मंगलबार, मंसिर २४, २०७६

पूर्वराजाबारे बालुवाटार-खुमलटारबीच आशंका र अविश्वास

पूर्वराजा ज्ञानेन्द्र शाह | तस्वीर:फाइल फोटो

काठमाडौं, साउन २३ : नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार।

दुई अध्यक्षबीच औपचारिक सम्बन्ध सुमधुर नै देखिए पनि दुई अध्यक्षको कित्तामा उभिएर गरिएका व्यवहारमा भने चरम आशंका र अविश्वास बढेको छ। पछिल्लो पटक अपदस्थ राजा ज्ञानेन्द्र शाहबारे बालुवाटार–खुमलटारको गम्भीर आशंका प्रकट भएको हो।

भारतमा नरेन्द्र मोदी भारी बहुमतका साथ दोस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिएलगत्तै नेपालमा राजतन्त्र पुनर्उत्थानवादीहरूले सक्रियता बढाएको विश्लेषण हुन थालेकोबेला सत्तारुढ नेकपामा यो आशंका बढेको हो।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिङ्गापुर प्रस्थान गर्नु अघिल्लो दिन बिहान रक्षामन्त्री ईश्वर पोखरेलले पूर्वराजा शाहलाई भेटेको भन्ने समाचारपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल उत्तेजित भएका हुन्। 

प्रचण्ड त्यसको तीन दिनअघि नै युएईको राजधानी दुबई पुगेका थिए । प्रचण्ड विदेश हिँडेको चौथो दिन प्रधानमन्त्री केपी शर्मा ओली पनि स्वास्थ्य परीक्षण गर्न सिंगापुरतर्फ जाँदै थिए। त्यसको एक दिनअघि शाहसँग रक्षामन्त्रीले भेट गरेको समाचारले प्रचण्डमा गम्भीर आशंका जन्माएको थियो। 

प्रधानमन्त्री ओली क्याम्पका ‘सेकेन्ड म्यान’ पोखरेलप्रति साविक माओवादीहरू अत्यन्त अनुदार छन् । पार्टी स्कुल विभाग प्रमुख कुनै पनि हालतमा पोखरललाई नदिने प्रचण्ड खेमाको अडान छ। पार्टी एकता गर्दा पनि प्रचण्डले नरुचाएका कारण महासचिवबाट हटाइएका नेता हुन्– रक्षामन्त्री पोखरेल।

 नेपाल ट्रस्टका नाममा रहेको सम्पत्तिको स्थलगत निरीक्षण गर्दै रक्षामन्त्री ईश्वर पोखरेल।

गृह वा अर्थमन्त्रीमध्ये एक चाहेका पोखरेललाई प्रधानमन्त्री ओलीले पनि रक्षामन्त्री बनाएर थन्काइदिएका थिए तर पोखरेलले रक्षामन्त्रीलाई नै आफ्नो शक्तिआर्जन गर्ने थलो बनाएको आशंका अहिले साविक माओवादीवृत्तमा छ। व्यारेक भ्रमण गर्न भनेर सेनाको हेलिकप्टरमा जिल्ला जाने गरेका छन्। 

सेनासँग सबैभन्दा राम्रो सूचना संयन्त्र ‘सैन्य खुफिया निर्देशनालय’ (डिएमआई) भएकाले रक्षामन्त्री पोखरेल सबैभन्दा बढी सूचना हुने र सेनाको साथ पनि भएका नेता बन्न पुगेको माओवादीको आशंका छ। त्यसैले सिंगै साविक माओवादीहरू वृत्तमा पोखरेलबारे थप सशंकित छन्। त्यसैले उनले पूर्वराजा भेटेको कुरा आगो सरी फैलियो– माओवादी वृत्तमा।

पोखरेलले राजा भेटेको भनी प्रचार गरिएको दुई दिनपछि साउन १९ गते प्रचण्ड दुबईबाट फर्किए। राति आइपुगेका उनले विमानस्थलबाटै पूर्वराजालाई धम्की दिए।

भोलिपल्ट सार्वजनिक कार्यक्रममा भाग लिन सिन्धुली पुगेका प्रचण्डले अपदस्थ राजा ज्ञानेन्द्रलाई धम्की दिए, ‘ हिजो राजा महाराजाको चाकडी र गुलामी गर्ने केही त्यस्ता दलाल र दासहरु सरकार होइन, सिस्टम नै फेर्ने दिन आयो भन्न थालेका छन्। एकथरी मान्छेले राजालाई ल्याउँछौं भनेको सुन्नुभएको पनि होला। म यो मञ्चमा बसेर देशभरका जनतालाई अपील गर्न चाहान्छु। तिनीहरुले नेपाली जनतालाई रैती र दास बनाउने सपना देखेका छन्। त्यो कहिल्यै पुरा हुुने छैन।’ 

रक्षामन्त्री ईश्वर पोखरेलको निजी सचिवालयले पूर्वराजा नभेटेको प्रष्ट पार्ने कोशिश गर्‍यो। उनका निजी सचिवालयमा कार्यरत लोकेन्द्र केसीले सामाजिक सञ्जालमा लेखे, ‘नेपाल ट्रस्ट अन्तर्गतको स्व. राजा वीरेन्द्रको नाममा रहेको सम्पत्तिको स्थलगत निरीक्षण गर्न ट्रस्टका अध्यक्ष समेत रहेमन कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल गत शुक्रबार महाराजगञ्ज (निर्मल निवासको पश्चिमपट्टि सशस्त्र प्रहरी बसेको क्षेत्र), लाजिम्पाट, टेकु, सोल्टीमोड र छाउनी पुग्नुभएको सत्य हो ! तर, मनगढ़न्ते कहानी लेख्न चाहनेका लागि जे लेख्दा पनि हुन्छ? यथार्थ हुनुपर्छ कि पर्दैन?’

नेपाल ट्रस्टका सदस्य सचिव राजेश्वर ज्ञवालीले समेत ज्ञानेन्द्रको निजी निवास, निर्मलनिवास नजिकको ट्रष्टको सम्पत्ति रहेको क्षेत्रमा रक्षामन्त्रीको भ्रमणबारे प्रष्ट्याएका छन्।पोखरेलले राजा ज्ञानेन्द्र भेटेको समाचारको यसरी आगो सरी फैलियो कि रक्षामन्त्रीको निजी सचिवालयले पोखरेलले निरीक्षण गरिरहेको तस्विर समेत सार्वजनिक गरेको छ। तर, अझै पनि हल्ला र आशंका हटिसकेको छैन। 

युएई भ्रमण सकेर स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा नेकपा अध्यक्ष प्रचण्ड।

पोखरेलनिकट नेकपाका एक केन्द्रीय सदस्य प्रचण्डको दुबई भ्रमणबारे नै शंका गर्दै प्रश्न गर्छन्, ‘बिरामी पत्नीको आग्रहमा पारिवारिक भ्रमण भन्दै विदेश गएर आफूले को–कोसँग भेटघाट र छलफल गरेर आए, अनि त्यसलाई छोप्न पूर्वराजालाई गाली गर्दैछन्।’ 

प्रचण्डले हिन्दू राज्यबारे भारतीय अधिकारीसँग छलफल गरेको हुनसक्ने ती केन्द्रीय सदस्यको आरोप छ। ‘प्रचण्डले जानुअघि नै राजनीतिक भेटघाटको कार्यक्रम छैन भन्नुभएको थियो। त्यसले पनि प्रष्ट पार्छ– उहाँको पारिवारिक भ्रमणभित्र छिपेको राजनीति’, उनको आरोप छ।

 

 Published Date: Thursday, 8th August 17:03:03 PM