शुक्रबार, असोज ९, २०७७

स्थायी कमिटी टारेका प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटी बैठक पनि नराख्ने

काठमाडाैं, साउन २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक नगर्ने जनाउ दिएका छन्। 

१ सय ५२ जना केन्द्रीय सदस्यले हस्ताक्षरसहित केन्द्रीय कमिटी बैठकको माग गरेपनि अध्यक्ष ओलीले बैठक नराख्ने प्रष्ट रुपमा बताएका छन्। 

कोरोनाको कारण देखाउँदै उनी बैठकबाट पन्छिन खोजेका हुन्। नेकपाको विधान अनुसार २५ प्रतिशत केन्द्रीय सदस्यले माग गरेमा ३० दिनभित्र बैठक बोलाउनुपर्नेछ। 

साढे चार सयको बैठक सम्भव छैन 

अध्यक्ष ओलीले कोरोना महामारीको अवस्थामा राजनीतिक दलहरु संवेदनशील हुनुपर्ने भन्दै यस्तो अवस्थामा सभा-समारोह, भेला गर्नु नहुने बताए।

सरकारले २५ जनाभन्दा बढीको जमघट रोक्नुपर्ने मापदण्ड बनाएको स्मरण गराउँदै ओलीले यस्तो अवस्थामा ४ सय ५० जनाको भेला असम्भव हुने बताएका छन्। 

'मेरै पार्टीमा पनि बैठक गर्नुपर्‍यो भनेर माग हुन्छ। साढे चार सयको संख्या छ महामारीको यो अवस्थामा आजै बैठक बसौँ, भोलि नै बैठक बसौँ भनेर साथीहरुले भनिरहनु भएको छ। हामी संवेदनशील हुनुपर्छ यस्तो अवस्थामा बैठक सम्भव छैन,' उनले भनेका छन्। 

केन्द्रीय कमिटीको बैठकबाट पन्छिन खोज्नु नाजायज

कोरोना महामारीको कारण देखाउँदै केन्द्रीय कमिटीको बैठकबाट अध्यक्ष ओली पन्छिन खोज्नु नाजायज भएको केन्द्रीय कमिटी सदस्यहरुको भनाइ छ।

पार्टीको विवाद समाधानका लागि केन्द्रीय कमिटी बैठक आवश्यक रहेकाले महामारीलाई कारण देखाएर अध्यक्ष पन्छिन नहुने उनीहरुको मत छ। सरकारले गर्ने भेलामा २५ जना संख्याको मापदण्ड कार्यान्वयन नभएको अवस्थामा पार्टीको एकता बचाउनका लागि विवाद समाधानको उद्देश्यले राखिएको बैठकबाट अध्यक्ष पन्छिन नमिल्ने केन्द्रीय कमिटी सदस्य ठाकुर गैरे बताउँछन्।

'हाम्रो पार्टीलाई विभाजनबाट जोगाउनका लागि अहिले विवाद समाधान गर्नुपर्ने अवस्था छ। त्यसको उपयुक्त थलो भनेको केन्द्रीय कमिटी हो,' गैरेले भने,'महामारीमा सजगता अपनाउँदै बैठक बसाल्नुपर्छ। २५ जनाको मापदण्ड सरकारको भेलामा कार्यान्वयन नहुने पार्टीको बैठकमा कार्यान्वयन हुनैपर्ने भन्ने छैन। अध्यक्ष बैठकबाट पन्छिन मिल्दैन अवस्था अनुकूल हुँदै बैठक राख्नुपर्छ भयावहको अवस्थामा बैठक सम्भव हुँदैन भन्नेमा हामी पनि सचेत छौँ।'

यस्तै, केन्द्रीय सदस्य रामकुमारी झाँक्री पनि केन्द्रीय कमिटीबाट अध्यक्ष पन्छिन नमिल्ने बताउँछिन्। 

'प्रधानमन्त्रीले आजै बैठक बसौँ, भोलि नै बैठक बसौँ भनेर दबाब दिनु नाजायज भएको बताउनुभएछ। महामारीको अवस्थालाई मध्यनजर गर्दै बैठक यथाशिघ्र राख्न जरुरी छ। यसले पार्टीभित्र जुन महामारी देखिएको छ। त्यो पनि अन्त्य हुन जरुरी छ। अब धेरै ढिलाइ गर्नुहुँदैन,' उनले भनिन्।

गत साउन १४ गते १ सय ५२ जना केन्द्रीय  सदस्यले हस्ताक्षर गरी बैठक तत्काल राख्न माग गरेका थिए। गत माघ यता नेकपाको केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन।

ओलीकै कारण स्थायी कमिटी बैठक पनि अनिर्णित

साउन १० गते बसेको स्थायी कमिटी बैठक ९ पटक स्थगित भइसकेको छ। अध्यक्ष केपी शर्मा ओलीले बैठक राख्ने इच्छा नदेखाएपछि नेकपाको स्थायी कमिटी बैठक अनिर्णित बन्दै गएको हो। गत साउन १३ गते तय भएको स्थायी कमिटी बैठक पनि ओलीले स्थगित गराएका थिए। 

उनले महासचिव विष्णु पौडेललाई पत्र लेख्न लगाउँदै बैठक स्थगितको सूचना जारी गराएका थिए। त्यस दिन अध्यक्ष प्रचण्डले बालुवाटारमा आफ्नो अध्यक्षतामा बहुमत स्थायी कमिटी सदस्यको बैठक राखेर अध्यक्ष ओलीले बैठक एक पक्षीय ढंगबाट स्थगित गराउनु विधान विपरीत भएको निर्णय गराएका थिए। 

यता बालुवाटारमा बैठक राखेर आफूविरुद्ध निर्णय गर्ने अध्यक्ष प्रचण्डको बैठकलाई अर्का अध्यक्ष ओलीले अवैधानिक भनिदिए। त्यही दिनको बैठकले दुई जना अध्यक्षबीचको सहमतिमा अर्को स्थायी कमिटीको बैठक राख्ने निर्णय गरेको  थियो। 

गत आइतबार त्यही बैठकको निर्णय अनुसार अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकको मिति तोक्न माग गरे। जवाफमा अध्यक्ष ओलीले सचिवालयबाटै विवादको निरुपण हुनुपर्ने मत राखेका थिए। यस्तै, सोमबार भएको छलफलमा अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठक नराख्ने भए केन्द्रीय कमिटी सदस्यहरुको माग अनुसार बैठक राख्ने प्रस्ताव अघि सारे। 

जवाफमा ओलीले दुवै बैठक नराख्ने जवाफ दिए। ओलीको जवाफपछि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल बैठकबाट बाहिरिएका थिए। 

'अध्यक्ष ओली विवाद समाधान गर्ने पक्षमा देखिनुभएन। उहाँ न त स्थायी कमिटी बैठक राख्न सहमत हुनुभयो न त केन्द्रीय कमिटी बैठक राख्न नै,' छलफलमा सहभागी नेता झलनाथ खनालले काठमाडौंप्रेससँग भने।

विवाद समाधानको मनस्थिति ओलीले नबनाएको अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहले आरोप लगाउँदै आएका छन्। स्थायी कमिटी बैठक टारेर गरेर केन्द्रीय कमिटी बैठकबाट भाग्न खोज्नु त्यसकै उपज भएको उनीहरुको भनाइ छ। 
 

 Published Date: Tuesday, 4th August 2020 10:18:01 am