मंगलबार, असार ३, २०७६

एकल महिलासँग सङ्गत गर्नु सरुवा रोग लागेका मानिस नजिक जानु झैं थियो

लिली थापा। | तस्वीर:रिवाज राई

विहे हुँदा म १७ वर्षकी मात्रै थिएँ। २९ वर्ष पुग्दा श्रीमानकाे साथ टुटिसकेको थियो। म एकल महिला भइसकेकी थिएँ।

काठमाडौंकी र पढेलेखेकी भएकीले हुँला,  आर्थिक–शारीरिक हिंसा भोग्नु परेन। तर, मानसिक–सामाजिक हिंसा धेरै सहनुपर्‍यो।

श्रीमान हुँदा श्रीमानको परिवारले मलाई आदर गर्थ्याे। श्रीमान बितेपछि अचानक अलच्छिना भएँ। चाडबाँड मनाउन पाइनँ। सार्वजनिक ठाउँमा जान पाइनँ। ८ वर्षसम्म सेतो लुगा लगाएर घरै बसेँ।

श्रीमान बितेपछि परिवारका सबैले ममाथि अविश्वास गर्न थाले। म उमेरदार नै थिएँ। श्रीमानको सम्पत्ति सोहरेर अर्कैसँग भाग्छे कि भन्ने शङ्का परिवारजन र आफन्तको थियो।

मानसिक हिंसाको पीडा यति चर्को थियो कि बाँच्न सक्दिनँ होला जस्तो लाग्थ्यो। बाँच्ने आत्मबल मरे झै हुन्थ्यो। तर, बच्चाहरू सानै थिएँ। बच्चाका लागि पनि जिउनुपर्छ जस्तो लाग्यो।

लिली थापा।

एक दिन गोदावरी बस्ने एकजना बहिनीसँग मेरो भेट भयो। उनका पनि श्रीमान रहेनछन्। देवरबाट दिनदिनै हिंसा भोगिरहेकी रहेछिन्।

मलाई लाग्यो – मजस्तै हिंसा भोग्ने एकल महिला अरु पनि रहेछन्। मलाई आफ्नोभन्दा बढी चिन्ता तिनै बहिनीको लाग्न थाल्यो। उनलाई कसरी सहयोग गर्ने,कसरी जोगाउने भन्ने सोच्न थालेँ।

अझै सोचेँ – काठमाडौंमै त एकल महिलाले यस्तो हिंसा सहनुपरेको छ भने गाउँका एकल महिलाको अवस्था कस्तो होला?

त्यसपछि मैले वरपरका एकलमहिलालाई भेला पार्न थालेँ। हामी एक–अर्काका दुःख आपसमा बाँड्थ्यौँ।

मैले विद्यालय चलाउन थालेकी थिएँ। हामी हरेक आइतबार एकदिन त्यही विद्यालयमा भेला हुन्थ्यौँ। भलाकुसारी गर्थ्याै‌ं। आ–आफ्ना दुःखका कुरा सुनाउँदै रुन्थ्यौँ। बाहिर अरूले सुन्लान् कि भनेर झ्याल–ढोका बन्द गर्थ्याै‌ं।