बिहीबार, साउन २९, २०७७

बामदेवको प्रस्तावमा जुट्दै समर्थन, प्रचण्ड-माधवलाई नेता जोगाउनै सकस

काठमाडाैं, साउन १६ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई विभाजन हुनबाट रोक्न भन्दै उपाध्यक्ष बामदेव गौतमले ल्याएको प्रस्तावको समर्थनमा मत जुट्दै गएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधकुमार नेपाल पक्षधरका नेताहरुले समेत उपाध्यक्ष गौतमको ६ बुँदे प्रस्तावमा समर्थनमा जनाएपछि प्रस्तावको पक्षमा मत बलियो हुँदै गएको हो। प्रचण्ड- माधव समूहलाई भने नेता जोगाउनै सकस भइरहेको छ।

उपाध्यक्ष गौतमले अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउनुपर्ने र प्रतिनिधिसभाको कार्यकाल बाँकी रहँदासम्म अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री रहनेसहितको प्रस्तावको पक्षमा  नेकपाको सचिवालय तथा स्थायी कमिटीमा बहुमत जुट्दै गएको छ।  ९ सदस्यीय सचिवालयमा बामदेवको प्रस्तावमा ५ जनाको समर्थन छ भने ४४ सदस्यीय स्थायी कमिटीमा २६ जना गौतमको प्रस्तावको पक्षमा खुलेका छन्। 

सचिवालयमा गौतमको पक्षमा प्रधानमन्त्री एवं अध्यक्ष ओली, नेता ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेता रामबहादुर थापा उभिएका छन्। महासचिव पौडेल पार्टीलाई विभाजनबाट जोगाउनेहरुको पक्षधरता बलियो हुँदै गएको बताउँछन्।

'पार्टीलाई विभाजनबाट जोगाउन उपाध्यक्ष गौतमले अघि सारेको प्रस्ताव नै उत्तम विकल्प हो भन्ने बहुमत सदस्यको धारणा छ। ढिलो चाँडो असन्तुष्टि जनाउँदै आएकाले पनि प्रस्तावलाई अंगीकार गर्छन्,' पौडेलले भने।

प्रचण्ड-माधव समूहलाई नेता जोगाउनै सकस

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन्। तर उनीहरुको माग विपरीत उपाध्यक्ष गौतमले ल्याएको प्रस्तावमा प्रचण्ड-माधव समूहका नेताहरुले समर्थन जनाएका छन्। 

स्थायी कमिटीमा प्रचण्ड समूहका नेता हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, देवेन्द्र पौडेल, मणि थापा र चक्रपाणी खनालले ६ बुँदे प्रस्तावको समर्थन गरेका छन्। यस्तै, नेपाल समूहका स्थायी कमिटी सदस्यहरू भीम बहादुर रावल, योगेश भट्टराई, घनश्याम भुषाल पनि गौतमको प्रस्तावमा सकारात्मक छन्। 

प्रचण्डलाई  बिहीबार भेट गरेका स्थायी कमिटी सदस्यहरुले गौतमको प्रस्ताव अनुसार अघि बढ्न र पार्टीलाई विभाजनबाट जोगाउन सुझाव दिएको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए। 

'अध्यक्षसँगको भेटमा हामीले ओलीसँग नै सहमति कायम गरेर अघि बढ्न सुझाव दियौं पार्टीलाई विभाजनबाट जोगाउन उपाध्यक्ष गौतमले अघि सारेको प्रस्ताव सकारात्मक रहेको मत हामीले राखेका छौँ,' गजुरेलले भने।

बहुमतको आडमा पदीय भागबन्डामा मात्रै अध्यक्ष केन्द्रित भएको मत टोपबहादुर रायमाझी र लेखराज भट्टले राख्दै आएका छन्। प्रचण्ड समूहबाट रायमाझी र भट्टसहित ६ जना नेता अलग भइसकेका छन्। 

यस्तै, नेपाल समूहका स्थायी कमिटी सदस्यले भीम रावलले पनि बहुमतको आडमा पद व्यवस्थापनमा नेतृत्व केन्द्रित रहेको भन्दै बैठकमा आलोचना गरेका थिए। पदका लागि मात्रै आफूहरुको टाउको नगन्न उनले प्रचण्ड-नेपाललाई आक्रोशपूर्ण आग्रह गरेका थिए। विभाजन जोगाउनका लागि अघि सारेको प्रस्ताव सकारात्मक रहेको बताउँछन्।

'प्रस्ताव कसले ल्यायो कुन समूहलाई फाइदा पुग्यो पुगेन भन्ने  गणना गर्ने होइन,' रावलले भने,'पार्टीलाई विभाजनबाट जोगाउन आउने उपयुक्त  प्रस्तावमा सबैले समर्थन गर्नुपर्छ।'

आफ्नो ६ बुँदे प्रस्तावमा समर्थन जुट्दै गएपछि उपाध्यक्ष गौतमले त्यसबाट पछि नहट्ने धारणा सार्वजनिक गरिसेकका छन्। अध्यक्षद्वय ओली र प्रचण्डलाई पनि उनले पार्टी एकता कायम राख्न त्यस अनुसार अघि बढ्नुको विकल्प नरहेको स्मरण गराइसकेका छन्। 

गौतमको प्रस्ताव वीन-वीन किसिमको रहेको नेकपाका नेताहरुको मत छ। उनको प्रस्ताव अनुसार नेतृत्व अघि बढ्न चाहेमा सबैको व्यवस्थापन हुने विश्वास नेताहरूको छ।

गौतमले प्रचण्डलाई कार्यकारी अधिकारसहितको अध्यक्ष र ओलीलाई पूर्ण कार्यकाल प्रधानमन्त्रीको मात्रै प्रस्ताव राखेका छैनन्। उनले संवैधानिक निकायमा गरिने नियुक्तिमा उपयुक्त बाँडफाँड र मन्त्रिपरिषद् हेरफेर गर्दै सबै पक्षका नेता समेट्ने विकल्प पनि अघि सारेका छन्।
 

 Published Date: Friday, 31st July 15:57:18 PM