बिहीबार, असार २५, २०७७

विभाग भन्छ, ‘अर्को व्यवस्था नभए जेठ २५ सम्म कर तिर्नै पर्छ’

काठमाडौं, जेठ २० : सरकारले जेठ २५ गतेभित्र कर दाखिला गर्नुपर्ने सूचना निकालेपछि चौतर्फी विरोध भइरहेका बेला आन्तरिक राजश्व विभागले तोकिएको समयमा कर दाखिला गर्नै पर्ने जनाएको छ। 

जेठ ३२ गतेसम्म लकडाउनको घोषणा गरेको सरकारले जेठ २५ भित्रै कर तिर्न जारी गरेको सूचनाको चौतर्फी विरोध भैरहेको छ । तर पनि विभागले त्यसमा तत्काल हेरफेर नहुने अडान जारी राखेको छ।
 
विभागका महानिर्देशक विनोदबहादुर कुँवरले अर्को व्यवस्था नभए जेठ २५ गतेभित्रै अनिवार्यरुपमा कर तिर्नुपर्ने बताए। ‘फागुन र चैतमा बुझाउनुपर्ने करको म्याद थपेर जेठ २५ गतेसम्म पुर्‍याइएको हो,’ महानिर्देशक कुवरले भने, ‘आजको सूचना कर तिर्ने म्याद जेठ २५ सम्म छ है भनेर स्मरण गराउन निकालेको हो। तर, सरकारले अर्को निर्णय नगरे अनिवार्य सोही मितिमा कर तिर्नुपर्छ।’ 

व्यवसायीहरुले त सरकारले घरमा थुनेर राखेकाले कर तिर्न नसकिने बताएका छन् नी भन्ने प्रश्नमा कुँवरले भने, ‘व्यापार व्यवसाय नभए कर तिर्नु पर्दैन, कर विवरण बुझाउने हो। आम्दानी गरेको छैन भने कर तिर्नै पर्दैन, विवरण मात्रै बुझाए भै हाल्यो नी ।’ 

व्यवसायीहरुले लकडाउनका कारण घरमा थुनेर राखेकाले कहाँबाट पैसा ल्याएर कर तिर्ने र कर तिर्न कसरी जाने भन्दै विरोध जनाएका छन् । तर, सरकारले भने जेठ २५ भित्र कर नतिरे नियमानुसार जरिवाना गर्ने बताएको छ। 
 
चैत ११ गते लकडाउन भएपछि सरकारले पहिलो पटक चैत २५ मा बुझाउनुपर्ने समयसिमालाई बैशाख २५ मा सारेको थियो । त्यसपछि बैशाख २५ मा सारेको सिमालाई जेठ २५ सम्म पुर्‍याइएको थियो ।

 Published Date: Tuesday, 2nd June 17:22:08 PM