शनिबार, साउन ३१, २०७७

सुल्झिएला गहिरिँदै गएको नेकपाभित्र विवाद ?

| तस्वीर:फाइल

काठमाडौं, असार १८ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ।  

केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनु पर्ने माग स्थायी कमिटीको बैठकमा चर्को रुपमा उठेपछि सुरु भएको विवाद सरकारले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गर्ने अप्रत्याशित निर्णय लिएसँगै नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको हो। 

ठूलो रक्साकस्सीपछि बोलाइएको स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताहरु माधवकुमार नेपाल पक्षधर नेताहरुले ओलीले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट राजीनामा दिनु पर्ने विषयलाई प्रमुख एजेन्डाकै रुपमा उठान गरिरहेका छन्। त्यतिमात्रै होइन प्रधानमन्त्री ओलीलाई बलियो साथ दिँदै आएका उपाध्यक्ष बामदेव गौतमले पनि ओली असफल भएको भन्दै दुवै पदबाट राजीनामा दिएर आराम गरेर बस्न भनेपछि प्रधानमन्त्री ओली थप संकटमा परेका छन्। 

प्रधानमन्त्री ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने र राजीनामा दिनै पर्ने अवस्था आए प्रचण्ड–नेपाल लगायत नेतालाई छोेड्न नसक्ने अडान राख्दै आएका छन्। प्रधानमन्त्री ओलीले आफूलाई सत्ताबाट हटाएर देखाउन पनि बेला–बेलामा चुनौती दिँदै आएका छन्। त्यही कारण प्रधानमन्त्री ओलीले बालुवाटारमै बसिरहेको स्थायी कमिटी बैठकलाई समेत बेवास्था गर्दै आएका छन्।

नेकपाभित्रको विवादले चरम रुप लिँदै गएपछि पार्टी विभाजनसम्मका कुरा बाहिर आउन थालेका छन्। प्रधानमन्त्री ओली आफ्नो शक्तिले भ्याएसम्म दुवै पद छोड्ने मनस्थितिमा छैनन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन बिहीबारसाँझ ५ बजेदेखि नै लागू हुने गरी अन्त्य गरेपछि प्रचण्ड–नेपाल समूह थप सशंकित बनेको छ। 

राष्ट्रपतिलाई भेटेर फर्किएपछि प्रधानमन्त्री ओलीको उपस्थितिविना बसेको स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिले पार्टी विभाजनकै संकेत गरेको छ। श्रेष्ठले भनेका थिए ‘पार्टीमा  गम्भीर संकट देखा परेको छ।’ उनको अभिव्यक्तिले विभाजनसम्मको शंकालाई थप प्रष्ट्याएको छ।

बिहीबार बिहान दुई अध्यक्षबीच भएको सहमति पनि ओलीले तोडेका थिए। नियमित भएपनि मन्त्रिपरिषद् बैठक स्थगित गरेर स्थायी कमिटीमै केन्द्रित हुने सहमतिलाई लत्याउँदै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकबाट संसदका दुवै सदनको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

स्थायी कमिटी सदस्य समेत रहेका मन्त्रीहरु बैठकमा पुग्न नपाउँदै प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्यको निर्णय गराएर बैठक सक्काएका थिए। 

मन्त्रिपरिषद् बैठकको निर्णयपछि भाँडियो बैठक 

मन्त्रिपरिषदले एकाएक संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेपछि स्थायी कमिटी बैठक भाँडिएको थियो। सिफारिस गरेको डेढ घण्टाभित्रैमा राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेपछि माहौल थप भड्किएको थियो।

लगत्तै अध्यक्ष प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए। ‘संसद अधिवेशन अन्त्य भएपछि अध्यादेश (पार्टी फुटाउन सजिलो हुने गरीको अध्यादेश) बारे पनि चर्चा भएकाले प्रचण्ड कमरेड अहिले पार्टी विभाजन हुने अवस्था छैन भनेर राष्ट्रपति समक्ष अनुरोध गर्न जानुभएको हो। राष्ट्रपति र प्रधानमन्त्री दुवै जनाले अध्यादेश आइसकेको छैन भनेर राष्ट्रपतिले भन्नुभएको र प्रधानमन्त्रीले पनि म अहिले नै अध्यादेश जारी गर्दिन भन्नुभएको जानकारी बैठकलाई गराउनुभएको थियो,’ प्रवक्ता श्रेष्ठले भने। 

प्रधानमन्त्री ओलीले मदन भण्डारीको जन्मजयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा आफूलाई हटाउन भारत र केही नेताहरु लागेको भनेर अभिव्यक्ति दिएपछि नेकपाभित्रको विवाद चर्किएको थियो। उनको अभिव्यक्तिपछि अध्यक्ष प्रचण्डसहितका नेताहरुले दुवै पदबाट राजीनामाको माग गरेका थिए।

राजीनामा दिन बाध्य बनाउने चाल बुझेरै संसदको अधिवेशन अन्त्य गरिएको हुन सक्ने एक जना स्थायी कमिटीको सदस्यले बताए। उनका अनुसार प्रधानमन्त्री ओलीले सजिलै राजीनामा नदिए संसदमा अविश्वासको प्रस्ताव दर्ता हुने सम्भावना समेत थियो। त्यसलाई टार्न प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेको ती नेताको भनाइ छ। 

विवाद मिलाउन दोस्रो तहका नेताहरुको दौडधूप

पार्टीभित्रको विवाद मिलाउन महासचिव विष्णु पौडेलसहित दोस्रो तहका नेताहरुले सक्रियता देखाएका छन्। पौडेलले प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डलाई मिलाउन दुवैतिरको सम्बादलाई अघि बढाएका हुन्।

उनीसँगै प्रधानमन्त्री ओलीका विश्वास पात्र समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र संसदीय दलका उपनेता नेम्वाङ पनि प्रचण्डसहितका शीर्ष नेताहरुसँग अनौपचारिक छलफलमा व्यस्त भएका छन्। 


 

 Published Date: Thursday, 2nd July 20:16:57 PM