शनिबार, जेठ १७, २०७७

फिल्म क्षेत्रका १३ सय कामदारलाई छाक टार्नै मुस्किल

काठमाडौं, चैत २४ : लकडाउनपछि सेलिब्रेटीको दैनिकी त पढ्नु, सुन्नु र देख्नुभयो होला। उनीहरुलाई त्यहाँसम्म पुर्‍याउने चलचित्र प्राविधिकको दैनिकी भने पीडादायी छ। लकडाउनपछि अधिकांश चलचित्र प्राविधिकलाई भोकै बस्नुपर्ने अवस्था आएको छ। तर, उनीहरुले सहयाेग पाउन सकेका छैनन्।

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिन थालेसँगै नेपाली चलचित्र क्षेत्र पनि ठप्प भएको छ। सुटिङ रोकिएको छ भने अन्य कामकाज पनि बन्द भएका छन्।

चैत ११ देखि सरकारले लकडाउनको घोषणा गरेपछि भने सबै घरभित्रै छन् । दैनिक ज्यालादारी गरेर जिविका चलाउने मजदूर र विपन्नलाई साँझबिहानको छाक टार्न धौधौ छ । काँचको रंगिन दुनियासँग उठबस गर्ने चलचित्र प्राविधिक अवस्था झन दयनीय बन्दै गएको छ।

विपन्न र मजदूरलाई त स्थानीय, प्रदेश सरकार, संघसंस्था र मनकारी व्यक्तिहरुले सघाइरहेका छन्। तर, चलचित्र प्राविधिकका विषयमा त कसैलाई जानकारी समेत छैन। उनीहरुसँगै दैनिक उठबस गर्ने कलाकारले वास्ता नै गरेका छैनन् । ‘लकडाउन छ, घर जान सकिँदैन्। कमाइ छैन, भएको पैसा सकियो। म त भोकै पनि बस्थे, परिवारलाई कसरी पाल्ने चिन्ता छ,’ लाइट म्यान सन्तोष पराजुली भन्छन्।

सन्ताेष पराजुली।

काँभ्रेको पाँचखाल नगरपालिका–५ का सन्तोष काठमाडौंमा बस्दै आएका छन्। १६ वर्षदेखि चलचित्र क्षेत्रसँग आवद्ध उनी लाइट म्यानका रुपमा काम गर्दै आएका छन्। पत्नी र छोरीसँगै काठमाडौंमा बस्दै आएका उनी भन्छन्, ‘भएको पैसा सकियो। भोकै बस्नुपर्ने अवस्था छ।’

उनको अर्को समस्या पनि छ। २०७१ मा महेश बुढाथोकी निर्देशित चलचित्र ‘स्टार’को सुटिङ चलिरहेको थियो। कोटेश्वरस्थित गोठाटारमा बसको छतमा उनी सामान मिलाउँदै थिए। अर्को बसले ठक्कर दिँदा उनको टाउकोमा गहिरो चोट लाग्यो। ‘दुई दिनसम्म बेहोस भए। तेस्रो दिन होसमा आउँदा टाउँकोमा १७ टाँका लागेका थिए,’ उनी सम्झन्छन्।

त्यो समस्या पनि अझै राम्ररी निको भएको छैन। कहिले काँही टाउँको दुख्छ पनि। त्यतिवेला समेत सहयोग नपाएको उनको अनुभव छ। ‘हिरोहिरोइन त के आउँथे, चलचित्र प्राविधिक संघका अध्यक्षसमेत अस्पतालमा भेट्न आएनन्,’ उनी सम्झन्छन्। अहिले त कसले सहयोग गर्थे र उनीहरुलाई।

एउटा फिल्म बनाउन निर्माता, निर्देशक, अभिनेता, अभिनेत्रीबाहेक पनि थुप्रै मान्छे हुन्छन्। त्यसमा काम गर्ने स्पटबोय, लाइटम्यान, कुक, मेकअप, ड्रेस डिजाईनरदेखि क्यामरामेन, एडिटरसम्मको एउटा संस्था छ, नेपाल चलचित्र प्राविधिक संघ।

चलचित्र प्राविधिक संघले चलचित्रमा काम गर्नेको ज्याला निर्धारण गरेको छ। जसमा जुनियरदेखि सिनियरसम्म दुई हजारदेखि दुई हजार पाँच सयसम्म निर्धारण गरेको छ। त्यो अनुसार, निर्माताले दैनिक ज्याला त दिदैनन् नै, अहिलेजस्तो काम बन्द भएको वेला पनि सघाउँदैनन्।

सन्तोषले पनि चलचित्रमा काम गर्दा दैनिक एक हजार पाँच सयदेखि दुई हजार रुपैयाँसम्म कमाउँछन्। एक दिन काम गरे, अर्को दिन खाली बस्नुपर्छ। त्यसरी जोगाएको पैसा पनि अहिले सकिएको बताउँछन्, उनी। ‘हाम्रो कामको न दिन हुन्छ न रात जुन बेला पनि काम गर्नुपर्छ,’ सन्तोष भन्छन्, ‘अहिले त यतिका दिन भयो काम छैन। खानै गाह्रो भएको छ।’

उनलाई स्थानीय सरकारले पनि सघाएको छैन। अरु कामदारजस्तै चलचित्र क्षेत्रमा काम गर्ने कामदारलाई पनि सरकारले सहयोग गर्नुपर्ने उनकाे भनाइ छ।

सन्तोषजस्तै पर्दा पछाडि काम गर्ने चलचित्र प्राविधिक एक हजार तीन सय छन्। उनीहरुमध्ये अधिकांशको अवस्था उस्तै छ। लकडाउनले हातमुख जोर्न समस्या भएको उनीहरु बताउँछन्।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा पनि अधिकांश चलचित्र प्राविधिकको पीडा उस्तै भएको बताउँछन्। ‘संघमा आवद्ध धेरै कामदारको अवस्था दयनीय छ,’ अध्यक्ष लामा भन्छन्।

उनी चलचित्र प्राविधकलाई सघाउन प्रयास गरिरहेको बताउँछन्। ‘राहत कोष खडा गरेर खाद्य सामग्री जुटाउने कोसिस गरिरहेको छु,’ अध्यक्ष लामा भन्छन्, ‘खाद्य सामग्री सहयोगका कलाकारहरुसँग कुराकानी गरिरहेको छु।’

 Published Date: Monday, 6th April 10:54:04 AM