शुक्रबार, कात्तिक १, २०७६

मन्त्री रिझाउन दुई हजार डलर खर्चेर गृहजिल्लामा परीक्षण उडान

| तस्वीर:काठमाडौं प्रेस

काठमाडौं, साउन २७ : नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई रिझाउन उनको गृह जिल्ला ताप्लेजुङमा परीक्षण उडान गराएका छन्।

निगममा प्रयाप्त पाइलट छैनन्। अहिले भएका जहाज पाइलट नहुँदा ग्राउन्डेड छन्। निगमले नियमित उडान भरिरहेका स्थानमा पनि जहाज उडाउन समस्या हुँदै आएको छ।

तर, अध्यक्ष खरेलले गत शनिबार मात्रै निगमको वाई–१२ विमानमार्फत ताप्लेजुङमा परीक्षण उडान गरेका छन्। जबकी उनले अध्यक्ष भएर आएको ११ महिनामा गरेका परीक्षण उडानमा कहिँ पनि नियमित उडान हुन सकेको छैन्।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई पनि रिझाउन उनले यसरी नै परीक्षण उडान गरेका थिए। त्यतिबेला परीक्षण उडान गरेका ठाउँमा पनि अझै एउटा पनि नियमित उडान हुन सकेको छैन।

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षको रुपमा खरेल आएसँगै दुर्गम क्षेत्रमा धमाधम परीक्षण उडान गराएका थिए। गत भदौ ३१ मा प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा कार्यकारी अध्यक्ष बनेका खरेलले आधा दर्जन विमानस्थलमा नियमित उडान गर्ने भन्दै परीक्षण उडान सुरू गरेका थिए।

तर, खरेलको कार्यकाल ११ महिना सकिन लाग्दा परीक्षण उडान गरेका कुनै पनि विमानस्थलमा नियमित उडान भने सुरू गर्न सकेनन्। निगमसँग चिनियाँ ६ वटा र ट्वीनटर तीन वटा गरेर आन्तरिक उडानका लागि नौ जहाज छन्। तर, एउटा ट्वीनटर र एउटा चिनियाँ एमए ६० जहाजबाहेक अन्य जहाज सबै ग्राउन्डेड हुदैं आएका छन्। खरेल आएसँगै नौ वटै जहाजले देशभरका विमानस्थल उडाउने घोषणा गरेर परीक्षण उडान सरू गरे पनि अहिलेसम्म नियमित उडानमै हुन सकेको छैन।

खरेलले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई देखाउनका लागि परीक्षण उडान सुरू गरेका थिए।

यसअघि गत असोजमा पनि खरेलले लुक्ला, फाप्लु, सिमिकोट, रारा, डोल्पालगायतका गन्तव्यमा वाई–१२ विमानमार्फत परीक्षण उडान गराएका थिए। तर, ती गन्तव्यमा पछि नियमित उडान गर्न नसेकको निगमले फेरि नयाँ विमानस्थलमा परीक्षण उडान सुरू गरेको हो।

निगमको वाई–१२ विमानमार्फत गत शनिबार रुकुमको चौरझारी र ताप्लेजुङमा परीक्षण उडान गरिएको थियो। परीक्षण उडान गरिएको ताप्लेजुङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको गृह जिल्ला हो। ‘नवनियुक्त मन्त्री भट्टराईको गृह जिल्लामा परीक्षण उडान गरेर रिझाउन खोजेको प्रष्टै बुझ्न सकिन्छ,’ निगमका अधिकारीले भने।

मन्त्री नियुक्त भए लगत्तै मन्त्री भट्टराईले सबै जहाज नियमित उडान गराउन र ग्राउन्डेड नगर्न निर्देशन दिएका थिए। सोही निर्देशन पालना गर्नका लागि भन्दै खरेलले परीक्षण उडान सुरू गरेका हुन्। ‘११ महिनसम्म पाइलट उत्पादन र चिनियाँ जहाजको स्पेयर्स पार्ट्समा ध्यान नदिएका खरेलले फेरि मन्त्री रिझाउन मात्रै परीक्षणको नाटक गरेका हुन्,’ ति अधिकारीले भने।

कार्यकायरी अध्यक्ष खरेलले निगमका लागि २० अर्ब रुपैयाँ माग गर्दै आएका छन्। तर, मन्त्री भट्टराईले यही अवस्थामा निगमलाई रकम दिन नसक्ने प्रष्ट पारेका छन्।

खरेलले भने केही दिन आगाडि ‘नेपाल भ्रमण वर्ष २०२०’लाई लक्षित गर्दै आन्तरिक उडानतर्फ केही दुर्गम विमानस्थलमा परीक्षण उडान सुरु गरेको बताएका थिए।

खरेलले वाई–१२ विमानबाटै आइतबार रुकुम र भोजपुरमा सफल रुपमा परीक्षण उडान गरेका थिए। यस्तै गत मंगलबार र बुधबार बाजुरा र तुम्लिङ्गटारमा परीक्षण उडान गराएका थिए।

एउटै परीक्षण उडानमा दुई हजार डलर खर्च

परीक्षण उडानमा निगमका आईपी पाइलट आङनुरी शेर्पा र पाइलट तालिममै रहेका फिजियोनाथ नेपाली चालक टोलीमा छन्। प्रत्येक परीक्षण उडानमा एक हजार पाँच सयदेखि दुई हजार अमेरिकी डलरसम्म खर्च हुन्छ।

साउन १९ गते आइतबार मात्रै निगमको वाई–१२ विमानले काठमाडौं–दाङ–नेपालगञ्ज–साँफेबगर–दाङ–काठमाडौं उडान गरेको थियो। यति लामो उडान अछामको साँफेबगरमा परीक्षणका लागि नै तय गरिएको हो।

निगमसँग हाल चिनियाँ जहाज वाई १२ ई जहाज चार वटा रहेका छन्। सबै जहाज पूर्ण क्षमतामा उडाउने हो भने दैनिक २० भन्दा बढी उडान गर्न सक्छ।

जसका लागि १० जना क्याप्टेन आवश्यक पर्छ। तर, निगमसँग तीन जना मात्रै पाइलट रहेका छन्। परिक्षक पाइलटको रुपमा रहेका केबी लिम्बूको अझै उडान सुरू हुन सकेको छैन। जसका कारण एक–दुई जहाज मात्रै उडान गरिरहेका छन्।

त्यस्तै, निगमसँग एमए ६० दुइटा जहाज छन्। जसमा एउटा मात्रै उडान भरिरहेको छ भने डेढ वर्षदेखि एक जहाज ग्राउन्डेड छ। जहाज पूर्ण क्षमतामा उडाउने हो भने ६ वटा उडान दैनिक रुपमा गर्न सकिन्छ। निगमसँग रहेका तीन वटा ट्वीनटर जहाजबाट दैनिक १५ उडान गर्न सकिए पनि एक जहाजले मात्रै उडान भरिरहेको छ।

 Published Date: Monday, 12th August 12:47:25 PM