बिहीबार, साउन २९, २०७७

जन्मेर कोखमा कसैको, हुर्कन्छ काखमा कसैको

केही दिन पहिले एउटी बच्चीको तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो। कपन आकाशेधारास्थित झाडीमा बेवारिसे भेटिएकी नानीको मुहार हँसिलो र उज्यालो थियो। जन्मदिने आमाबाटै त्यसरी मिल्काइएकी उनी अहिले केयर बालगृहको संरक्षणमा छिन्।

यो घटना सार्वजनिक भएपछि जुन कोणबाट बहस हुनुपर्थ्यो, त्यसो चाहिँ भएन। सामाजिक सञ्जाल दुई पक्षमा विभाजित भयो। एकथरीले ‘पापीनी आमा’, ‘निर्दयी आमा’, ‘आमाको नाममा कलंक’ आदि विशेषणका साथ आमालाई सरापे। अर्काथरीले चाहिँ आमाको विवशताप्रति सहानुभूति  जनाउँदै गुमनाम बाबुको उछित्तो काँटे।

तर, आफ्नै सन्तानलाई त्यसरी फाल्न उनका आमाबाबु किन विवश भए होलान्? ति को हुन्? यस्तो प्रवृत्ति समाजमा किन देखा परिरहेको छ? भन्ने प्रश्नमा गहन बहस चाहिँ भइरहेको छैन। बालगृहले संरक्षणमा लिएकाले सबैले थपडी बजाए। सायद प्रहरीले पनि उनका असली बाबुआमा को हुन् भन्नेबारे अनुसन्धानको टन्टा बिसाए। कुरो यतिमै सकियो।

मुलुकी अपराध संहिताको दफा १८४ (१) मा ‘कुनै नवजात शिशु, बालबालिका, अशक्त रोगी या वृद्ध व्यक्तिलाई आफूले हेरचाह या स्याहार सम्भार गर्ने कर्तव्य भएको व्यक्तिले निजको जिउ, ज्यान खतरा पुग्नसक्ने गरी फाल्न, परित्याग गर्न वा बेवास्ता गरी छाडनु हुँदैन’ भनिएको छ। यसै दफाको उपदफा (२) मा आफ्नो संरक्षकत्वमा रहेको बच्चालाई छाड्ने अभिभावकलाई तीन वर्ष कैद र तीस हजार रुपैयाँ जरिवाना तोकिएको छ। यस हिसाबले जे–जस्तो बाध्यता, विवशता, लोकलाज या परिबन्द परे पनि बच्चालाई यसरी फाल्ने आमाबाबु दुवै कानूनी दण्डका हकदार छन्। पक्ष विपक्षमा बहस गर्नुको कुनै तुक देखिँदैन।

कल्पना गरौं, यदि ति बालिकालाई कसैले देख्दैनथ्यो र तीन–चार दिन भोकै प्यासै झाडीमै रहन्थिन् भने उनको प्राण पखेरु उडिसकेको हुन्थ्यो। धन्न, उनको समयमै उद्धार भयो। यसरी मिल्काइएका अनेक शिशुको शव भेटिएका खबर यसअघि बारम्बार मिडियामा आइरहेकै हुन्।  बाबुआमाले फालेका १६ जना नवजात शिशुलाई कपन बालगृहले उद्धार गरी संरक्षण गर्दै आएबाटै यो पहिलो या अन्तिम घटना हैन भन्ने स्पष्ट छ। बालमन्दिर अन्तर्गतका देशभरका करिब एक दर्जन बालगृह, एसएओस बालग्राम र यस्तै अन्य संघसंस्थामा यस्ता सयौं बालबालिका भेटिन्छन्।

२०७४ साल चैतमा बाजुराको बडिमालिका–२ स्थित भौनेरा खोलामा नवजात शिशुको शव भेटियो। खोलामा माछा मार्न गएकाहरुले थापेको जालमा त्यो शव भेटिएको थियो। शिशु फाल्ने महिला पक्राउ परिन्। २०७४ साल फागुनमा दाङको तुलसीपुरमा फोहर फाल्ने ठाउँमा प्लाष्टिकमा  बेरिएको अवस्थामा सालनालसहितको नवजात शिशुको शव फेला परेको थियो।

धन्न, कपनमा भेटिएकी नानीलाई खुला कार्टुनमा राखेर झाडीमा मिल्काइएको रहेछ। २०७४ साल माघ ४ मा कपननजिकै चाबहिल गोपीकृष्ण हलनजिक भेटिएकी नवजात नानीलाई त प्लाष्टिकमा मोडेर फोहोरको डंगुरभित्र फालिएको थियो। बिहान फोहोर फाल्न गएका स्थानीयबासिन्दाले उनी रोइरहेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए। उनलाई बालबालिका खोजतलास केन्द्रले उद्धार गरी बालगृहमा लगेको थियो। सोही साल साउनमा कीर्तिपुरको चोभारस्थित मकैबारीमा र असोजमा ललितपुरको लुभुस्थित गणेश मन्दिरमा पनि नवजात शिशु बेवारिसे फेला परेका थिए।

प्रसुती गृहमा बेडमै बच्चा छाडेर भाग्ने, शिशुलाई शौचालय, बागमती नदी किनारको झाडीमा मिल्काउने गरेका घटना बारम्बार हुँदै आएका छन्।  

ममता भर्सेस विवशता

९ महिनासम्म कोखमा राखेर जन्माएको शिशुलाई निर्दयी भएर फोहोर या झाडीमा मरे मरोस् भनेर मिल्काउने आमालाई कुनै पनि कोणबाट सही साबित गर्न सकिँदैन। ति आमासामू पक्कै कुनै विवशता या बाध्यता होला।

आधुनिकताले गाँजेको आजको युगमा प्रेम जोडीमा विवाहअघि नै यौन सम्पर्क हुनु अनौठो हैन। तन्नेरी जोशमा होस् नहुँदा अनिच्छित गर्भ रहने घटना सामान्य मानिन थालेको छ। बलात्कारबाट रहन गएको गर्भ, लिभिङ टुगेदरका क्रममा रहने गर्भ र असुरक्षित सम्भोगका कारण यौनकर्मीमा पनि यस्ता समस्या देखिन्छन्। 

उनीहरु लोकलाजका डरले नवजात शिशु मिल्काउन विवश छन्। कपनको घटनामा पनि नानी जन्माउने आमासँग यस्तै कुनै विवशता थियो होला। आर्थिक अभाव या सन्तान बोझको बोध।  जेसुकै होस्, विवशता या बाध्यताभन्दा ठूलो आमाको ममता हो। मातृवात्सल्य हो। महाभारतको ‘वन पर्व’ मा यक्षले ‘पृथ्वीभन्दा पनि ठूलो के हो?’ भनेर प्रश्न गर्दा धर्मराज युधिष्ठिरले ‘आमा नै ठूलो’ भन्ने जवाफ दिएका छन्। आफ्ना सन्तानप्रति आमामा जुन उचाइको ममता र स्नेह छचलकिन्छ, त्यसलाई इश्वरीय करुणासरह मानिएको छ।

जननी (आमा) र जन्मभूमिलाई स्वर्गभन्दा माथि राखिएको छ। सन्तानका हकमा आमाकै जिम्मेवारी पहिलो नम्बरमा आउँछ। आमाको विराट अनि उदात्त स्नेहसामू  सांसारिक बाध्यता र विवशता गौण हुन्। अतः शिशु मिल्काइएका घटनामा आमा नै कठोर, निर्दयी र गैरजिम्मेवार भएकी हुन् भन्ने मान्नै पर्छ।

किनभने सन्तानसँग आमाकै संवेदना घनीभूत रुपमा जोडिएको हुन्छ। आफ्नो बिर्य बिजबाट जन्मिएको सन्तानको जिम्मेवारीबाट भाग्ने, गर्भ बोकाएर टाप कस्ने बाबु भनाउँदो त गैरजिम्मेवार, अपराधी, बदमास, धोकेबाज, क्रूर त हुँदै हो। तर, आमा भनेको आमा हो। आमाको स्थान पाइसकेपछि उनले तल ओर्लन मिल्दैन।

केही वर्षअघि सोलुको सल्लेरीमा नवजात शिशुलाई प्लाष्टिकमा बेरेर फोहोरको डंगुरमा फाल्ने एक युवती पक्राउ परेकी थिइन्। अवैध सम्पर्कबाट जन्मिएको बच्चालाई एघार कक्षा पढ्दै गरेकी उनले लोकलाजका डरले फालेको बयानका क्रममा खुलेको थियो। सायद प्रेमीले फकाएर युवतीलाई त्यो अवस्थासम्म पुर्‍याएको हुनसक्छ।

कुनै पुरुषले प्रेम र विवाहको वाचा गरेर गर्भ बोकाएको हुनसक्छ। सोही आशमा चेलीले सन्तानलाई जन्म दिएकी हुन सक्छिन्। पछि त्यो पुरुषले उनलाई धोका दिएको हुनसक्छ। त्यसका लागि चेलीले संघर्ष पो गर्ने हो। ‘धोकेबाज’ पुरुषलाई कानूनको कठघरामा ल्याएर उभ्याउने हो। तर, आमा भइसकेपछि सन्तानप्रतिको दायित्वबाट भाग्न भने मिल्दैन। जन्माएको सन्तानलाई उनले दूधको ऋण दिनै पर्छ, ममताको भारी बोकाउनै पर्छ।

कुन्ती हुने कि कौशल्या?

पौराणिककालमा पनि यस्ता घटना हुन्थे। महाभारत कथा अनुसार कर्णलाई जन्म दिँदा कुन्ती नाबालिक नै थिइन्। कुन्तीको सेवा सत्कारबाट प्रशन्न भएर महर्षि दुर्वाशाले उनलाई वशिकरण मन्त्र सिकाएका थिए।

सूर्यसामू  उत्सुकताबस सो मन्त्र जप्दा कुन्ती गर्भवती भइन् र कर्णको जन्म भयो। कुन्तीले पिता यदुवंशी राजा सुरसेन र धर्मपिता कुन्तीभोजको इज्जत अनि लोकलाजका डरले कर्णलाई टोकरीमा राखेर नदीमा बगाइदिइन्। तिनै कर्ण महान दानविर र रणकौशलयुक्त भएर महाभारत युद्धमा अंगदेशका राजाका रुपमा उदाए। गंगाले पनि आफ्ना सात पुत्रलाई नदीमा बगाइदिएको कथा पाइन्छ।

सन्तान कसैलाई बोझ हुन्छ त कसैलाई रिक्तता। सन्तान सुखका लागि हरिवंश पुराण लगाउने, सन्तानेश्वर महादेव धाउने र गणेशलाई लड्डु चढाउने महिलाको मर्म पनि आफ्नै ठाउँमा छ। रामायणमा राजा दशरथका रानीहरुबाट सन्तान भएनन्। दशरथले पुत्रेष्ठी यज्ञ नै गराए। यज्ञबाट प्रकट भएका मानिसले दिएको खिर खाएर रानीहरु गर्भवती भए। कौशल्याबाट राम, कैकेयीबाट भरत र सुमित्राबाट सत्रुघन जन्मिए। अचेल प्रयोगमा आउने ‘इन्भर्टो फर्टिलाइजेशन’ अर्थात टेष्ट ट्यूब बेबी जन्माएझै कुनै कृत्रिम विधि थियो होला त्यो। कौरवहरु पनि असंख्य घैटोमा विकास भएर जन्मिएको कथा छ।

हिजोआज निसन्तान दम्पती टेष्ट ट्यूब बेबी जन्माउनेदेखि धर्म पुत्रपुत्री ग्रहण गर्न समेत पछि पर्दैनन्। यही समाजमा कतिपय महिलाका लागि सन्तान ‘सुख’ हैन, ‘सास्ती’ को विषय बन्ने गर्छ। यी दुवै अवस्थाको मारमा महिला नै छन्। तर, समय बदलिसकेको छ। अहिलेको लोकतान्त्रिक युगमा कोही कसैले ‘कुन्ती नियती’ भोग्नु जरुरी छैन। अनि बाँझोपन हुँदैमा समाजले ‘बाँझी आइमाइ’ भनेर हेप्नु पनि मानवता विरोधी अपराध हो। अतः प्रजनन आयाममा महिलाकै पूर्ण अधिकार हुनुपर्छ। चाहे सन्तान जन्माउन् या नजन्माउन्।

कुनै चेलीले विवाहअघि सन्तानको जन्म दिँदैमा लोकलाजको विषय हुनुहुँदैन। बरु, विवाहअघि आमा बन्न पाउनु चेलीको अधिकारभित्र पर्नुपर्छ। महिलाको मानवअधिकारभित्र प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार मुख्य रुपमा आउँछ। सन् १९९४ मा पारित बेइजिङ घोषणापत्र र कार्ययोजनामा प्रजनन अधिकारमा जोड दिइएको छ।

नेपालको संविधानमा धारा ३८ मा प्रजनन स्वास्थ्य अधिकारलाई मौलिक हकमै समावेश गरिएको छ। अब यसलाई अझ बलियो ढंगले ऐन नियम बनाएर सुनिश्चित गरिनुपर्छ। हाम्रो समाजमा कुनै अविवाहित चेलीको उक्सिएको पेट देख्नासाथ स्वयं महिला समुदायले नै विष्मयको जिब्रो टोक्ने, ‘कसको भूँडी बोकेर आइछ?’ भन्दै कुरा काट्ने, घरपरिवारले पनि छिछी दूरदूर गर्ने मानकिसकता  हटिसकेको छैन।

यही सामाजिक सोचका कारण नवजात शिशुलाई झाडी या फोहोरका डंगुरमा मिल्काउन आमाहरु विवश छन्। आर्थिक अभाव, सन्तानलाई बोझ ठान्ने मानसिकता, अर्कै पुरुषसँग ‘पोइल जान’ मार्ग प्रशस्त गर्ने नियत आदि कारणले पनि नवजात शिशुलाई मिल्काउने प्रवृत्ति समाजमा देखिन्छ, सुनिन्छ। केही अपवादलाई छाड्ने हो भने यस्ता घटनामा पुरुषले धोका दिएपछि लोकलाजको डर र आर्थिक बोझ नै मुख्य कारण देखिन्छ। विवाहअघि आमा बन्न पाउने अधिकार सुनिश्चित हुने हो भने सामाजिक सोचमा परिवर्तन आउन सक्थ्यो कि।

बदलिँदो सामाजिक परिवेशमा विदेशीने लहर बढेको छ। छोराहरु विदेशमा बुहारीसँग मस्त हुन थालेका छन्। स्वदेशमा घरमा बुढा बाबुआमा अलपत्र छन्। यस्तोमा छोरीले नै बाबुआमाको टेक केयर गर्न थालेको हिजोआज देख्न पाइन्छ। छोरी नै सहारा हुनसक्छन् भन्ने सामाजिक चेत बढ्दैछ। तर, छोरीप्रतिको हेय मानसिकता अझै हट्न सकेको छैन। अचेल छोरीहरुको गर्भमै भ्रुण हत्याको क्रम बढ्दो छ।

गर्भपतनले कानूनी मान्यता पाएपछि यो क्रमले झन् तीब्रता लिएको छ। जन्मिएपछि मिल्काउने घटनाभन्दा खतरनाक कुरा त गर्भमै छोरीको हत्या हुनु हो। अतः महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारलाई दरिलो गरी सुनिश्चित गराउन सरोकारवाला सबै पक्षले सार्थक पहलकदमी चाल्न ढिला नगरौं।
 

 Published Date: Saturday, 1st August 17:04:38 PM