिसले एनआरटि विरुद्ध खेल अवधिभर गोल हुन लायक सिमित अवसर सिर्जना गर्नुनै उपलब्धीपुर्ण रह्यो । कमजोर फिनिसिङ र समन्वयको अभाव दर्शकविहीन रंगशालामा स्पष्ट देखिन्थ्यो । पुलिसको खेल हेरेपछि फेरि विगतमै पुगिन्छ, किनकि जति बेला नेपाल पुलिसको खेल हुन्थ्यो, रंगशालामा भरिभराउ दर्शक र स्टार फर्वार्डको खेल कौशलको चार्म छुट्टै हुन्थ्यो। 

हरि खड्का, रमेश बुढाथोकी, अहिले प्रशिक्षक रहेका अनन्त थापा मैदानमा छाएका हुन्थे । तर, बलियो विगत बोकेको नेपाल पुलिसले जारी संस्करणमा अपेक्षित प्रदर्शन नहुँदा दर्शकलाई समेत निरासा बढाउदै लगेको छ । तर अझै पनि दर्शक फेरि पनि पुरानै पुलिस क्लवको खेल हेर्न चाहन्छन्। 

 Published Date: Tuesday, 14th January 11:03:06 AM