बिहीबार, साउन २९, २०७७

कम्पनीमा हुने जातीय विभेद अन्त्यको समय आयो

सन् १९१६ मै बाबासाहेब अम्बेडकरले भनेका थिए-'जातको समस्या जटिल किसिमको छ। सतहमा यो रैथाने समस्या देखिन्छ तर नेपथ्यमा यसको जालो जहाँ पनि फैलिरहेको छ। जातका मानसिकता बोक्ने मानिसहर जस्तै ठाउँमा पुगेपनि उनीहरु भएको स्थानमा यो समस्या कायमै भइरहन्छ। जातको समस्या विश्वकै समस्या हुनेछ।'

अम्बेडकरको यो धारणा १ सय ४ वर्षपछि पनि सान्दर्भिक हुन आइपुग्यो। गत महिना क्यालिफोर्नियामा भएको घटनाले जातको समस्या विश्वकै समस्या हुने अम्बेडकरको आंकलन सही ठहर भयो। अमेरिकाको रोजगार तथा आवास अन्तर्गतको निकायले सूचना प्रविधि सम्बन्धी काम गर्ने अर्बौँ लगानी भएको कम्पनीलाई दलित इन्जिनीयरलाई विभेद गरेको भन्दै कानूनी कारबाहीको प्रक्रिया अघि बढाएको छ।

जोन डो नाम गरेका भारतीय मुलका अमेरिकी नागरिकलाई सहकर्मीहरुले जातीय विभेद गरेको भन्दै उनले कारबाहीको माग गर्दै मुद्दा दायर गरेका थिए। जात व्यवस्था कारण विश्वभर २६ करोड मानिस प्रभावित छन्। जात व्यवस्थाको सबैभन्दा तल दलित जातका मानिस छन्। उनीहरुले छुवाछूतको समस्या भोनुपर्छ, सामाजिक तिरष्कारदेखि हिंसा समेत खेप्नुपरेको अवस्था छ। 

सूचना तथा प्रविधि कम्पनी धेरै भएको सिलिकन भ्यालीमा जातीय समस्या धेरै नै छ। त्यहाँका कम्पनीहरुले भारतीय आप्रवासीहरुलाई रोजगार दिएका छन् र भारतीय मूलका अमेरिकी नागरिकहरुले उनीहरुमाथि निकै विभेद गर्ने गर्छन्।  ब्राह्मण समुदायका पुरुषले  आफ्नो सहकर्मीहरुले जनै लगाएको नलागएकोबारे निर्क्यौल गर्न नियतबस डाढमा धाप मार्छन्। 

त्यतिमात्रै होइन उनीहरुले धर्म र जातकाबारेमा समेत सिधै प्रश्न गर्छन्। धर्म र जातका आधारमा उनीहरुले गर्ने व्यवहार निकै फरक पाउन सकिन्छ। जातीय व्यवस्थामा उपल्लो वर्गका मानिसहरुमा जातको संकिर्णता कायमै छ। उनीहरु जहाँ गएपनि कुनै न कुनै रुपमा त्यो संकिर्ण मानसिकता बाहिर देखाउँछन्। सन् २०१६ मा कम्पनीहरुमा समानताको बारेमा अध्ययन गर्ने संस्था इक्वेलिटी ल्याबको अध्ययन पनि यो निष्कर्ष निकालेको थियो।

अध्ययनमा संलग्न चार  दलितमध्ये एकले, मौखिक तथा शारीरिक आक्रमण व्यहोरेको बताउका थिए। तीनमध्ये एक दलित विद्यार्थीले अध्यननका क्रममा विभेद व्यहोर्नु परेको प्रतिक्रिया दिएका थिए। अध्ययनमा सहभागी ६७ प्रतिशत दलित समुदायका मानिसले रोजगारदाताकोमा उनीहरु विभेदको शिकार भएको बताएका थिए। 

अमेरिकी प्रविधि कम्पनीहरुमा जात व्यवस्था विस्तारै हाबी हुन थालेपछि योग्यता राम्रै भएका दलित समुदायका मानिसहरुले अवसर सहजै पाउन छोडेका छन्। प्रविधि कम्पनीहरुमा मात्रै होइन अन्य कम्पनीमा पनि यो अभ्यास देख्न सकिन्छ। विश्विविद्यालयमा प्रोफेसरका सिफारिसमा हुने जागिरमा यो समस्या झन् विकराल छ। उपल्लो जातका प्रोफेसरहरुले दलित समुदायका विद्यार्थीहरुलाई अवसर दिन हिचकिच्याउँछन्।

प्रविधिका कम्पनीमा यस्तो अवस्था छ कि उपल्लो जातका मानिसहरुले हरेक कम्पनीमा आफ्ना सञ्जाल विस्तार गरेका छन्। जब दलित समुदायका मानिसहरु अन्तर्वार्ताका लागि पुग्छन् उनीहरुले सहजै प्रवेश दिन मान्दैनन्। सकभर त्यो उम्मेदवारलाई फाल्ने नै उनीहरुको ध्याउन्न हुने गरेको अन्तर्वार्तमा दिएका मानिसहरुको अनुभव छ।

दलित समुदायका मानिसहरुले काममा बन्धी जस्तो अनुभव गर्न थालेपछि उनीहरुले काम छोड्ने गरेको अनुभव मैले भारतमा  गरेको थिएँ। दु: खका साथ भन्नुपर्छ अमेरिकामा पनि त्यही परिस्थिति सिर्जना भएको छ। अमेरिकामा समेत दलित समुदायका मानिसहरूलाई हरेक क्षेत्रमा विभेदले पछ्याइरहेको हुन्छ। हाम्रा जात र पहिचानमाथि मजाक र घोचपेच निरन्तर सन्नुपर्छ।  काममा उत्पीडन व्यहोर्नुपर्ने हुँदा दलित जातका मानिसहरु आफ्नो पहिचान लुकाइरहेका हुन्छन्। 

मेरो समेत यसमा तीतो अनुभव छ। मैले काम गर्ने कम्पनीमा भारतीय मूलका प्रबन्धकले जातकै कारणले ममाथि फरक व्यवहार गर्न थाले।  ती प्रबन्धकले छुवाछूत जस्तो निकृष्ट व्यवहार म माथि गर्न थाले। मेरो जातकै कारणले उनले म माथि गरेको व्यवहार मलाई सह्य भएन त्यसपछि मैले जागिर छाडेँ। 

रोजगारदाता कम्पनीमा धेरै उपल्लो जातका मानिसका सञ्जाल विस्तार हुँदा दलित समुदायका कामदारहरुको श्रम शोषण पनि भइरहेको छ। संरचनात्मक रुपमा यो व्यवस्था देखिन थालेकाले अमेरिकी सरकारले यसप्रति कठोर हुन जरुरी छ। 

सिस्कोको घटनाका कारण अब यो कुरा  अमेरिकी राज्यकै सामुन्ने आइपुगेको छ। अब खोज्ने बेला भएको छ जात व्यवस्थाका कारण कति जना क्षमतावान मानिसले अवसर पाएनन्?, जातका आधारमा हुने भेदभावको अवस्था कस्तो छ?,  दलित समुदायका कामदारहरुप्रति बन्धी जस्तो व्यवहार हुँदा कम्पनीमा कस्तो असर परेको छ?

जोन डोले देखाएको साहसका कारण अब यो निकृष्ट अभ्यास अन्त्यका लागि लड्नका लागि सबैलाई प्रेरणा मिलेको छ। तर भिषाको अवस्थाका कारण दबिएका मानिसहरुले पनि दरिलो रुपमा विभेदविरुद्ध आवाज उठाउन सकेका छैनन्। विभेदविरुद्ध बोल्न जोन डोले देखाएका प्रेरणा सह्रानीय छ। विभेद सहनु पनि अपराध नै हो।

यो अपराधका विरुद्धमा सबै एकजुट हुनैपर्छ। सिस्कोमा घटेको घटनाविरुद्ध कानूनी कारबाही चलिरहेको छ। त्यसको फैसलाबाट अरु कम्पनीहरुले पनि पाठ सिक्लान् र अमेरिकामा पनि जातको संर्किणता बोकेका मानिसहरुमा बुद्धि पलाउँला र क्रमश जातकै आधारमा अमेरिकामा घट्दै आएका घटना पनि विस्तारै अन्त्य होला।

-अलजजिरामा प्रकाशित सामाग्रीको भावानुवाद
 

 Published Date: Saturday, 1st August 18:35:23 PM