बिहीबार, असोज ३०, २०७६

को हुन् त लाखय्- राक्षस कि शान्तभैरव ?

| तस्वीर:रिवाज राई

जात्रामय काठमाडौं। इन्द्रजात्राको रौनकमा काठमाडौंवासी चुर्लुम्मै डुबेका छन्। दिनहुँ विभिन्न साँस्कृतिक गतिविधिहरु निरन्तर भइरहेका छन्। विभिन्न बाजाका ताल र बोलले काठमाडौंको साँस्कृतिक सुन्दरतालाई अझ निखार्दै लगेको छ। 

झ्याली र धिमेको तालसँगै घङ्खलाको पनि आवाज सुनिन्छ, ‘छङ छङ छङ छङ छङ।’ कोही बालबालिकाहरु भने डराए, ‘अय् यो त राक्षस आएको हो, भागौं भागौं।’ कोही भने घङ्गलाको छङ छङसँगै बाहिर कुद्न आतुर भइसके, ‘छिटो जाउँ छिटो जाउँ, लाखय् आजु हेर्न जाउँ।’

हो, लाखय् आजु, इन्द्रजात्राको विभिन्न साँस्कृतिक गतिविधि र पात्रमध्ये एक हुन्, लाखय् आजु। आजु अर्थात पूर्खा। कसैले यसलाई राक्षस भन्ने गरेका छन् भने काठमाडौंवासीको लागि यी हुन्, लाखय् आजु, आफ्नो रक्षक, आफ्नो क्षेत्रको क्षेत्रपाल शान्त भैरव।

नेपालभरमा एक मात्र होइन, विभिन्न लाखय्हरु छन्। सोलु, दोलखा लगायतका नेपालका विभिन्न स्थानमा लाखय् निकाल्ने चलन छ। यसको साथमा गुंलाको समयमा विभिन्न स्थानमा लाखय् निकाल्ने चलन छ। ललितपुरमा मिप्वाः लाखय् निकालिन्छ। मजिपाः लाखय् भने इन्द्रजात्राको समयमा मात्र निकालिने गरिन्छ। 

आमजनसमुदायलले लाखय् भन्नेवित्तिकै इन्द्रजात्रामा निकालिने काठमाडौंको लाखय् नै सम्झिने गरेका छन्। इन्द्रजात्राको लाखय्लाई मजिपाः लाखय् पनि भनिन्छ। काठमाडौंको मजिपात टोलबाट निकालिने लाखय् भएकाले नै मजिपाः लाखय् भनिएको हो। लाखय् आजुको नाम लाखय् रहन गएकोमा दुईथरि जनश्रुति समाजमा प्रचलित छ। 

भाषाविज्ञानको दृष्टिकोणले लाखय्लाई राक्षस भनेर व्याख्या गर्न सकिन्छ। स्थानीय नेपाल भाषामा ‘र’ वर्ण नभएको अवस्थामा ‘र’ लाई ‘ल’ वर्णमा रुपान्तरण गरेर उच्चारण गरिन्छ। त्यसैगरी क्ष लाई ख उच्चारण गरियो। ह्रस्व प्रधान नेपालभाषामा कैयन शब्दहरुमा पछाडिका अक्षर बोलीचालीमा लोप हुन गएर दीर्घ बन्न पुगे। यस्तो अवस्थामा ‘स’ वर्ण लोप हुने स्थानमा ‘य्’ ले स्थान पायो। यस प्रकार राक्षस – लाखस – लाखय् बन्न गएको भन्ने भाषाविद्हरुको भनाइ रहेको छ।

संस्कृति अध्येता, अनुसन्धाता कुमार रञ्जीत पनि लाखय् भनेको राक्षस नै भएको बताउँछन्। राक्षस शब्द नै आम बोलीचालीको भाषामा लाखय् बन्न गएको तर्क रञ्जितको पनि रहेको छ। ‘राक्षसबाटै लाखय् बनेको हो भनेर त धेरैले भनेको छन्। तर लाखय् घर भएको लाखय् ननिमै राक्षस शब्दको उल्लेखसहितको शिलापत्र नै भेट्टिएको छ। नेपाल सम्वत ९३५ को उक्त शिलापत्रमा राक्षस ननि भनेरै लेखिएको छ’ रञ्जितले भने।

यसका साथै लाखय् शब्द वा नामको सम्वन्धमा अर्को एक प्रसङ्ग पनि समाजमा प्रचलित छ। वर्षेनी लाखय् आजु बन्दै लाखय् संस्कृतिलाई निरन्तरता दिँदै आएका लक्ष्मण रञ्जित भने लाखय् शब्दलाई मासु र अण्डासँग जोडेर व्याख्या गर्छन्।  

‘हाम्रो नेपाल भाषामा मासुलाई ‘ला’ र अण्डालाई ‘ख्येँय्’ भनिन्छ। मासु (ला) र अण्डा (ख्येँय्) खाने भैरव भएकोलाई ला ख्येँय् भनिएको र यही शब्द बोलीचालीको भाषामा लाखय् हुन गएको हो’ लक्ष्मणको भनाइ छ।

नामको चर्चा पछि अब लाखय्को इतिहासलाई पनि एकपल्ट खोतलौं। हाम्रा धेरै जात्रा पर्व, संस्कृतिको इतिहास समाजमा प्रचलित जनश्रुतिले नै बोकेको छ। यथेष्ट प्रमाणका आधारमा यकिन इतिहास बताउन निकै गाह्रो अवस्था छ। लाखय्को इतिहास पनि यस्तै बनेको छ। लाखय्को इतिहास खोतल्दा पनि विभिन्न किम्वदन्तीहरु हाम्रो अगाडि आउँछ।

एकथरि किम्वदन्ती अनुसार काठमाडौं जैसीदेवलसँगै जोडिएको क्वहिटी टोलमा एउटा ज्यापू परिवार थियो। खेतीकिसानी गरेरै जिविका चलाउनुपर्ने परिवारमा आमाबुबा अशक्त भइसकेको हुँदा एक्ली छोरी हल्चोक गएर  खेतीपाति गर्ने गर्थिन्। एकदिन एक युवक आएर किसानकी छोरीलाई सघाए। त्यो युवक दिनहुँ किसानकी छोरीलाई सघाउन आउन थाल्यो। यसरी नै दुवैबीच प्रेम बस्न गयो। 

आफ्नी प्रेमिका भेट्न उक्त युवक रातिराति क्वहिटी घरमै आउन थाल्यो। दिनहुँ यसो भइरहँदा टोल छिमेकको आँखामा पनि यो कुरा पर्न गयो। यो युवक को रहेछ भनेर बुझ्दा त्यो त एउटा राक्षस पो रहेछ। छिमेकीहरुले सारा इतिवृतान्त आामाबुबालाई सुनाइदिए।

एक रात आमाबुबा र छिमेकी मिलेर एउटा सन्दुकमा युवती जस्तो देखिनेगरी पुत्ला बनाएर सन्दुकभित्र राखिदिए। युवक रुपी राक्षस आएर आफ्नी प्रेमिका भन्ठानेर सन्दुकभित्र जानेवित्तिकै सबै मिलेर सन्दुक बन्द गरेर उसलाई भित्रै थुनिदिएछन्। त्यसपछि आफू राक्षस भएपनि शान्तभैरवकै रुप भएको र कसैलाई दुःख नदिई सबैको रक्षा गरी बस्ने बाचा गरे तर आफ्नी प्रेमिकालाई छोडेर भने जान नसक्ने पनि बताए। 

सोही समयतिर हैजा फैलिएछ। हैजा निर्मुल गरिदिन सबैले राक्षसरुपी भैरवलाई अनुरोध गरे। त्यसपछि शान्त भैरव चिकंमुगल दोबाटोमा तीन पटक र जैसीदेगल दोबाटोमा तीन पटक उफ्रिदिएछन्। त्यसपछि हैजा पनि निर्मुल भएछ र रोगव्याधी, विभिन्न संकट आदिबाट रक्षाका लागि वर्षेनी शान्तभैरवको जात्रा निकालिने गरियो। 

लक्ष्मण भने यसलाई एक दन्त्य कथा मात्र भएको मान्छन्।  यो लाखय् आजुको इतिहास नभएको दाबी लक्ष्मणको छ। लक्ष्मणले लाखय् आजुको नेपाल आगमनको विषयमा अर्कै प्रसङ्ग सुनाए।

‘लाखय् आजु त तलेजु भवानीसँगै नेपाल आएका शान्तभैरव हुन्। नेपालमा अनिकाल हुँदा जब तलेजु भवानी ल्याइयो, उनै भवानीसँगै शान्तभैरव नेपाल आएका हुन्’ लक्ष्मणले ज्यापुकी छोरीको प्रेमकथालाई अस्वीकार गर्दै भने।

तलेजु भवानीको नेपाल आगमन र लाखय् आजुको सम्वन्धमा रहेको किम्वदन्ती पनि जानकारी लिउँ। राजा गुणकामदेवको पालामा ठूलो अनिकाल भएछ। यो अनिकालबाट मुक्ति पाउन के गर्नुपर्छ भनी तान्त्रिकहरुलाई देखाउँदा तलेजु भवानीलाई नेपाल ल्याउनुपर्ने बताएछन्। तलेजु भवानीलाई नेपाल ल्याउन गुणकामदेवसहित तान्त्रिक आचार्य, गुरुजुहरु हिँडेछन्। महिनौं हिँडेपछि एउटा गुफामा पुगेछन्। उक्त गुफामा हजारौं ‘लाखय्’हरु थिए।

मान्छेहरु समेत खाँदै गरेको राक्षसहरु देखेर तान्त्रिकले चामलले हान्दै राक्षसहरुलाई छलेर अघि बढेछन्। त्यहाँबाट अगाडि फेरि एउटा विशाल गुफामा पुगेछन्। त्यहाँ राक्षसको रुपमा बसेका शान्तभैरवसँगै तलेजु भवानी विराजमान थिए। तलेजु भवानीलाई नेपालको दुःख सुनाइसकेर तलेजु भवानीले मेरो खड्ग लिएर जाउँ भनेर आफूसँगै भएको राक्षसलाई नेपाल पठाइदिए।

उताबाट फर्किँदै हालको सानेपा कालो पुल पुगेछन्। राक्षसले नगरभित्रका मान्छेहरु खाइदिने डरले राक्षसलाई त्यतै छोडेर तलेजु भवानीको खड्गलाई नगर भित्र्याएर यहाँ स्थापना गरियो।  महिनौंपछि सानेपामा हेर्न जाँदा राक्षस त त्यहीँ कुरेर बसिरहेको थियो। अब तिमी फर्के हुन्छ भन्दा राक्षसले आफू  नफर्किने र तलेजु भवानीको खड्ग रक्षा गरेर बस्ने बताए। बरु आफू शान्तभैरवको रुप भएको बताएर मासु र अण्डामात्र खाएर मान्छेहरु नखाई नगरबासी सबैको रक्षा गरेर बस्ने बताएपछि ‘लाखय्’लाई नगरमा भित्र्याइयो।

विगतमा मजिपाः लाखय् परम्परालाई मजिपातका रञ्जितहरुले मात्र निरन्तरता दिँदै आएका थिए। तर अचेल धेरै रञ्जितहरु मजिपात छोडेर अन्य स्थानमा स्थानान्तरण भइसकेको र जातीय सोच पनि समाजबाट हराउँदै गएको अवस्थामा अन्य जातिकालाई पनि लाखय् बनाएर निकाल्न थालिएको छ।

यद्यपि लाखेननि लगायत चिकंमुगल दोबाटो, जैसीदेगल दोबाटो, ‘लाखय्’को पहिलो पूजा लिने राजभण्डारी चोक लगायतका मुख्य–मुख्य स्थानमा भने रञ्जित जातिका नै लाखय् बन्नुपर्ने परम्परा भने कायमै छ र इन्द्रजात्राको रौनक साथै नेपालको अनुपम संस्कृतिको रुपमा लाखय् हामी सबैको गौरव बनेकै छ।
 

 Published Date: Friday, 13th September 20:12:36 PM