बिहीबार, असोज ३०, २०७६

कुमारीको प्रेम समाजको शत्रु दैत्यसँग

कुमारी । | तस्वीर:फाइल फोटो

काठमाडौं अहिले जात्रामय छ । हनुमानढोका दरबारबाहिर तलेजु मन्दिरअगाडि यःसिं ठड््याइएसँगै काठमाडौंमा ईन्द्रजात्रा विधिवत् सुरुवात भइसक्यो । 

कुमारी, काठमाडौं अनि ईन्द्रजात्रा । यी शब्दहरू एकआपसमा पर्यायवाचीजस्तैै भइसके । ईन्द्रजात्रा शुरु हुनेबित्तिकै आम नेपाली र विदेशी पर्यटकलाई समेत कुमारीको रथजात्राको व्यग्र प्रतीक्षा रहन्छ ।

कुमारी– विशेष गरी नेवाः समुदायकी आराध्यदेवी । देशको रक्षकको रूपमा आफ्नो रक्षक नेवाः समुदायले कुमारीको पूजा, आराधना गर्ने गर्दछन् । नेवाः समुदायमा बुद्धिस्ट समाजले पनि र शाक्त समाजले पनि कुमारीलाई पुज्ने गरेका छन् । 

कुमारीलाई शाक्त नेवाःहरूले तलेजु भवानीको रूपमा पनि हेर्ने गरेका छन् भने कौमारीको रूपमा लिने पनि गरिन्छ । हुन त कुमारीको बाहन पनि मयूर नै हो तर पनि यहाँनेर प्रश्न खडा हुन्छ कि कुमारी कसरी कौमारी हुन सक्छिन् ? 

कुमारी आजीवन अविवाहित रहने प्रण गरेर बसेकी देवी भने कौमारी कुमारकी शक्ति । यहाँनिर स्मरणीय के छ भने हरेक नारी रजस्वलापछि शुद्ध भई कुमारी बन्छिन् भनी विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । सो हिसाबले कौमारी पनि कुमारकी शक्ति भए पनि रजस्वलापछि कुमारी नै हुन्छिन् भन्ने गरिएको छ । 

अग्निपूराणले भने चामुण्डाले कुमारीको रूप लिएको कुरा उल्लेख गरिएको छ । मल्लकालीन हस्तलिखित ग्रन्थ ‘कोमारी पूजा’मा अष्टमातृकालाई कुमारीको रूपमा वर्णन गरिएको छ । 

कुमारीलाई पार्वतीकै एउटा रूप पनि भनिएको छ । विगत कुनै एक समयमा मथुरासुर दैत्यले देशमा उत्पात मचाउँदै दुःख दिइरहेको थियो रे ! सो समयमा मानव जगतको उद्धार गर्न पार्वतीले मानव रूपमै जन्म लिने निधो गर्नुभएछ र नरदेवीको छोरी कुमारीको रूपमा पार्वतीले जन्म लिइन् रे ! समाजमा यो जनश्रुति पनि प्रचलित रहेको छ ।

बौद्ध धर्मावलम्बीहरूले भने कुमारीलाई वसुन्धराको रूपमा लिने गरेका छन् । साथमा बज्रदेवी पनि भन्ने गरेका छन् । आ–आफ्नो धर्म सँस्कृति अनुसार धार्मिकीकरण वा स्थानीयकरण हुनु भनेको त स्वाभाविक पनि हो । तर कुमारी कुनै हिन्दु वा बुद्धिस्ट परम्परा वा सँस्कृति नभई, स्थानीय परम्परा भन्न सकिन्छ ।