शुक्रबार, असोज ९, २०७७

‘लकडाउन कोरोना नियन्त्रणको स्थायी समाधान होइन’

मुलुकमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। लकडाउन खुकुलो भएको छ तर जोखिम भने बढिरहेको छ। यस्तो अवस्थामा सबैले सजगता अपनाउनुपर्छ।

संक्रमितको संख्या बढिरहेको छ, सँगै निको हुने पनि थपिँदै गएका छन्। अहिलेसम्म १४ हजार ६०३ जना निको भइसक्नु भएको छ। निको हुनेको तथ्यांक हेर्दा नेपालमा त्यस्तो ठूलो संख्यामा सक्रिय केस छैन। 

तर, पनि सबैले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना भने गर्न जरुरी छ। यदि स्थास्थ्य मन्त्रालयको मापदण्ड पालना नगर्ने, समुहमा मानिसहरु भेला हुने, संक्रमित मानिसहरुले सतर्कता नअपनाउने, होम क्वारेन्टिनमा नबस्ने र व्यक्ति स्वयंले सावधानीका उपाय नअपनाउने हो भने कोरोनाको जोखिम बढ्छ। 

हामीले उपत्यका र बाहिरका जिल्लामा कोरोना परीक्षणको दर समेत बढाउँदै लगेका छौं। जहाँ बढी संक्रमित देखा परेका छन्, त्यहाँ परीक्षणको दायरा बढाइएको छ। आवश्यकता अनुसार संक्रमणको जोखिम उच्च भएका ठाउँलाई सिल गरिएको छ।

संक्रमितको संख्या थपिरहँदा बाहिर फेरि लकडाउन हुने हल्ला भइरहेको छ। तर, नेपालभर लकडाउन गर्ने विषयमा छलफल समेत भएको छैन। सम्भवतः अब नेपालभर एकैसाथ लकडाउन नहुन सक्छ। कुनै ठाउँमा ठूलो संख्यामा संक्रमण देखियो भने त्यहाँ निषेधाज्ञा जारी गर्ने हो। ताकि संक्रमण थप फैलिन नपाओस्। संक्रमणको चेन तोडिओस्। 

जोखिम उच्च रहेका ठाउँमा सिल नगर्दा बाहिरका मानिसहरु त्यो ठाउँमा जाने भए। सँगै जोखिम उच्च रहेका मानिसहरु उपत्यका पनि आउने भए। यसरी आवतजावत गर्दा संक्रमण फैलिने खतरा रहन्छ। आवतजातवको क्रम जारी रहँदा संक्रमण नियन्त्रण गर्न नसकिने अवस्था सिर्जना हुन्छ। त्यसैले त्यस्ता ठाउँ सिल गर्ने नीति बनाएका हौं। अहिले जहाँ–जहाँ सिल गरिको छ, त्यहाँ केही दिनमै संक्रमण नियन्त्रण हुने हाम्रो अनुमान छ। यदि अवस्था काबुबाहिर गए निषेधाज्ञा थपिन्छ। 

मैले भन्नै पर्र्ने महत्वपूर्ण कुरा के भने केही दिनअघि मात्रै हामीले १० हजार ७ जनासम्मको कोरोना परीक्षण गरेका थियौं। कतिपयले कोरोना परीक्षणको दायरा फराकिलो भएन भन्ने गरेका छन्। तर, दायरा बढाउनकै लागि जहाँको त्यही परीक्षण गर्ने भन्ने पनि हुँदैन। शंकास्पद र जोखिम उच्च रहेका ठाउँमा परीक्षणको दायरा बढाएका छौं। 

अहिलेको स्थितिमा भन्ने हो भने दैनिक ६ हजारको हाराहारीमा कोरोना परीक्षण भइरहेको छ। आवश्यकताका आधारमा परीक्षणको दायरा बढाउने हाम्रो नीति छ। हालै उपत्यका भित्रिने तीन वटा मुख्य नाकामा कुल १० हजार मानिसको परीक्षण गरेका थियौँ। त्यसले कोरोना संक्रमणको अवस्था पत्ता लगाउन सहयोग गरेको छ। नाकामा लिएको नमूनामा बाहिरी जिल्लाबाट आउने मानिसहरुमा कोरोना संक्रमण देखिएको छ। त्यसैले अहिले नाकामा कडाइ गरेका छौँ।

तर, नाकाबाट काठमाडौं भित्रिने मानिस सबैको कोरोना परीक्षण गर्न आर्थिक हिसाबले सम्भव छैन। त्यसैले जोखिमको अवस्था बुझ्न पाँच दिनमात्रै नमूना संकलन गरिएको हो। भदौ १ देखि लामो दूरीका सवारी सञ्चालन गर्ने निर्णय भइसकेको छ। लामो दूरीका सवारी सञ्चालन गर्दा हुने जोखिमबारे बुझ्न नाकामा गरिएको परीक्षणले सहयोग पुर्‍याएको छ। यातायात तत्काल खोल्न सकिन्छ वा सकिँदैन भनेर बुझ्न पनि यसरी परीक्षण गरिएको हो। 

भारतबाट आउने मानिसको हकमा सीमामै क्वारेन्टिन बनाइएको छ। जो मानिस नेपाल भित्रिन्छ, ऊ अनिवार्य क्वारेन्टिनमा बस्नुपर्छ। संक्रमित क्षेत्रबाट आउनेलाई पनि कन्ट्रोल मेकानिजम तय गरेर आवश्यक व्यवस्थापन गर्ने तयारी भइरहेको छ। गाडीलाई पास दिँदा निश्चित सवारीलाई मात्र दिने, सवारी रातिको समयमा सञ्चालन गर्न नपाउने लगायतका विषय समेटेर नयाँ मापदण्ड बनाएका छौं। 

लकडाउन खुलेपछि मानिसको आवतजावत बढेको छ। यसले जोखिम त बढेको छ। तर, पनि अब समस्याको समाधान फेरि लकडाउन गर्नु होइन। सबैले आवश्यक सतर्कता भने अपनाउनै पर्छ। भदौ १ देखि लामो दूरीका सवारी सञ्चालन गर्ने भनिएपनि लकडाउन अगाडि जस्तै गरी सञ्चालनमा आउँदैनन्। आधा यात्रुमात्र राख्ने, मास्क र स्यानिटाइजरको अनिवार्य व्यवस्था, सवारी डिसइन्फेक्ट गर्ने लगायतका मापदण्ड पूरा गरेका सवारीलाई मात्र सवारी सञ्चालनको अनुमति दिइनेछ।

यदि लापरवाही गर्ने हो भने संक्रमण बढ्छ र यातायात सञ्चालनमा रोक लगाउनुपर्ने अवस्था आउन सक्छ। संक्रमण बढेमा यातायात सञ्चालनमा रोक लगाउने आवश्यक तयारी भइरहेका छन्। तर, यसको मतलब देशभर लकडाउन हुन्छ भन्ने चाहिँ होइन। संक्रमण फैलिन नदिन हामी सबै सजग र सतर्क हुन जरुरी छ। 

(कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का सचिव गुरागाईंसँग सोनी शाहीले गरेको कुराकानीमा आधारित)
 

 Published Date: Monday, 3rd August 2020 9:49:10 am