सोमबार, भदौ ३०, २०७६

नारायण दाइको मोमो साम्राज्य

| तस्वीर:रिवाज राई

काठमाडौं, साउन ३२ : जुन बेला नारायण दाइले काठमाडौंमा मोमो बेच्न थालेका थिए, त्यो बेला यहाँ अहिले जस्तो ठूलो र लाम्चो आकारको मोमो पाइँदैन थियो। अचार पनि टमाटरको मात्रै हुन्थ्यो।

नारायण दाइले मोमोको आकार र स्वाद यस्तरी बद्लिदिए कि उनको नामैस्वादिष्ट मोमोको पर्याय बन्यो। उनको पसलमा मोमो खान स्वर सम्राट नारायण गोपालदेखि जमानाका नम्बर एक नायक भुवन केसीसमेत जान थाले।

नारायण दाइको मोमो पसल अहिले आफैंमा एक ब्रान्ड बनेको छ। उनी जीवित छैनन्, तर उनका पसलहरू काठमाडौंका तीन ठाउँसम्म फैलिइसकेका छन्। 

अहिले पनि युवा नेता गगन थापादेखि अभिनेता आर्यन सिग्देल र लेखक बुद्धिसागर समेत नारायण दाइको मोमो पसल पुगिरहन्छन्।

आखिर नारायण दाइ अर्थात् नारायण महर्जनले कसरी एउटा सानोतिनो मोमो साम्राज्य नै खडा गरे त?

सायद नारायण दाइले पनि टूथपेस्ट व्यापारको त्यो कथा सुनेको हुनुपर्छ, जसबारे अझै पनि बिजनेश र म्यानेजमेन्ट विषयमा अब्बल अमेरिकी विश्वविद्यालयहरूमा समेत चर्चा हुन्छ।

यो कथा सही हो कि होइन, कसैलाई थाहा छैन। तर, यसले विश्वका उत्कृष्ट बिजनेस स्कुलमा पढ्ने विद्यार्थीहरूलाई समेत ‘सानो आइडियाले पनि व्यापारमा ठूलो परिवर्तन ल्याउन सकिन्छ’ भन्ने ज्ञान दिएको छ।

कथा यस्तो छ 

सन् १९५० को दशकतिर एक अमेरिकी टूथपेस्ट कम्पनी आफ्नो उत्पादनको बिक्री बढाउने रणनीति बनाउन व्यस्त थियो। तर, कम्पनीका कार्यकारी अधिकारीहरूको दिमागमा बिक्री बढाउने कुनै गतिलो उपाय सुझिरहेको थिएन। यसैले, उनीहरूले पत्रिकामा विज्ञापन छपाउँदै बिक्री बढाउने आइडियाहरूको खोजी गर्न थाले।

एक सामान्य युवक त्यो कम्पनीमा गयो र भन्यो, ‘मसँग यस्तो आइडिया छ, जसले तपाईंहरूको बिक्री ह्वात्तै बढाउँछ। पैसा पनि खर्च गर्नु पर्दैन।’

युवकले आफ्नो आइडियाको दाम एक लाख डलर राख्यो। त्यो बेला एक लाख डलर धेरै पैसा थियो। कम्पनी हच्कियो। तर, कुनै सीप नलागेपछि त्यो युवकको आइडिया किन्न सहमत भयो।

भिडियाे रिपाेर्ट

आइडिया एकदमै सामान्य थियो – पेस्ट आउने दूलो हल्का ठूलो बनाउने। त्यसअघि प्रायः सबै कम्पनीको पेस्टको दूलो सानो हुन्थ्यो। पेस्ट निकाल्न बल गरेर थिच्नुपथ्र्यो।

दूलो हल्का ठूलो बनाएपछि पेस्ट सजिलै निस्किन थाल्यो। ग्राहकलाई सास्ती भएन, उनीहरूको समय बचत भयो। र, पेस्टको खपत पनि ह्वात्तै बढ्यो।

नारायण दाइले पनि सानो आइडियाले ठूलो परिवर्तन ल्याए। त्यो बेला काठमाडौंमा मोमो स–सानो हुन्थ्यो। आकार पनि अलि बाटुलो। नारायण दाइले अलि लाम्चो र ठूलो मोमो बेच्न थाले।

रेस्टुरेन्टहरूभित्र सानो भाँडामा मोमो पकाएर बेचिन्थ्यो। नारायण दाइले सबैले देख्ने गरी ठूलो भाँडामा मोमो बनाएर बेच्न थाले। अहिले काठमाडौंमा जताततै ठूलो भाँडामा मोमो बेचिरहेको देख्न सकिन्छ। यो चलन नारायण दाइले नै थालेका हुन्।

त्यो बेला बजारमा मोमो पकाउने ठूलो भाँडा किन्न पाइँदैन थियो। नारायण दाइले सामान्य भाँडामा प्वालहरू पारेर मोमो पकाउन थाले। अहिले त मोमो पकाउने रेडिमेड ठूला भाँडाहरू नै किन्न पाइन्छ। 

अहिले काठमाडौंका चोक–चोकमा मोमो पसलहरू छन्। तर, नारायण दाइको मोमोको स्वाद भने अन्त पाइँदैन। ५० वर्षअघि नारायण दाइको पसलमा मोमो खान जाने केटाकेटीहरू अहिले पनि छोराछोरी र नाति–नातिना लिएर मोमो खान आउने गरेको बताउँछन्, निरज मालाकार

मालाकार नारायण दाइका जेठा ज्वाइ हुन्। २०५० सालमा नारायण दाइको मृत्युपछि उनले नै यो व्यवसाय सम्हाल्दै आएका छन्।

निरज मालाकार आफैं पनि ७, ८ वर्षको हुँदादेखि नै बुवासँग नारायण दाइको मोमो पसल पुग्थे। त्यसै क्रममा नारायण दाइका ६ जना छोरीमध्ये एकसँग उनको माया बस्यो। दुबैले विहे गरे। अहिले उनी आफैं नारायण दाइको मोमो पसल सम्हाल्छन्।

असनको मासंगल्लीबाट सुरु भएको नारायण दाइको मोमो पसल अहिले वसन्तपुर, गौशाला चोक र बसन्तपुरकै झोछेँमा छन्।

काठमाडौंमा सबैभन्दा पहिले आरसि मोमो पसल खुलेको थियो। त्यसपछि नारायण महर्जनले मोमो बनाउन सुरु गरेका थिए। नारायण दाइको पसलमा पाकेको मोमोको वासना असनभर फैलिन्थ्यो। ग्राहकहरू मोमो खान ३ घण्टासम्म लाइनमा बस्थे। त्यतिखेर कुपन सिस्टम थियो। ३ घण्टा लाइन बसी १ रुपैयाँमा एक प्लेट मोमो पाइन्थ्यो।

एक प्लेटमा १२ वटा मोमो हुन्थ्यो। अहिले त्यही प्लेटकोे १ सय ५० पर्छ।

नारायण दाइको मोमो पसलमा बोसोरहितको मोमो पाइन्छ । दुई–तीन प्लेट मोमो खाए पनि असर नपर्ने ग्राहकहरू बताउँछन्। 

मालाकार भन्छन्, ‘म सानो छँदा नारायण दाइको मोमो पसलका ग्राहक थिएँ, अहिले आफैं सञ्चालक छु। तर, त्यो बेला जुन स्वादको मोमो पाइन्थ्यो, अहिले पनि त्यही स्वादको मोमो पाइन्छ। यसैले, हाम्रा ग्राहकहरू सधैं हाम्रैमा आइरहन्छन्।’

शानदार

नारायण दाइको मोमो पसल पहिले शानदार मोमो पसलका रुपमा चिनिन्थ्यो। स्वादिलो पसल सफा सुग्घर हुन्थ्यो। बस्ने ठाउँमा पनि सहज। नारायण दाइ मासु काट्नेदेखि किमा बनाउने र मोमो पेल्ने काम ग्राहककै अगाडि गर्थे। जसकारण धेरैले भन्थे – वाह, कस्तो शानदार मोमो पसल। यसरी पसको नाउँ नै शानदार रहन गयो।

कुनै दिन केही ग्राहकले आज मोमोको स्वाद अर्कै भयो, मीठो छैन भन्थे। ग्राहकबाट नकारात्मक प्रतिक्रिया आउने बित्तिकै नारायण दाइ सबै मोमो र अचार फ्याल्थे। र, नयाँ मोमो पकाउन थाल्थे। यसैले पनि नारायण दाइका ग्राहकहरू उनीप्रति लोयल बने, लोयल छन्। 

तर, बजारमा जताततै शानदार मोमो पसल खुल्न थाल्यो। यसैले, निरज मालाकार आफैंले २०५१ सालतिर यसको नाम राखे – नारायण दाइको मोमो पसल।

मालाकारलाई मोमो व्यवसाय गर्ने रुचि थिएन। तर, यो व्यवसाय सम्हाल्ने जिम्मा उनकै काँधमा आयो। ‘ससुराको मृत्यु भयो। सबै छोरीहरु पनि विदेश गए। यो पेशालाई श्री

मती र सालीले सम्हाल्न थालेपछि मैले सहयोग गर्नै पर्‍यो,’ उनले भने।

मालाकार पहिले बाहिरबाटै सहयोग गर्थे। श्रीमती र छोराछोरी बढी यसमा सक्रिय थिए। अहिले भने उनको सोच फेरिएको छ। भन्छन्, ‘म अब नारायण दाइको मोमो पसलको फ्रेन्चाइज विदेशसम्म पुर्‍याउँछु।’

उनले नेपाली कामदार बढी भएको देशमा मोमो पसल सञ्चालन गर्ने योजना रहेको बताए। भने, ‘नेपालमा नारायण दाइको मम खाएकाहरु अहिले बिदेश गएर सम्झिरहेका छन्। उनीहरुकै मागका आधारमा भए पनि विदेशमा मोमो पसल सञ्चालन गर्ने योजना बनाएको हुँ।’

 Published Date: Saturday, 17th August 12:38:43 PM