दमौलीको कांग्रेसको समानान्तर कार्यालयमा तोडफोड

दमौली, वैशाख १८ : कांग्रेस तनहुँका दुई गुटबीचको विवाद सतहमा आएको छ । संस्थापन समूहनिकट भातृ संगठनका कार्यकर्ताहरुले समानान्तर घोषणा गरेको समूहको कार्यालयमा तोडफोड गरेपछि दुई गुटको सघर्ष सतहमा आएको हो। 

कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशी समूहले पार्टी संस्थापनले मनोमानी गरेको र चुनावमा हारको जिम्मेवार भएको आरोप लगाउँदै आफ्ना नेता डिल्लीराम अधिकारीको नेतृत्वमा समानान्तर समिति घोषणा गरेको थियो । तनहुँ कांग्रेसमा पार्टी सभापति बैकुण्ठ न्यौपाने तथा कार्यवाहक सभापति जितप्रकाश आले छन्।

समानान्तर कार्य समिति घोषणापछि पार्टी कार्यालय बीपी स्मृति भवनको विकल्पमा समानान्तर समितिले व्यास २ मालपोत लाईनमा कार्यालय सञ्चालन गर्दै आएको छ । सोही कार्यालयमा नेविसंघ तनहुँका अध्यक्ष चुडामणि खनाल नेतृत्वका नेता कार्यकर्ताले तोडफोड गरेका हुन् । उनीहरुले पार्टी कार्यालयको बोर्ड भत्काउनुका साथै नाम लेखिएको ठाउँमा रातो पोतिदिएका छन्। 

ट्रेड युनियन कांग्रेसले मे दिवसका अवसरमा आयोजना गरेको र्‍यालीमा सहभागी नेविसंघ सम्बद्ध युवाहरुले कार्यालय तोडफोड गरेपछि समानान्तर समूह आक्रोशित भएको छ । समितिका सभापति डिल्लीराम अधिकारीले नियोजित रुपमा कार्यालयमा तोडफोड गरिएको बताए । कांगे्रस नेता रामचन्द्र पौडेल र नेता शंकर भण्डारी तनहुँ जिल्लामा रहेकै बेला आक्रमण हुनु दुःखद् भएको अधिकारीको भनाई छ ।

आफूनिकट नेता कार्यकर्ताले प्रयोग गरेको कार्यालयमा तोडफोड भए पछि कांग्रेस नेता एवं पूर्व सह महामन्त्री गोविन्दराज जोशीले कार्यालयमा तोडफोडको निन्दा गरेका छन् । बिदाको दिन जिल्लामा नेता रामचन्द्र पौडेल र शंकर भण्डारी निकटका उच्छृंखल व्यक्तिले तोडफोड गरेको भन्दै उनले दोषीमाथि कारवाहीको माग गरे । 
तोडफोडमा संलग्न नेविसंघ तनहुँका अध्यक्ष खनालले पार्टीको वैधानिक कार्य समिति र कार्यालय हुँदा हुँदै विधानविपरित विशेष अधिवेशनको घोषणा गर्दै कार्यालय खोलिएकाले आक्रोशित भिडले तोडफोड गरेको जिकिर गरे । उनले एक व्यक्तिलाई रिस उठ्यो भन्दैमा पार्टीलाई कमजोर बनाउन नहुने भन्दै त्यसलाई रोक्न खोजिएको जिकिर गरे ।  

 Published Date: Wednesday, 1st May 2019 7:58:06 pm