आईतबार, असोज ५, २०७६

एल.ओ.डी. – म्यूजिक, मदिरा र मस्तीको मक्का

एल.ओ.डीकाे गुणस्तरीय म्यूजिक र साउण्ड सिष्टमकाे आनन्द लिँदै। | तस्वीर:रिवाज राई

काठमाडौं, जेठ २५ : रातको करिब एक बजे। काठमाडौं मस्त निद्रामा छ। 

मध्यरातसम्म जागै रहने ठमेलका रङ्गीबिरङ्गी बत्तीहरू पनि निभिसकेका छन्। 

नर्सिङ चोकबाट अस्कल कलेज निस्किने गल्लीमा भने तन्नेरीहरूको भीड छ। यसै साता ३१ औं जन्मदिन मनाएकी नेहा कक्कर सडक छेउको फ्लेक्स ब्यानरबाट मादक मुस्कान छर्दैछिन्। 

लाग्छ – हेर्दाहेर्दै फ्लेक्स फाडेर नेहा कक्कर बाहिर आउँछिन् र गाउन थाल्छिन् – दिलबर दिलबर...हाँ दिलबर दिलबर‍‍‍‍‍‍ ...

एलओडी अर्थात् लर्ड अफ द ड्रिङ्स  खुल्नुअघि ठमेलको यो भाग पनि मध्यरातसम्म सुतिसक्थ्यो। अहिले रातभरि जागै हुन्छ।

शुक्रबार, नयाँ वर्ष वा छुट्टीमा मात्र होइन, हरेक रात विहान ४ वर्षसम्म एलओडी खुलै हुन्छ। विहीबार राति घण्टाघरको रालोले साढे १ बजाउँदा पनि एलओडीभित्र युवायुवतीहरू कम्मर मर्काउँदै थिए –वि विल् वि विल् रक यू ...

काठमाडौंको सबैभन्दा नयाँ, ठूलो र भव्य यो नाइट क्लबभित्र प्रत्येक रात कुनै न कुनै डिजे, गायक वा साङ्गीतिक ब्यान्डको प्रस्तुतिमा युवा–युवतीहरू झुमिरहेकै हुन्छन्। 

आज शनिबार राति नेहा कक्करले पनि एलओडीमा आफ्ना चार्टबस्टर गीतहरू गाउँदैछिन्। नेहा कक्कर लाइभ इन नेपालका सबै टिकट एक साताअघि नै बिकिसकेको थियो। 

कम्तीमा दुई हजार ग्राहक आरामले अट्ने एलओडी खुलेको करिब चार महिनाभित्र काठमाडौंका प्रायः सबै धनाढ्य र सेलिब्रिटीहरू मदिरा र सङ्गीतको स्वाद लिन त्यहाँ पुगिसकेका छन्।

एलओडी पुग्ने नेपालीहरू मात्र होइनन्, विदेशीहरू पनि दङ्ग पर्दै भन्छन् – अहो!  नेपालमै यति भव्य नाइट क्लब?

बिहीबार राति १ बजे एलओडीको डान्स फ्लोरको एक दृश्य । तस्वीरः रिवाज राई

केही समयअघि इन्डिया टिभीकी फिल्म रिपोर्टर तृप्ति सिंह काठमाडौं आउँदा एलओडी छिरेकी थिइन्। आफूले अल्पविकसित ठानेको देश नेपालमा यति ठूलो नाइट क्लब देखेर उनी चकित परिन्। एलओडी बारे स्टोरी गर्न उनी यसै साता फेरि काठमाडौं आएकी छिन्, नेहा कक्करको प्रस्तुतिलाई पनि कभर गर्ने गरी।

हुन त काठमाडौंमा यसअघि नै डेजा भू कर्मा जस्ता भव्य नाइट क्लब खुलेका थिए। तर, एलओडीले काठमाडौंको क्लब संस्कृतिलाई बिल्कुलै नयाँ उचाइमा पुर्‍याएको क्लब पारखीहरू बताउँछन्।

यसरी खुल्यो एलओडी

यो कथा सुरु हुन्छ – २१ औं शताब्दी सुरू हुनुभन्दा ठीक एक वर्षअघि।

काठमाडौं गल्कोपाखामा जन्मे–हुर्केका भूपेन कुवँर ठमेलमा रेष्टुरेन्ट चलाउँथे। ठमेल आउने पर्यटकहरूलाई भाडामा मोटरसाइकल दिने व्यवसाय गर्ने राजु सिंहसँग उनको मित्रता गाँसियो। दुबैले एक अर्कालाई विश्वास गर्न थाले।

सन् १९९९मा उनीहरूले संयुक्त लगानीमा क्लब ९९ नामक नाइट क्लब खोले। 

त्यो बेलाको नाइट क्लब भीएफएक्स  युग सुरू हुनुअघिको अमेरिकन सुपरहिरो फिल्मजस्तै हुन्थ्यो। पृष्ठभूमिमा कालो पर्दा झुण्ड्याइएको। छेउछाउमा हेलोजिन लाइटहरू राखिएको। वस्, त्यत्ति।

तैपनि, क्लब ९९ ठमेलकै नामी नाइट क्लबको रुपका उदाइरहेको थियो। तर, क्लब ९९ खुलेको २ वर्ष पनि नपुगी दरबार हत्याकाण्ड भयो। युवराज दीपेन्द्रले नशाको सुरुमा आफ्नै वंश विनाश गरेपछि प्रहरीले काठमाडौंका नाइट क्लबहरू बन्द गराए। क्लब ९९ पनि झण्डै नौ महिना बन्द भयो।

क्लब ९९ जब सुचारु भयो, तब नाइट क्लबको व्यापार धराशयी भइसकेको थियो। किनिक, देशमा  सङ्कटकाल लागेको थियो। माओवादीले काठमाडौंमै ठाउँ–ठाउँ बम पड्काउन थालिसकेको थियो। युवाहरू साँझ बेलैमा घर पुगिसकेका हुन्थे।

त्यो बेला घरजग्गाको व्यवसाय फस्टाएको थियो। माओवादी र सुरक्षाफौजको ज्यादति खेप्न नसकेर गाउँ छाडेका मानिसहरू काठमाडौं थुप्रिन थालेका थिए। सबैलाई काठमाडौंमा चार आना भए पनि जग्गा चाहिएको थियो। 

यही मौकामा चौका हान्दै घर जग्गा व्यवसायीहरूले टन्न पैसा कमाए। उनीहरू पैसा उडाउन नाइट क्लब होइन, डान्स बार जान्थे। ठमेलका गल्ली–गल्लीमा नाइट क्लब होइन, डान्स बार खुल्न थाले।

भूपेन कुवँर र राजु सिंहले पनि क्लब ९९ को ठाउँमा बियर बार खोले, जुन अहिले पनि चल्दैछ।

फुर्सदका बेला उनीहरु कफी खान ठमेलको रिफ लाउन्ज जान्थे। त्यहीँ उनीहरू चिनापर्ची भयो, रिफका सञ्चालक रविन श्रेष्ठसँग। 

भूपेन कुँवर (बायाँ) र रविन श्रेष्ठ ठमेलको त्यही रिफ लाउञ्जमा, जहाँ तीन वर्षअघि एलओडी खोल्ने कुरा पक्का भएको थियो । तस्वीरः रिवाज राई

सिङ्गापुरमा होटल व्यवस्थापन पढेर आएका रविन श्रेष्ठले मुखौटा चलचित्रमा लगानी गरेका थिए। ठमेलकै ड्रग वारमा आधारित यो चलचित्र पात्रको प्रस्तुति र प्रविधिको हिसाबले अब्बल थियो। तर, व्यवसायिक रुपले सफल भएन।  

रविन केही नयाँ गरौँ भन्दै थिए। भूपेन कुवँर र राजु सिंहसँग भेटेपछि काठमाडौंमा दक्षिण एसियाकै उत्कृष्ट नाइट क्लब खोल्न सकिन्छ भन्ने विश्वास उनमा पलायो। उनीहरूको समूहमा मिसिए, रुदिप श्रेष्ठ। 

यसरी तीन वर्षअघि रिफ लाउन्जमा बसेर उनीहरूले डिस्को खोल्ने निधो गरे– एलओडी अर्थात् लर्ड अफ द ड्रिङ्स

रविन भन्छन्, ‘खोलेपछि राम्रै नाइट क्लब खोल्ने सल्लाह भयो, ताकि यसले हामीलाई मात्र होइन, देशकै पर्यटन उद्योगलाई पनि फाइदा पुर्‍याओस्।’

एलओडीले प्रत्यक्ष रूपमा १२७ जनालाई रोजगारी दिएको छ। नियमित रुपमा प्रस्तुति दिने सबिन राई, अल्बाट्रस, १९७४ एडी र डिजेहरू नगन्दा पनि। खुलेको चार महिनाभित्रै झण्डै २० हजार ग्राहक आइसकेका छन्। 

भिडियो रिपोर्ट : काठमाडौंमै यस्तो नाइट क्लब

एलओडीमा २२ करोडसम्म लगानी भएको चर्चा छ। तर, यसका सञ्चालकहरू लगानीबारे आधिकारिक रुपमा बोल्दैनन्। यति मात्रै भन्छन् – नेपालकै सबैभन्दा ठूलो लगानीमा बनेको नाइट क्लब हो याे।

रविन भन्छन्, ‘हामीले लाइट, साउन्ड सिस्टम र इन्टेरियर डिजाइनिङको गुणस्तरमा सम्झौता गरेनौँ। यसैले, बनाउँदै जाँदा अनुमानित लागतभन्दा दोब्बर लगानी पर्‍यो।’

एलओडीले चीनबाट लाइट उपकरणहरू ल्याएको छ। यहाँ जडित हाइड्रोलिक लाइट १२ फिटसम्म तल झरेर सरर मूभ हुन्छ। विश्व प्रसिद्ध जर्मन कम्पनी डी एन्ड बीको साउन्ड सिस्टम ल्याएको छ।

रविन भन्छन्, ‘पहिले पर्यटकहरू सगरमाथा चढ्न र गरीबी हेर्न नेपाल आउँथे, अब नाइट क्लबमा रमाउन पनि काठमाडौं आउन सक्छन्।’

बद्लिँदो क्लब कल्चर

सोचेभन्दा दोब्बर लगानी परेपछि एलओडीका लगानीकर्ताहरू केही संशयमा थिए। लगानी डुब्ला कि भन्ने पीर उनीहरूको मनमा थियो। 

वीस वर्षअघि नै नाइट क्लब सञ्चालनको अनुभव बटुलेका भूपेन कुवँर र राजु सिंह पनि संकोचमा थिए। किनकि, त्यो बेला नाइट क्लब जाने नेपालीको संख्या नगन्य थियो। महिलाहरू त झन् नाइट क्लब जाँदै जाँदैनन् थिए। जो जान्थे, उनीहरूलाई पनि राम्रो दृष्टिकोणले हेरिँदैन थियो। 

शुक्रबार र छुट्टीमा मात्र होइन, हरेक रात एलओडीभित्रको दृश्य यस्तै जीवन्त देखिन्छ । तस्वीरः रिवाज राई

तर, एलओडी खुलेको चार महिनामै उनीहरू ढुक्क भएका छन् – हाम्रो लगानी छिट्टै उठ्छ। 

यी २० वर्षमा काठमाडौंको नाइट क्लब कल्चरमा आकाश–जमिनको अन्तर आएको अनुभव भूपेनको छ। त्यो बेला काठमाडौंका नाइट क्लब जाने मानिसमध्ये ८० प्रतिशत विदेशी हुन्थे। अहिले ८० प्रतिशत नेपाली हुन्छन्। अचेल नाइट क्लबभित्र युवा र युवतीको संख्या बराबर जस्तो हुन्छ। सपरिवार नाइट क्लब जानेहरू पनि बढेका छन्। 

भूपेनका अनुसार, अचेल विदेश घुम्ने नेपालीको संख्या बढेको छ। काठमाडौंका ७०–८० प्रतिशत सहरियाले त कम्तीमा चार–पाँच वटा देश घुमेकै छन्।

विदेश घुमेर आउने नेपालीलाई नाइट क्लब चाहिन्छ नै। यसैले, काठमाडौंमा नाइट क्लब कल्चर एकदमै छिटो विकास भएको हो।

हुन त नेपाल अझै पनि अल्पविकसित देशकै रुपमा चिनिन्छ। नेपालीको प्रतिव्यक्ति आय पनि धेरै छैन। तैपनि, काठमाडौंमा क्लब कल्चर बढ्नुको कारण यहाँको खुलापन पनि रहेको भूपेन बताउँछन्। 

भूपेन भन्छन्, ‘नेपाल अरु देशभन्दा अविकसित होला। तर, सोचको हिसाबले धेरै देशभन्दा विकसित छ। दक्षिण एसियामा काठमाडौंजस्तो उदार संस्कृति भएको राजधानी अन्त कहाँ छ र?’

यसैले, एलओडी म्यूजिक, मदिरा र मस्तीको नयाँ मक्का बनेको छ। काठमाडौंको भागदौड केही बेर भुल्न चाहने नेपालीहरू हुन् वा लामो पदयात्रा गरेर काठमाडौं फर्कने विदेशीहरू, सबैका लागि एलओडी पहिलो रोजाईको मधुशाला बनेको छ।

एलओडीभित्रको एक दृश्य । तस्वीरः रिवाज राई

 

 Published Date: Saturday, 8th June 11:19:04 AM