आईतबार, फागुन ११, २०७६

आमाको किरिया बस्दा पशुपतिबाट हराएको त्यो मोबाइल...

काठमाडौं, माघ ३ : हिन्दूहरुको आस्थाको केन्द्र हो– पुशपति नाथ मन्दिर । नेपाल र भारतीय तीर्थलुहरुको बाह्रै महिना पशुपतिमा भीडभाड हुन्छ । तर आस्थाका लागि पुशपति पुग्नेहरु यहाँ अलिकति पनि सचेत भएनन् भने उनीहरुले केही गुमाउनु पर्ने हुन सक्छ।

सामान्य चोरी र पकेटमार मात्रै होईन, यहाँको किरियापुत्री भवनहरुमा समेत चोरी बढ्न थालेको पीडितहरुको गुनासो छ। गौशला प्रहरीका अनुसार पुशपतिमा चोरी भयो भनेर दैनिक २०/३० वटा निवेदन पर्ने गरेको छ। 

बानेश्वरका ३५ वर्षिय बसन्त केसी केही हप्ता अघि आमाको काजकिरियाका लागि पशुपति क्रियापुत्री घरको २ नम्वर कोठामा थिए। आमा गुमाउदाको पीडा भएका बेला कोठा भित्रैबाट समान चोरी होला भन्ने उनले सोचेका पनि थिएनन्। तर भयो त्यस्तै । भर्खरै किनेको मोबाइला राती आँखा झिमिक्क गर्नै नपाउदै हरायो।   ‘किरिया बस्न आएको  ५ दिन भएको थियो । राती ११ बजेसम्म मोवाइल चलाएको थिए । हिटर बालिरहेको थिए । तातोले होला छोटो समयमा निदाएछु’ उनले काठमाडौं प्रेससँग भने, ‘राती १ बजेतिर बिउँझिए, मेवाइलमा समय हेरेर फेरि ढल्कीए, विहान उठ्दा त मोवाइल छैन।’

सिसा फुटेको महिनौसम्म मर्मत नगरिएको क्रियापुत्री भवनको झ्याल

वरपर हेरे । आफन्तलाई सोधे, खोई मेरो मेवाइल ? मनमनै सोचे, ‘यस्तो दुःखमा पनि कसले मोवाइल लुकाइदिएको होला ।’ तर, मोवाईल कोठाबाट चोरी भैसकेको रहेछ। 
बन्द कोठामा कसरी चोरी भयो भन्ने उनले सोच्न थाले । सँगैको झ्यालको एउटा सिसा हात छिर्ने गरी फुटेको रहेछ । ‘मोवाईल चोरी भएपछि बल्ल मैले सिसा फुटेको झ्याल देखे’ उनले भने, ‘किरियाबस्दा पनि चोरी होला भन्ने त सोचेकै थिईन, तर भयो त्यस्तै ।’

केसीले मोवाइल चोरी भएपछि आफन्तहरुलाई पशुपति विकास कोषमा सामान चोरी भएको निवेदन दिन पठाए । तर, उनीहरु निराश भएर फर्किए। ‘कोषका हाकिमहरुले आफ्नो सामानको सुरक्षा आफैं गनुपर्छ भन्ने ‘नेमप्लेट’ बढाएर  फर्काए’ उनले निराश हुदै भने, ‘मोवाइल सेटनै हराउदाभन्दा पनि त्यहाँ भएका निजि सूचना, फोटो र अन्य डाटाहरु मेरो लागि महत्वपूर्ण थियो ।’

कोषले भने किरियापुत्री भवनमा २४ सै घण्टा सुरक्षा नभएकाले क्रियापुत्रीहरु आफै पनि सचेत हुनुपर्ने बताउँछ । ‘क्रियाघरमा भेट्न जाने आफन्त र अन्य व्यक्तिहरुलाई जाँच गर्ने नियम छैन’ कोषका कार्यकारी निर्देशक धनश्याम खतिवडाले भने, ‘क्रिया घरमा बस्ने मानिसहरु आफैं सचेत हुनुपर्छ । किरिया घरमा आउँदा महंगो सामान लिएर नआउनको लागि पटक पटक हामीले अनुरोध गरिएका हुन्छौ।’ 

क्रिया घरको सुरक्षामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र कोषको गार्ड गरेर नियमित हेरचाह गर्ने काम भईरहेको बताएपनि त्यहाँ हुने चोरीको घटना भने घटेको छैन। 

‘किरिया घरमा मात्र कोषबाट दैनिक ५ जना सुरक्षाकर्मी खटाइएको हुन्छ’ खतिवडाले भने, ‘प्रहरीले बेलाबेलामा गस्ती पनि गर्छ तर पनि सचेतना आफैंले गर्नु राम्रो हुन्छ ।’
किरियापुत्री घरको रेखदेख गर्ने जिम्मेपारी पाएका कोषका कुमार थापा भने घरभित्रै चोरी भएको घटना यो पहिलो भएको दावी गर्छन्।

‘पहिलो पटक चोरी भएको कुरा बाहिर आएको हो’ उनी भन्छन्, ‘सामानको खोजी र अनुसन्धानका लागि गौशला प्रहरीलाई जिम्मा दिएका छौँ।’

  

 Published Date: Friday, 17th January 18:11:56 PM