शनिबार, चैत्र २२, २०७६

लकडाउनमा कलाकार : कोही व्यायाममा, कोही पुस्तक पढ्दै त कोही सिर्जना फुराउँदै

काठमाडौं, चैत १३ : चीनको वुहानबाट सुरुभएको कोरोनाभाइरसको त्रास विश्वभर छ। अहिले पूरै विश्वनै ठप्प जस्तै छ। नेपालमा पनि कोरोना भाइरस संक्रमणको त्रास बढेको छ।

फ्रान्सबाट आएका एक जनामा सोमबार कोरोनाभाइरसको संक्रमण पाइएपछि सरकारले मंगलबार बिहानदेखि एकसाताका लागि लकडाउन गरेको छ। यो एकसाता अत्यावश्यक कामबाहेक घरबाहिर निकस्न पाइने छैन। घर बसाइसमा के गर्दै छन् त सेलेब्रिटी? काठमाडौंप्रेसले केही सेलेब्रिटीलाई प्रश्न सोधेको छः

स्क्रिप्ट लेख्दै दीपकराज

हास्यकलाकार तथा निर्देशक दीपकराज गिरी एक महिनादेखि घरमै छन्। उनी चर्चित फिल्म छक्कापञ्जाको चौथो सिरिजको स्क्रिप्ट लेखिरहेका छन्। ‘म त एक महिनादेखि घरमै बसिरहेको छु,’ उनले ठट्यौली पारामा भने, ‘पहिला पनि क्वारेन्टाइनमै थिएँ, अहिले पनि क्वारेन्टाइनमै छु।’

उनी स्क्रिप्ट लेखनमै व्यस्त छन्। ‘एक महिनायता अघिकांश समय घरमै स्क्रिप्ट लेखेर बिताइरहेको छु, जानै पर्ने काममा मात्र बाहिर निस्कने गरेको थिएँ,’ दीपकले भने, ‘कोरोना भाइरसको महामारी फैलन नदिनँ सरकारले लकडाउन गरेको छ, अब निस्कने कुरै भएन। घरमै बस्नु हाम्रा लागि नै राम्रो हो।’

दीपकले घरमै बस्दा बोर भए युट्युबमा गएर प्राणायम र योग सिक्न पनि सुझाव दिएका छन्। उनले आह्वान गरेका छन्, ‘शरीरमा लाग्ने कोरोनालाई लकडाउन, मन र मस्तिष्कमा लाग्ने कोरोनालाई तह लगाउन योग ।’

अरुले चन्द्रमा, मंगल ग्रहमा पुगेर, विश्वकप जितेर रेकर्ड राखेका छन्, हामीले घरमै बसेर कोरोनाभाइरसलाई पराजित गर्दै रेकर्ड राख्नु पर्ने उनको भनाइ छ। उनले सामाजिक सञ्जालमार्फत सकारात्मक सन्देश फैलाउन पनि सुझाए।

घरको काम र सामजिक सञ्जालमा व्यस्त रेखा

सरकारले लकडाउनको घोषणा गर्नुअघिदेखि नै नायिका तथा निर्मात्री रेखा थापा घरबाहिर निस्कन छाडेकी थिइन्। विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि सतर्कता अपनाउँदै तीन –चार दिन अघिदेखि आफू घरमै बसिरहेको रेखाले बताइन्।

लकडाउनमा रेखा अहिले घरमा एक्लै छिन्। आमा गाउँ गएपछि एक्लै भएकी हुन्। एक्लै हुँदा पनि समय गएको पत्तै नहुने उनले बताइन्। ‘एक्लै छु, बिहान उठ्यो सरसफाइ गर्‍यो। एकछिन व्यायाम गर्‍यो, खाना पकायो खायो। भाँडा माझ्यो, फेरि सफाइ गर्‍यो, दिन बितिहाल्छ,’ रेखाले आफ्नो दैनिकी सुनाइन्, ‘समय बच्यो भने सामाजिक सञ्जाल चलाउँछु, समाचारहरूमा अपडेट हुन्छ। समय कटाउन धेरै सोच्नु परेको छैन।’

लकडाउनको समयमा बाहिर ननिस्कन रेखाले सबैलाई आग्रह गरेकी छिन्, ‘यो हाम्रै स्वास्थ्यका लागि हो, घरमै बसेर आफू र आरुलाई कोरोनाभाइरसबाट बचाउनुहोस्।’ रेखाले समाजिक सञ्जालमा सकारात्मक र विश्वसनीय कुराहरू लेख्न सयर गर्न अपिल पनि गरेकी छिन्।

योगा र पूजापाठमा व्यस्त दीपा

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशभर लकडाउन गरेपछि कलाकार तथा निर्देशक दीपाश्री निरौला घरमै बसिरहेकी छिन्। उनले योगा र पूजापाठमा आफ्नो दिन बितिरहेको बताइन्। ‘बिहान उठेपछि केही समय योग गर्छु, पूजापाठ गर्छु,’ उनले भनिन्, ‘खाना खाइसकेपछि दिउँसो फिल्म हेर्छु। गीत÷संगीत सुन्छु। सामाजिक सञ्जाल चलाउँछ, सकारात्मक, चेतना फैलाउँने कुरा भेटिए सेयर गर्छु।’

कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि उनी दुःखी छिन् र सचेत पनि। उनले योवेलामा घरमै बसेर सकारात्मक कुरा सोच्न र सचेतता अपनाउन आग्रह गरेकी छिन्।

कोरोनाको त्रासले दुःखी भएपनि परिवारलाई समय दिन पाएकोमा भने दीपा खुसी छिन्। ‘अरुवेला काममै बिजी भइन्थ्यो, घरमा कतिखेर आउने पनि टुंगो हुँदैनथ्यो,’ उनले भनिन्, ‘त्रास त छ, तर पनि परिवारलाई समय दिन पाएको छु, एकहिसाबले खुसी पनि छु।’

व्यायाममा व्यस्त वर्षा

सरकारले लकडाउन गर्नुअघि नै नायिका वर्षा शिवाकोटी घरमै क्वारेन्टाइनमा थिइन्। उनले घरमै बसेर व्यायाम गर्दै दिन बिताइरहेको बताइन्। ‘धेरैपछि फुर्सदको समय पाएको छु। घरमै यसलाई सदुपयोग गरिरहेको छु,’ उनले भनिन्, ‘बिहान व्यायाममा बिताउँछु। त्यसले दिनभरि शरीर र दिमाग दुवैलाई फुर्तिलो बनाउँछ।’

अन्य समयमा फिल्म हेर्ने, सामाजिक सञ्जाल चलाउने र परिवारका सदस्यसँग कुरा गर्ने गरेको उनले बताइन्। नायिका वर्षाले फेसबुकमा आफ्नो व्यायाम गर्दै गरेको भिडियो पोस्ट गर्दै फुसर्दमा व्यायाममा पनि ध्यान दिन आग्रह गरेकी छिन्।

छोरीसँग भुल्दै प्रमोद

सरकारले घोषणा गरेको लकडाउनलाई साथ दिँदै गायक प्रमोद खरेल घरमै सिर्जनात्मक काम गरिरहेका छन् र परिवारका साथ समय बिताइरहेका छन्। बाहिरको काम र प्रोगामहरुमा व्यस्त हुँदा छोरीसँग खेल्न नपाएकाले अहिले छोरीसँगै दिन बिताइरहेको उनले बताए। र, धेरैपछि परिवारसँगै रमाउन पाएको खुसी भएको उनले बताए।

यो फुर्सदको समय संगीत सिर्जनामा पनि खर्चिएको उनले बताए। ‘परिवार सँगसँगै रियाजमा पनि पार्याप्त समय खर्चिएको छु,’ उनले भने, ‘फुर्सदमा केही नयाँ सिर्जनाबारे पनि सोचिरहेको छु।’

विगत एकसातादेखि अत्यावश्यक कामबाहेक प्रमोद घरमै बसेका छन्। घरमै बसेको वेला उनले शितल मोक्तानसँगै चेतनामुलक गीत ‘ब्रेक द चेन’मा आवाज दिएका छन्। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको शब्द र संगीत रहेको गीतले अहिले राम्रै चर्चा पाइरहेको छ।

पुस्तकसँग रमाउँदै केकी

कोरोना भाइरस संक्रमणका त्रास फैलिएपछि चार दिनदेखि नायिका केकी अधिकारी घरबाट बाहिर निस्किएकी छैन। कोरोनाबाट बच्नका लागि आफू शुक्रबारबाट घरै सावधानीका साथ बसेको उनले बताइन्।

धेरै समयपछि फुर्सदिलो समय मिलेकाले दिनहरू रमाइलोसँगै बितिरहेको उनले बताइन्। ‘पहिला काममै बिजी भइन्थ्यो, पछिल्लो समय कमेडी च्याम्पियनमा पनि धेरै बिजी भएँ। घरमै बस्न पाएहुन्थ्यो भन्ने पनि लाग्थ्यो,’ उनले भनिन्, ‘अहिले समय मिलेको छ र फुर्सदमा रमाइरहेको छु।’

दिन कटाउनका लागि आफू पुस्तक पढिरहेको केकीले बताइन्। साथै हेर्न मन लागेर पनि हेर्न नपाएका चलचित्रहरु पनि हेरिहरेको उनको भनाइ छ। उनले घरको सरसफाइमा पनि ध्यान दिइरहेको बताएकी छिन्। कोरोनाबाट सुरक्षित रहन घरमा बस्ने पनि उनले आग्रह गरेकी छिन। उनले भनिन्, ‘सेचतता अपनाउनुस्, अत्याश्वक काममा मात्रै बाहिर निस्कनुहोस्।’

फिल्म र समाचारमा भुल्दै दुर्गा

गायिका दुर्गा खरेल पनि लकडाउनमा बुढानिकन्ठस्थित घरमै सचेत भएर बसेकी छिन्। त्रासबीच पनि कामको टेन्सनबिना घरमै बस्दा आनन्द महसुस गरिरहेको उनले बताइन्। ‘प्रोगाम भन्यो, गीत रेकर्ड भन्यो, कुदिरहनु पर्थ्यो,’ उनले भनिन्, ‘केही समयदेखि बसिरहेको छु, फ्रेस भएको अनुभूत भएको छ।’

घरमा अधिकांश समय समाचार हेरेरै बिताउने गरेको उनले बताइन्। ‘घरमा आमासँगै समय बिताइरहेको छु, मन लागेको खानेकुरा बनाउँछु,’ गायिका दुर्गाले भनिन्, ‘त्यत्तिकै अल्छि लाग्यो भने फिल्म हेर्छु, पुस्तकहरु पनि पढ्छु, के भइरहेको छ भनेर अपडेट हुन धेरैचाहिँ समाचार नै हेर्छु।’
उनले जीवन नै सबैभन्दा ठूलो कुरा भएकाले आफू र परिवारलाई स्वस्थ राख्न घरबाट बाहिर ननिस्कन अपिल गरेकी छिन् ।

क्वारेन्टाइनबाटै लाइभ गर्दै दीपक

सात दिनअघि युरोप भ्रमणबाट फर्किएका दीपक ब्रजाचार्य अहिले क्वारेन्टाइनमा बसेका छन्। ब्यान्डका साथीसँगै क्वारेन्टाइनमा रहेका दीपक अहिले फेसबुक लाइभमार्फत गीत सुनाउँदै लकडाउनमा रहेकाहरुलाई मनोञ्जन दिइरहेका छन्।

कोरोनाभाइरसका कारण त्रसित बनेका दर्शकलाई अलिकति भएपनि खुसी दिन आफूले फेसबुक लाइभ सुरु गरेको उनले बताए। ‘त्यसै के बस्ने केही गरौं भन्ने लाग्यो, त्यसैले फेसबुक लाइभमा गीत गाउँदै दर्शकलाई खुसी दिने प्रयास गरेका हौं,’ उनले भने, ‘हाम्रो सानो प्रयासले अरुलाई खुशी बनाउन सकिन्छ भन्ने आशा छ।’ उनले क्वारेन्टाइनमा बसुन्जेल फेसबुक लाइभ चलिरहेन बताए।

परिवारसँग रमाउँदै झरना

नायिका तथा निर्मात्री झरना थापा लकडाउनमा परिवारसँग रमाइरहेकी छिन्। धेरै समयपछि फुर्सद पाएकाले परिवारसँगै घरमै दिन बिताइरहेको झरनाले बताइन्। ‘खाना बनायो खायो, परिवारसँग कुराकानी ग¥यो रमाइलो ग¥यो, यस्तै त हो,’ उनले भनिन्।

फुर्सदको समयमा झरना टिभी हेर्ने, फिल्महरू हेर्ने पनि गरिरहेकी छिन्। केही सयम सामाजिक सञ्जालमा भुल्छिन् उनी। साथै सामान्य एक्सरसाइज र पूजापाठ पनि गर्ने गरेको उनले सुनाइन्।

परिवारसँग रमाइलो गरिरहे पनि कोरोनाभाइसबाट बच्न आफू सचेत भएको उनले बताइन्। उनले लकडाउनका समयमा घरमै सावधानिकपूर्वक बसेर कोरोनाविरुद्ध लड्न पनि आग्रह गरिन्।

 Published Date: Thursday, 26th March 11:58:49 AM