शुक्रबार, असोज ९, २०७७

‘हामीले २५ भन्दा बढी भेला हुन रोकेका छौं, साथीहरुले ४५० जनाको केन्द्रीय कमिटीको बैठक माग गर्छन्’ 

काठमाडौं, साउन २० : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले देश कोरोना महामारीबाट गुज्रिरहेका बेला आफ्ना पार्टीका नेताहरुको गतिविधिप्रति असन्तुष्टि जनाएका छन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरूसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले कोरोना महामारीका बेला स्थायी र केन्द्रीय कमिटी बैठक माग गर्नलाई गम्भीर लापरबाहीको संज्ञा दिए।

प्रधानमन्त्री ओलीले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि २५ जनाभन्दा बढी जम्मा हुन नदिने निर्णय गरेको भएपनि नेताहरुले पार्टी बैठकको माग गर्न नछाडेकोमा आपत्ति जनाए।  ‘हामीले २५ जनाभन्दा बढी जम्मा नहुने भनेर हामीले भनेका छौं। तर, मेरै पार्टीभित्र स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक तरुन्तै चाहियो भनेर माग भइरहेको छ। कहाँ बस्ने हो, कसरी बस्ने हो त्यो थाहा छैन, तर, ४५० सदस्यीय केन्द्रीय कमिटीको बैठक माग भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने,‘कोरोना महामारीका बेला यस्तो माग गर्नु देश र जनताप्रति गम्भीर उदासीनता र लापरबाहीबाहेक केही होइन।’

उनले नयाँ ठोस केही नभए पनि बैठकको चाहियो भन्नु उपयुक्त नभएको बताए। ‘नयाँ ठोस् केही छैन। तर बैठक चाहिँ चाहियो भन्ने कुरा छ। स्थायी कमिटी अहिले नै बस्न परो, भरे नै बस्न परो भन्ने छ।  त्यसबाहेक अरु केही छैन,’ उनले भने। देश संकटमा भएका बेला सरकारको विरोध गर्ने माध्यमका रुपमा कसैले लिन नलिने उनले बताए।

‘प्रवेशमा रोक लगायो भने किन रोक लगाएको भन्ने, लगाएन भने किन नलगाएको भन्ने ? क्वारेन्टिनमा राखेपछि किन राखेको भन्ने अनि नराखे किन नराखेको भन्ने? लकडाउन गर्यो भने किन गरेको भन्ने र गरेन भने किन नगरेको भन्ने?,’ प्रधानमन्त्रीले भने,‘ त्यतिमात्रै होइन नेताहरुबाटै मान्छेहरु उचाल्ने र मान्छे भड्काउने काम भइरहेको छ।’ 

उनले जनताको जीवनभन्दा ठूलो कुरा केही नभएकाले जनताको जीवन रक्षाको प्रश्नमै सबै केन्द्रित हुनु पर्ने बताए। ‘ मैले पहिले पनि भनेको छु– जनताको जीवनभन्दा ठूलो कुरा केही छैन। जनताको जीवन रक्षाको प्रश्न हो। हामीले सबैले त्यस प्रश्नमा केन्द्रित भएर अगाडि बढ्न जरुरी छ। त्यसका निम्ति सिंगो देश एकजुट हुन जरुरी छ,’ प्रधानमन्त्री ओलीले भने। 
 

 Published Date: Tuesday, 4th August 2020 9:47:46 am