शनिबार, साउन ३१, २०७७

प्रचण्ड-नेपाल समूहका दुई गतिविधि, जसले प्रधानमन्त्री ओलीलाई चिढ्यायो 

काठमाडौं, असार १८ :  प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मध्यान्ह मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए। त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरे। 

करिब १५ मिनेट बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले एउटामात्रै एजेन्डा रहेको सुनाए। र, संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गराए।

मन्त्रिपरिषद्ले निर्णय गरेको एकाध घण्टामै राष्ट्रपति भण्डारीले संसदको अधिवेशन अन्त्य गरिन्। बिहान ११ बजेका लागि स्थायी कमिटीको बैठक डाकिएको थियो। 

तर, १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक डाकेर संसद अधिवेशन अन्त्य गर्न लागेको सुनेपछि प्रचण्डले ओलीसँग जिज्ञासा राखे, ‘११ बजे स्थायी कमिटी छ। १२ किन क्याबिनेट बोलाउनु भयो?’

प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गर्न लागेको जवाफ दिएपछि प्रचण्डले पार्टीमा सल्लाह गरेर मात्रै निर्णय लिन आग्रह गरे। प्रचण्डको विशेष आग्रह पछि ओलीले क्याबिनेट स्थगित गर्ने बचन दिएका थिए।  

तर, प्रचण्डलाई दिएको बचन प्रधानमन्त्री ओलीले पालना गरेनन्। हतारमा क्याविनेट बोलाएर संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरिदिए।

क्याविनेटअघि नै सुरु भएको स्थायी कमिटी बैठकमा ओली गएनन्। जब, क्याविनेटले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको सूचना बैठकमा प्राप्त भयो। तब नेताहरु सशंकित र आक्रोशित बने। केहीबेरका लागि बैठक स्थगित भयो। 

प्रचण्डले ओलीलाई भेटेर संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्नुको अन्तर्य बुझ्ने प्रयास गरे। पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याउन खोज्नु भएको हो? भनेर ओलीलाई प्रश्न गरे। तर, ओलीले तत्कालै अध्यादेश नआउने बताएका थिए। 

ओलीले अध्यादेश ल्याउन लागेको आशंका बोकेर प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न सचिवालय र स्थायी कमिटी सदस्यहरुलाई बालुवाटारमै छोडेर शीतलनिवास गए। उनले राष्ट्रपति भण्डारीलाई अध्यादेशबारेमा जिज्ञासा राखेका थिए।

‘प्रधानमन्त्रीले अध्यादेश ल्याउने सम्भावना छ। यदि ल्याइहाल्नु भयो भने केही दिन रोकिदिनु पर्‍यो। हामी पार्टीलाई एक ढिक्का बनाउँछौँ,’ राष्ट्रपतिसँगको भेटघाटमा प्रचण्डको भनाइ उदृत गर्दै एक स्थायी कमिटी सदस्यले काठमाडौंप्रेससँग भने। 

राष्ट्रपति भण्डारीले अध्यादेश आउनेबारे जानकारी नभएको जवाफ प्रचण्डलाई दिएको ती स्थायी कमिटी सदस्यले जानकारी दिए। ‘अध्यादेशबारे थाहा छैन। मिलाउनुस्, अरु त मैले के गर्न सक्छु र!,’ प्रचण्डलाई राष्ट्रपति भण्डारीले भनेकी थिइन्।  

राष्ट्रपतिलाई भेटेर प्रचण्ड फेरि बालुवाटार फर्किए। केही समयका लागि रोकिएको स्थायी कमिटीको बैठक पुनः सुरु गर्नुअघि प्रधानमन्त्री ओलीलाई समेत बोलाइयो। तर, ओली आउन मानेनन्। ओलीको अनुपस्थितिमै फेरि बैठक सुरु भयो। प्रचण्डले स्थायी कमिटी सदस्यहरुलाई उत्पन्न पछिल्लो परिस्थितिबारे र राष्ट्रपतिसँग भएको कुराकानीबारे जानकारी दिए।

पार्टीभित्र उत्पन्न गतिरोध अन्त्यका लागि शुक्रबार दुई अध्यक्षबीच छलफल गर्ने र शनिबार पुनः बस्ने गरी बैठक स्थगित भयो। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा गम्भीर संकट उत्पन्न भएको बताए। ‘हाम्रो पार्टी एकतामा गम्भीर संकट देखा परेको छ,’ उनले भने, ‘तर पार्टीलाई यो संकटबाट बचाउनुपर्छ।’ 

श्रेष्ठले भने झैं नेकपा ठूलो संकटबाट गुज्रिएको छ। कसरी हल निस्कन्छ? भन्ने प्रश्नको जवाफ न ओली पक्षसँग छ, नत प्रचण्ड–नेपाल पक्षसँग नै छ। प्रधानमन्त्री ओलीले एकाएक संसद अधिवेशन अन्त्य गर्ने निर्णयमा किन पुगे त? ओली इतर समूहले दुई कारण हुन सक्ने अनुमान गरेको छ।

प्रचण्ड–नेपाल समूहका एक स्थायी कमिटी सदस्यलाई हामीले सोध्यौं– प्रधानमन्त्रीले किन हतासमा संसद अधिवेशन अन्त्यको निर्णय लिनुभयो, तपार्इंको बुझाइ के छ?  
उनले हतारमा संसद अधिवेशनको निर्णय लिनुका पछि दुई कारण रहेको हुनसक्ने बताए। पहिलो, स्थायी कमिटी बैठकमा शीर्ष नेतासहितका अधिकांश सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनु पर्ने माग राखे। ओलीले राजीनामा दिनुपर्ने माग बैठकमा थप बलियो बन्दै गयो।  

दोस्रो, बुधबार साँझ ललितपुरको झम्सिखेलस्थित अँगेनो रेस्टुरेन्टमा ओली इतर समूहको रणनीतिक बैठकले प्रधानमन्त्री ओलीलाई झस्कायो। राजीनामा दिनुपर्ने बाध्यात्मक अवस्था आउन सक्ने आँकलन प्रधानमन्त्री ओलीले गरे। ‘यी दुई घटनाक्रमले उहाँ चिढिनुभएको हाम्रो बुझाइ छ। सोही कारण संसद अधिवेशन अन्त्य गरेर दल फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउने मनस्थितिमा उहाँ पुग्नु भएको जस्तो देखिन्छ,’ ती नेताले काठमाडौंप्रेससँग भने।  

स्थायी कमिटीको बैठक दुई दिनका लागि स्थगित भएको अवस्था र संसद अधिवेशन समेत अन्त्य भएको अवस्थामा नेकपा कसरी अघि बढ्ला त? भन्ने प्रश्नमा ती नेताले भने, ‘यो प्रश्नको जवाफ अहिले हामीसँगै छैन। यसका लागि भोलि बेलुकासम्म पर्खिनु पर्ला।’
 
  

 Published Date: Thursday, 2nd July 19:36:48 PM