बिहीबार, साउन २९, २०७७

एमसीसी विवादले नेकपाभित्र दुई खेमा, सडकमै पुग्यो विरोध

काठमाडौं, पुस २२ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विवाद सडकसम्मै देखिन थालेको छ।

भुसको आगोजस्तै भित्रभित्र सल्किँदै गरेको उक्त विवादमा सिंगै पार्टीपंक्ति दुई खेमामा विभाजित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकासँग गरिएको एमसीसी अनुमोदनको पक्षमा रहँदा साविक माओवादीका नेता नेकपाकै केन्द्रीय सदस्य नारायण शर्माको नेतृत्वमा १७ सदस्यीय एमसीसी खारेजी संघर्ष समिति गठन गरिएको छ।

सम्झौताअनुसार, ५० करोड अमेरिकी डलर बराबरको उक्त सहायता आगामी असारदेखि कार्यान्वयनमा आउने छ तर त्यसका लागि नेपालको संघीय संसद्बाट अनुमोदन गर्नुपर्ने शर्त सम्झौतामा उल्लेख छ।

प्रधानमन्त्री केपी शर्मा ओली उक्त सम्झौतालाई संसद्बाट तत्काल पारित गर्नुपर्ने पक्षमा छन् तर एक वर्षअघि २०७५ माघ २५ गते नै सरकारले अनुमोदनका लागि संसद्मा प्रस्ताव दर्तासमेत गरिसके पनि तत्कालीन सभामुख कृष्णबहादुर महराले त्यत्तिकै थन्क्याइदिएका थिए। महराले थन्क्याएकोबाटै प्रष्ट हुन्छ– नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उक्त सम्झौताको पक्षमा छैनन्।

एमसीसीको विपक्षमा प्रचण्ड मात्र हैन, पार्टीका वरिष्ठ नेताद्वय पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल र माधवकुमार नेपाल पनि विपक्षमा छन्। नेपाल एमसीसी राष्ट्रहितविपरीत रहेको अभिव्यक्ति दिँदै देशव्यापी भ्रमणमा छन्। खनाल काठमाडौंमै बसेर एमसीसीले नेपालको हित नगर्ने बताइरहेका छन्।