सोमबार, मंसिर ३०, २०७६

अस्पतालको आइसीयु कक्षबाट प्रधानमन्त्रीको भिडियो सन्देश- उठेर बोल्न सक्ने भएको छु

काठमाडौं, मंसिर १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे भिडियोमार्फत जानकारी दिएका छन्। 

अपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयु कक्षबाट भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफू उठेर बोल्न सक्ने र साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा रहेको बताएका छन्।

उनले भनेका छन्,‘ एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ। मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको पनि बताएका छन्।

‘एपेन्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो। त्यसमा इन्फेक्सन भएछ। र, त्यो बाहिर पनि फैलिएछ। त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ,’ उनले भिडियो सन्देशमा भनेका छन्।

प्रधानमन्त्री ओलीले आफूले आइतबार १३ औं सागको उद्घाटन समारोह पनि हेरेको बताएका छन्।

‘साग हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकोमा खुसी लाग्या छ। म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भनेका छन्,‘मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु।’ 

हेर्नुस् भिडियो सन्देश :

 Published Date: Monday, 2nd December 17:09:22 PM