बिहिबार, असोज १५, २०७७

बेलायतमा ७० कटेका पूर्वगोर्खामा कोरोनाको संक्रमण बढी छ

म लण्डनमा बस्दै आएको छु। कोरोना भाइरसका कारण यहाँको अवस्था भयावह नै छ। सरकारले लकडाउन त गर्‍यो तर पूर्ण लकडाउन भने भएको छैन।

आंशिक लकडाउन भएका कारण सरकारी कार्यालयबाहेक अन्य कार्यालय, पार्क, सार्वजनिक स्थल खुला छन्। कतिपय सार्वजनिक यातायात सञ्चालनमा रहेका कारण चालकहरुले ज्यान गुमाएका समाचार आउने गरेका छन्।

पहिला सार्वजनिक यातायातमा अगाडिबाट चढ्ने र पछाडिबाट ओर्लने गरिन्थ्यो। तर, अहिले पछिबाटै चढ्ने र पछाडिबाटै ओर्लने नियम छ। सार्वजनिक सवारी साधानमा यो नियम लागू गुर्नको कारण चालक  बढी संक्रमित भएकाले नै हो।

हालै बीबीसीमा एसिएन र अफ्रिकन मूलका मानिस कोरोनाको उच्च जोखिममा रहेको समाचार प्रकाशित भएको थियो। सोही समाचारको प्रभाव हो वा होइन, थाहा भएन। तर, त्यसपछि यहाँका रैथानेहरु बाहिर निस्किन थालेका छन्। भिडभाड देखिन थालेको छ। धेरै भीडभाड हुने स्थान पार्क, सिनेमा हल र खेलकुद गतिविधि हुने ठाउँहरू बन्द गरिएकाे छ । रेस्टुरेन्टहरु खुलै छन्। तर, खानेकुरा घरमा लगेर खानुपर्छ।

सपिङ सेन्टरहरु पनि खुलै छन्। तर, सामान किन्न जाँदा २–२ मिटरको दूरी कायम गर्नुपर्छ। तर, यसो हेर्दा त्यसको पूरा पालना भने भएको देखिँदैन। पहिले जसरी मानिसहरुको भीड हुन्थ्यो, अहिले त्यस्तो चाहिँ छैन। जोखिम धेरै छ, त्यसैले आफैँ सुरक्षित हुनुपर्छ।

बेलायतको अर्को भयानक अवस्था भनेको निको हुने संख्या न्यून छ। डेढ लाख बढी मानिस संक्रमित भइसक्दा निको भने मुस्किलले ६ सयको आसपासमा मात्रै भएको छ।
सरकारले छुट्टै अस्पताल, क्वारेन्टाइनको व्यवस्था गरेको छैन। आफैँ  क्वारेन्टाइनमा बस्ने हो, आफँै आइसोलेसनमा बस्ने हो। यदि सिरियस अवस्था भयो भने मात्रै हस्पिटल एम्बुलेन्स बोलाएर जाने हो। त्यही पनि यहाँका केही अस्पताल बन्द समेत छन्। तर, यो अवस्थामा हस्पिटल जानुभन्दा घरमै बस्दा सुरक्षित हुने अवस्था छ। कारण के भने एउटा रोगको उपचार गर्न अस्पताल गएको व्यक्ति कोरोना संक्रमित बनेर फर्किएका घटना धरै छन्।

पीपीई लगायतका सुरक्षा सामग्रीको अभावमा स्वास्थ्यकर्मी आफैँ  जोखिममा छन्। एक जना नेपाली नर्सको समेत मृत्यु भइसकेको अवस्था छ। यहाँ अहिलेसम्म ११४ जनाभन्दा बढी स्वास्थ्यकर्मीले ज्यान गुमाइसेका छन्। बेलायतमा करिब २ लाख नेपाली बसोबास गर्छन्, ती मध्ये ४३ जनाको निधन भएको छ। यहाँका प्रधानमन्त्री आफैँ पनि कोरोनाको संक्रमणबाट गुज्रिए। यी सबै अवस्था हेर्दा स्थिति भयावह देखिन्छ। संक्रमण घट्ने भन्दा बढ्ने क्रममा छ। हालै स्वास्थ्यमन्त्रीले बेलायतमा अझै कोरोना संक्रमण पिकमा पुगिनसकेको बताएका छन्। उनकै भनाइलाई आधार मान्ने हो भने पनि अझै संकट चुलिन सक्नेछ।  

यहाँका धेरै कम्पनी बन्दको अवस्थामा छन्। तर, कम्पनी बन्द भएपछि त्यहाँ काम गर्नेहरुले तलबको ८० प्रतिशत रकम सरकारले दिन्छ। सरकारले कम्पनीलाई रकम दिन्छ र कम्पनीले कामदारलाई दिन्छ। यहाँ रहेका ७० वर्ष नाघेका भूतपूर्व गोरखा सैनिकहरु बढी जोखिममा छन्। मृत्यु हुनेमा पनि अधिकांश उनीहरु नै छन्। बेलायतमा चार किसिमका नेपाली बसोबास गर्छन्। भूतपूर्व सैनिक र तीनका परिवार, युरोप हुँदै शरणार्थीका रुपमा डकुमेन्ट बनाएर आकाहरु, द्वन्द्व पीडितका नाममा शरणार्थीका रुपमा डकुमेन्ट बनाएर आएका र विद्यार्थी भिसामा आएकाहरु।

यी मध्ये गोरखा भूतपूर्व सैनिकहरु नेपाली पासपोर्टकै आधारमा बसोबास गरिरहेका छन्। त्यस्ता नेपाली धेरै छन्। उनीहरु यहाँ कमाएर भोलि नेपाल फर्कने सोचमा छन्। भूतपूर्व सैनिकमध्ये थोरैको मात्र यहाँको पासपोर्ट छ। बाँकी तीन क्याटेगरीका नेपालीसँग भने बेलायतकै पासपोर्ट छ। यहाँका नेपालीहरु नै एकअर्कालाई उपेक्षा गर्छन्। बेलायतको पासपोर्ट हुनेले नेपाली पासपोर्ट हुनेलाई हेप्ने गर्छन्।

तर, बेलायती पासपोर्ट हुनेले हेक्का राख्नु पर्ने विषय चाहिँ त्यसको तल अर्को निर्णय हुँदा खारेज हुन सक्ने भनेर लेखिएको हुन्छ। अस्थायी रुपमा पासपोर्ट दिइएको भनेर लेखेको छ। त्यसैले उनीहरुले अन्य नेपालीलाई उपेक्षा गर्न मिल्दैन्। ब्रिटिस सरकारले सात पुस्ता बसोबास गरेका अफ्रिकन, भारतीयहरुलाई अवसरमा विभेद् गर्छ। त्यो हिसाबमा नेपालीहरुको दुई पुस्ता पनि भएको छैन। त्यसैले भोलि कुनै निर्णय भए पासपोर्ट खारेज हुने सम्भावना धेरै छ।

यो समयमा रातो पासपोर्ट हुनेले गर्व गर्ने होइन, सबै नेपाली एकसाथ रहने हो। एकले अर्कालाई सहयोग गर्ने हो। खासगरी बेलायतमा आप्रवासीमाथि दमन समेत गरिन्छ।
केही दिन अघिमात्रै नेपालीमाथि कुटपिट समेत भयो। त्यसको कारण कोरोना चीनबाट आएको र एसियनहरुले ल्याएको आरोप उनीहरुको छ। चीनमा कारोना देखिने वित्तिकै एक चिनियाँ विद्यार्थीमाथि कुटपिट भयो। सेन्टर लण्डनमा चाइनिज भाइरस भन्दै उनीमाथि कुटपिट भएको थियो।

एउटा सकारात्मक पाटो भनेको अवस्था जतिसुकै बिग्रिएपनि यहाँ खान नपाउने अवस्था भने आउँदैन। किनभने बेरोजगारी हुने अवस्था आएमा बेरोजगारी भत्ता दिन्छ। भोकै मर्न पर्दैन। तर पनि आप्रवासीलाई भने राज्यले राम्रो व्यवहार गर्दैन। अस्पताल गयो भने पनि खासै चासो गर्दैन। कोरोना लागेका अधिकांशको मृत्यु हुनुको कारण त्यही हो। त्यसमा पनि आप्रवासीको मृत्युदर अलि बढी छ। कोरोना लागेका वृद्धहरुको उपचार गर्ने नीति छैन। युरोपभर यही नीति छ। तर, यहाँ घोषणा भने गरिएको छैन।

वृद्धहरु जो कोरोना लागेर अस्पताल गएका छन्, ऊ फर्कने सम्भावना कमै छ। केही समयअघि यहीँ बसोबास गर्ने आप्रवासी कोरोना लागिसकेपछि छोरीले लिएर अस्पताल गएका थिए। तर, चिकित्सकले उनलाई छुन समेत मानेनन्। उनको प्रेसर र ज्वरो नाप्न समेत छोरीलाई लगाएको घटना सार्वजनिक भएको थियो। रोजगारदाता कम्पनी घाटामा गएर बन्द हुने अवस्थामा छन्। तर, डकुमेन्टहरुले भत्ता पाउँछन्। त्यस्तो अवस्थामा मैले रोजगारी पाइनँ  भनेर अप्लाइ गर्नुपर्छ। खान पुग्ने पैसा सरकारले दिन्छ। 

आप्रवासीहरु नै चरम जोखिममा छन्। विद्यार्थी भिसामा गएकाहरु र डकुमेन्ट बनिनसकेकालाई समस्या पर्नेछ। उनीहरुले न बेरोजगारीभत्ता पाउँछन्, न रोजागरी नै। त्यस्ता नेपालीको संख्या १५ देखि २० हजार हुन सक्ने अनुमान गरिएको छ। यहाँ नेपालीका धेरै सामाजिक संघ÷संस्थाहरु छन्। तर, तिनीहरुमा पनि युनिटी छैन। सामाजिक कार्य गर्ने भनेर पैसा संकलन गर्छन्। तर, सही ढंगले उपयोग हुँदैन। आफ्नो प्रचार गर्न स्टन्टबाजी धेरै हुन्छ। जोखिममा रहेका विद्याथीहरुलाई सहयोगको आवश्यकता छ।

तर, पैसा उठाउने र रमाइलो गर्नेहरुको ध्यान त्यसतर्फ गएको छैन। नेपाली समुदाय एक ढिक्का हुनुपर्नेमा विभिन्न संस्थाका नाममा विभक्त हुने अवस्था छ।
विद्यार्थीपछि समस्या पर्नेहरु भनेको बेलायती नागरिकता भएका नेपालीहरु नै हुन्। किनकि उनीहरु यहाँ उपेक्षामा पर्नेछन् भने अर्कोतर्फ नेपाली पासपोर्ट समेत च्यातेर फालिसकेका छन्। अहिले उनीहरु निल्नु न ओकल्नुको अवस्थामा छन्। बेलायतलाई विश्वकै राम्रो सिस्टम भएको मुलुकका रुपमा लिइन्छ। तर, कोरोनाका कारण अवस्था सोचेभन्दा भिन्न भएको छ।

कालोबजारी सुरु भएको छ। त्यसलाई घटाउन सरकारले पहलकदमी लिन सकेको छैन। स्यानिटाइजर, मास्क, ट्वाइलेट पेपरको अभाव अहिले पनि छ। एउटा सर्जिकल मास्कलाई २ पाउण्ड तिर्नुपर्ने अवस्था छ। बेलायतले युरोपका अन्य देशमा कोरोना संक्रमण देखिएपछि आवश्यक सजगता अपनाउन सकेन। युरोपबाट आउने मानिसलाई चेकजाँच समेत गरिएन। कोरोना नियन्त्रणका लागि ठोस् कार्ययोजना समेत ल्याउन नसकेको टिप्पणी यहाँ भइरहेको छ। इम्युनिटी पावर हुने बाँच्छ, नत्र मर्छ भन्ने मान्यता हावी भएको पाइन्छ।

मानिसको सुरक्षाका लागि स्वास्थ्य बीमा गरिएको छ। काम गर्ने मानिसहरुको पनि हेल्थ इन्स्योरेन्स भनेर पैसा काट्छ। तर, त्यसमा यहाँका नागरिक र आप्रवासीलाई सरकारले गर्ने व्यवहार फरक छ। मतलब यहाँका नागरिकले आप्रवासीलाई दुर्व्यवहार गर्ने गर्छन्। नेपाली बुढाबुढीमा भाषाको समस्या छ। त्यसले समेत समस्या भइरहेको छ। 

बेलायतमा बसोबास गर्ने नेपालीहरुमा मेरो अपिल छ– आफैँ सुरक्षित रहौं, सजगता अपनाऔं। अवस्था थप बिग्रन सक्छ, यतातर्फ ध्यान दिऔं। संघसंस्थाका नाममा विभक्त हुन छाडेर हातेमालो गरौं। ताकि अप्ठ्यारोमा परेकालाई सहयोग गर्न सकियोस्, नेपाली–नेपालीबीचको सम्बन्ध बलियो बन्न सकोस्। 

 Published Date: Thursday, 30th April 2020 5:55:44 am