मंगलबार, असोज १३, २०७७

‘भारत र नेपालमा कुनै धर्म वा जातका मानिसलाई मात्रै विशेष ठान्ने परम्परा राज्यले बन्द गर्नुपर्छ’

-ब्य्रानडाइस युनिभर्सिटीको प्रशासनले जातीय विभेदविरुद्धको नीति अख्तियार गरेको छ। यो नीति अपनाएपछि युनिभर्सिटीमा के प्रभाव पर्‍यो ?

अमेरिकामा जातीय विभेद लुप्त किसिमको समस्या हो। दक्षिण एसियाका मानिसहरुले भोगेका पीडाको उठान नभएसम्म अमेरिकीहरुले यसको मेसो नै पाउँदैनन्। उनीहरुलाई जातीय विभेदबारे नै ज्ञान छैन। ब्य्रानडाइस युनिभर्सिटीले जातीय विभेदविरुद्धको नीति किन अपनायो भन्ने बुझाउनका लागि म थोरै इतिहासतर्फ फर्किन चाहन्छु।

हालसालै हामीले अमेरिकामा जर्ज फ्लोइडको हत्यापछि ठूलो आन्दोलन देखेका छौँ। तर सीमान्तकृतप्रति भएको दमनको इतिहास निकै लामो छ। १६१९ मा जब पहिलोपटक भर्जिनियामा दास प्रथा सुरु भयो। त्यो प्रथा २ सय ५० वर्षसम्म चल्यो। दास प्रथालाई लिएर गृहयुद्ध पनि भएको थियो। युद्धताका आफूहरुको अधिकार स्थापित गर्नका लागि अश्वेत वर्णका मानिसहरु सफल हुँदै गएका थिए।

तर उनीहरुलाई शोषण गर्न पल्किएका श्वेत वर्णका मानिसहरुले नीतिगत रुपमै दास प्रथालाई मान्यता दिए। अश्वेत वर्णका मानिसहरुलाई दास बनाएको कुरा श्वेत वर्णका मानिसका दिमागमा गाढिएर बसेको छ। अश्वेत वर्णका मानिसहरुले सामाजिक र आर्थिक रुपमा निकै प्रगति गरेपनि वर्णको आधारमा हुने विभेद श्वेत वर्णका मानिसहरुले अझै पनि विरासतका रुपमा लिने गरेका छन्। जर्ज फ्लोइड मारिनु पछाडिको कारण पनि यही हो।

विश्वविद्यालयभित्र रंगभेदको घटना नहोस् र  विश्वविद्यालमा सामाजिक विविधता समेत हुने भएकाले सबै समुदायले विभेदरहित वातावरण महसुस गर्न सकून् भन्ने उद्देश्यले हामीले विभेदविरुद्धको नीति अख्तियार गरेका हौँ। यसले निश्चय पनि रंगभेद र जातीय विभेद गलत रहेछ भन्ने मानसिकता कर्मचारी र विद्यार्थीहरुमा बनाएको छ।

-जातीय विभेदविरुद्धको नीति अपनाउन ब्य्रानडाइस के कुराबाट प्रभावित भयो ?

सन् १९४८ मा ब्र्यान्डाइस युनिभर्सिटी स्थापना भएको हो। हामीले जातीय र धार्मिक बहुलवादलाई समेत ध्यानमा राखेर  युनिभर्सिटी स्थापना गरेका थियौँ।  त्यसैले कुनै पनि जात वा धर्मका मानिसले विभेदको समाना गर्नु नपरोस् भन्ने हाम्रो उद्देश्य थियो। रंगभेद, वर्ग वा लिङ्गका आधारमा  गरिने विभेद अमेरिकी कानून अनुसार दण्डनीय हुन्थे। तर जातका आधारमा गरिने विभेदबारे अमेरिकी कानून मौन रहेकाले जातीय विभेद पनि दण्डनीय हुनुपर्छ भन्नका लागि हामीले जातीय विभेदविरुद्धको नीति अपनायौँ। यो नीति अख्तियार गर्नुअघि  हामीले जातीय विभेदका घटनाबारे अध्ययन गर्न कार्यदल पनि गठन गर्‍याैँ। 

एक वर्षसम्म अध्ययन गर्दा त्यस कार्यदलमा हामीले कुनै पनि लिखित गुनासो त पाएनौँ। तर दक्षिण एसियाली क्षेत्रका विद्यार्थीहरुले धेरै जातीय विभेद व्यहोर्नु परेको बयान भने हामीलाई दिएका थिए। तीनै बयान र जातीय विभेदलाई अमेरिकी कानून अनुसार दण्डनीय बनाउनुपर्छ भन्ने आवाज मुखरित गर्ने हाम्रो चाहनानै ब्र्यानडाइसमा जातीय विभेदविरुद्धको नीति अख्तियार गर्ने कारक बन्यो।

-अमेरिकामा जातीय विभेदका घटनाको अवस्था कस्तो पाउनु हुन्छ ?

सामाजिक विविधता भएको अमेरिकामा अहिले जातीय विभेदबारे धेरै बहस हुने गरेको छ। जातीय विभेदका घटना विस्तारै बाहिर आउन पनि थालेको छ। नेशनल पब्लिक रेडियोमा फिलिप मार्टिनले जातीय विभेदविरुद्ध धेरै एपिसोड चलाएका छन्। अहिले क्यालिफोर्नियमा रहेको सिस्को कम्पनीमा भारतीय मुलका अमेरिकी नागरिकले भोगेको विभेद बाहिर आएको छ।

र, यो घटना कानूनी प्रक्रियामा गएको छ। जातीय विभेद हाबी भएका कारण दलित समुदायका मानिसहरुले कम ज्याला पाउने, थोरै अवसर पाउने गरेको गुनासाहरु त सुनिएका थिए। तर उजुरी नपरेका कारण त्यसको वास्तविकतामा आशंका कायम भइरहको थियो। सिस्को कम्पनीमा भएको घटनाले अमेरिकामा पनि जातीय विभेदका घटना बढिरहेको छ भन्ने नजिर स्थापित भएको छ।

-जातीय व्यवस्था र विभेदप्रति तपाईंको धारणा के छ ?

सबैभन्दा पहिले हामी मानव हौँ भन्ने नुबुझ्नका कारण जात, वर्ग, धर्मका आधारमा समाज विभाजित भइरहेको छ।  सर्वप्रथम हामीले हाम्रो विभाजित मानसिकता त्याग्न जरुरी छ। कुनै पनि मानिस जातका कारणले ठूलो वा सानो हुँदैन। 

यो विगतमा अज्ञानताका कारणले भएको थियो। अहिले त मानिसहरु निकै शिक्षित भइसकेका छन्। यस्तो अवस्थामा पनि विगतकै विरासत कायम गर्न खोज्नु दुस्खद् छ। रंग वा जातका कारणले कोही कसैप्रति पनि विभेद हुनुहुँदैन। सबै मानव एकै हुन्। अमेरिकामा अझै पनि हुने रंगभेद र दक्षिण एसियाली मुलुकमा देख्न सकिने छुवाछूत तथा जातीय विभेद दुवै घृणित कार्य हुन्।

-रंगभेदविरुद्ध विश्वभर ब्ल्याक लाइफ म्याटर्सको ऐक्यबद्धता आउँदा दलित लाइफ म्याटर्स भनेर विश्वले ऐक्यबद्धता जनाउँदैन। यसको कारण के होला ?

तपाईंले निकै महत्वपूर्ण प्रश्नको उठान गर्नुभयो। भारतमा र नेपालमा दलित अधिकारका लागि धेरै कार्यक्रमहरु सञ्चालन भएका छन्। उनीहरुको हक अधिकार रक्षाका लागि निरन्तर आवाज उठिरहेको मैले पाएको छु। जातीय विभेदविरुद्धका घटना भएका अवस्थामा जुलुस तथा धर्ना पनि हुने गरेका छन्। ती घटना राष्ट्रिय स्वरुप त ग्रहण गरेको हुन्छ तर घटनाको अन्तर्राष्ट्रियकरण नहुँदा धेरै मानिसहरु बेखबर भएका हुन्छन्। 

अर्को कुरा रंगभेदबारेको इतिहास चार सय वर्ष पुरानो छ। बेलायती साम्राज्यका बखत यो दमन धेरैले भोगेका कारण ब्ल्याक लाइफ म्याटर्सको नारामा विश्वभरबाट ऐक्यबद्धता आएको हो। सबैका जीवन उत्तिकै प्रिय छन्। त्यसैले सीमान्तकृतको जीवन रक्षाका लागि, उनीहरुको अधिकारका लागि दलित लाइफ म्याटर्सको नारामा विश्वभरबाट ऐक्यबद्धता निश्चय पनि आउनुपर्छ। तर, त्यसका लागि जातीय विभेद के हो ? त्यसका असर कस्ता छन् ? भन्ने कुराको अन्तर्राष्ट्रियकरण भने गर्न जरुरी छ।

-जातीय विभेद उन्मूलन गर्न के कस्ता नीति अबलम्बन गर्नुपर्छ रु तपाईंको सुझाव के  छ ?

बहुसांस्कृतिक मुलुक भारत र नेपालमा कुनै धर्म वा जातका मानिसहरुलाई मात्रै विशेष ठान्ने र अवसर दिने परम्परा राज्यले बन्द गर्नुपर्छ। प्रजातान्त्रिक सिद्धान्त अनुसार राज्य चलाएपछि सबैको आत्मसम्मानको ग्यारेन्टी गर्ने दायित्व राज्यको हो।

कुनै विशेष धर्मलाई राज्यले संरक्षण गर्ने र कुनै जात विशेषका मानिसलाई मात्रै अवसर दिने क्रियाकलाप कालान्तरमा निकै घातक साबित हुनेछ। राज्य सबैको अभिभावक हो। त्यसैले सबैलाई समान व्यवहार गर्नुपर्छ। म श्रीलंकाको उदाहरण दिन चाहन्छु- श्रीलंकाले २८ वर्ष लामो गृह युद्ध व्यहोर्नुपर्‍यो। तमिल टाइगरको विद्रोह उनीहरुविरुद्ध भएको विभेदका कारणले थियो। 

२५ सय वर्षदेखि श्रीलंकामा रहेको तमिल समुदायमा भएको विभेद उनीहरुले सहन सकेनन् र आफ्नो अधिकारका लागि विद्रोह नै गर्नुपरेको थियो। त्यसैले जातीय विभेदका घटना रोक्न राज्यले आफ्ना नियमको कडा पालना गर्नुपर्छ। सबैलाई अवसर दिनुपर्छ र कुनै जात वा धर्मविशेषलाई संरक्षण दिने काम राज्यले गर्नु हुँदैन।

(ब्य्रानडाइस युनिभर्सिटीका प्राध्यापक लरेन्सले अमेरिकामा हुने जातीय विभेदविरुद्धका घटनाको एक वर्षसम्म अध्ययन गरेका थिए। उनी जातीय विभेदलाई समेत अमेरिकाले कानूनी दायरामा ल्याउनुपर्ने मत राख्छन्। त्यसका लागि लरेन्सले अभियान चलाइरहेका छन्। दलित लाइभ्स म्याटर नेपालमा समता फाउण्डेशनका अध्यक्ष प्रदीप परियारले प्राध्यापक लरेन्ससँग गरेको काष्ट कन्भरसेशन सिरिजको अन्तर्वार्ता)
 

 Published Date: Monday, 10th August 2020 2:20:17 pm