मंगलबार, मंसिर ९, २०७७

'भारतमा सफाई कर्मचारी आन्दोलन दासप्रथा अन्त्यको आवश्यकताले जन्मिएको हो'

भारतमा सफाई कर्मचारी आन्दोलन कहिलेदेखि प्रारम्भ भयो ?

यो आन्दोलन कुनै दर्ता भएको संस्थाले प्रारम्भ गरेको होइन। त्यसैले कहिलेदेखि सुरु भयो भन्ने यकिन मिति मसँग छैन। तर यति भन्न सक्छु जब मानिसले दमनको महशुस गर्छ त्यसले प्रतिरोध अवश्य जन्माउँछ। सफाई पेशामा संलग्न मानिसहरुलाई गरिने निकृष्ट व्यवहार जब सहनै नसक्ने स्थितिमा पुग्यो तब प्रतिरोध जन्मियो।

समाजले संघर्षको सम्झना गर्दैन । केबल सफलताको मात्रै गर्छ। आन्दोलनले बृहत रुप लिनुअघि देखिनै हामीले विविध संघर्ष गरेका थियौँ ।त्यसैले यो आन्दोलनलाई ३६ वर्ष पहिले सुरुवात भएको भन्दा विगतका संघर्षमा आघात पुग्छ।

यो आन्दोलन कहाँबाट सुरुवात भएको थियो?

दक्षिण भारतबाट सुरु भएको यो आन्दोलन हैदरावाद हुँदै दिल्लीसम्म पुगेपछि हाम्रा मागको सम्बोधन भएको थियो। आन्दोलनको सुरुवात भन्दा त्यसको वेग अघि बढाउन निकै जरुरी हुँदोरहेछ तब मात्र शासकले सुन्ने रहेछ। आन्दोलनको वेग अघि बढेन भने त्यसले कहिलेपनि सार्थकता पाउँदैन।

१८ वर्षको युवा उमेरमा सफाई कर्मचारी आन्दोलनको नेतृत्व गर्न तपाइँ कसरी प्रेरित हुनुभयो?

मेरा परिवारका सदस्यहरु शौचालय सफा गर्ने पेशमा संलग्न थिए। उनीहरुलाई गरिने र्दुव्यवहारले म आजित थिए। कोही मानिस कसैको दास भएर बस्दा खुशी हुँदैन। यो दासी व्यवहार स्वीकार गर्ने अवस्था थिएन। त्यसलाई निर्मूल पार्नुपर्ने खाँचो थियो। आवश्यकताले आन्दोलन जन्माउँछ। सफाई कर्मचारी आन्दोलन दासप्रथा अन्त्यको आवश्यकताले जन्मिएको हो। जात व्यवस्थाले दास प्रथाको मलजल गरेको थियो। यो व्यवस्था हाबी हुँदा मानिसको आत्मसम्मान र स्वाभिमान गुमेको थियो।  आफ्नो आत्मसम्मानका खातिर स्वतस्फूर्त रुपमा सफाई कर्मचारी आन्दोलन भएको हो। कार्यालय सफाई गर्ने कुचीकार, शौचालय सफाई गर्ने हात, सिनो व्यवस्थापनका सीप भएका मानिसहरुको साथलेनै यो आन्दोलन उचाईमा पुगेको थियो। त्यसैले यो सामुदायिक सुरुवात थियो कोही व्यक्तिबाट मात्रै यसको सुरुवात भएको होइन।

सफाई कर्मचारी आन्दोलनको यात्रालाई तपाइँ  कसरी स्मरण गर्नुहुन्छ?

सफाईमा संलग्न महिलाहरुको अवस्था निकै दर्दनाक थियो। कम पैसामा ज्यादै निकृष्ट काम गर्नुपर्ने उनीहरुको बाध्यताले मलाई ज्यादै छोयो। साथीभाई आफन्तका अघि म यस्ता कुराको विरोध गर्थे। उनीहरुले मलाई जिस्काउँथे।  ती महिलाहरुको अवस्थाले मलाई हौसल्ला प्रदान गरिरह्यो। यो आन्दोलनका वास्तविक योद्धा उनीहरुनै हुन्। यो आन्दोलनको दौरानमा मलाई दुई व्यक्तिबाट महत्वपूर्ण साथ मिलेको थियो।  सबैले मलाई निरुत्साहित गरिरहेका बेला बीएच राव र  पल रिवालले मलाई प्रेरणा प्रदान गरेँ। रिवाललले मलाई अम्बेडकर जस्तै साइकल यात्रामा निस्किएर सचेतना फैलाउने उपाय दिए। त्यसपछि म यात्रामा निस्किँए। ४० दिनसम्म साइकलमा गाउँवस्ती चाहार्दा मैले जातीय व्यवस्थाले निम्तयाएका कहाली लाग्दो जीवनको दृश्य देखँ। हैदरवादसम्म पुग्दा उही अवस्था थियो। दलितको जीवन कहीँ सहज देखिन। १० वर्षसम्म आन्दोलनको कुनै नाम निदिइकन हामीले संघर्ष जारी राख्यौँ। विभेदविरुद्धको आवाज उठाउँदा यो हदको सफलताको अपेक्षा राखिएको थिएन। त्यसैले म भन्न चाहान्छु आफू विरुद्ध भएका विभेदहरुको आवाज शसक्त रुपमा उठाउँ, नतिजाको कल्पना पहिल्यै तय  गरेर निरुत्साहित नबनौँ। विभेद विरुद्धको संघर्षको सफलता निश्चित हुन्छ। एकै रातमा सबै कुरा परिवर्तन हुँदैन। समय लाग्छ भनेर दबिएर नबसौँ। याद गरौँ संघर्षको सुरुवातनै सफलता हो।

सफाई आन्दोलन चलाउने दौरानमा तपाइँले कस्ता कस्ता चुनौती व्यहोर्नुभयो?

यो आन्दोलनको सुरुवात गर्दा  दमनमा परेका समुदायको मानसिकता  परिवर्तन गर्नुनै पहिलो चुनौती थियो। हल्लागर्दा रोजगारी गुम्ने खतरा भएकाले शान्त रहनुनै उचित हुन्छ भन्ने धेरैको मत थियो। उनीहरुको मौनतालाई तोड्न मलाई निकै समय लाग्यो। जब उनीहरुले मौनता तोड्न सुरु गरे त्यसपछिको नतिजा ज्यादै सुन्दर हुनपुग्यो। मौनताले दमनको अन्त्य कहिल्यै  हुँदैन भन्ने बुझाउन धेरै कठिन भएको थियो। दोस्रो राज्यसत्ता चुनौतीपूर्ण थियो। यस्ता आन्दोलनको नेतृत्व गर्ने व्यक्तिहरुलाई मान सम्मान दिएर, पदलाभ लिएर वा आर्थिक सुविधा दिएर वा फकाएर आन्दोलन अन्त्य गर्न राज्यले मनाउन खोज्छ। मानेनन भने नैतिक पतनमा फसाउन खोज्छ। यी दुई विषय मेरा लागि चुनौती थियो।  यस्ता चुनौतीबाट विचलित भने भइन। लक्ष्यप्राप्तिका लागि संघर्ष थालेपछि समुदायबाट प्राप्त साथ सहयोगले  राज्यसत्ताबाट प्राप्त हुने चुनौतीको सामना गर्न प्रेरित गरिरह्यो।

चुनौतीका बाबजुद पनि यो सफाई आन्दोलनले कसरी सफलता हाँसिल गर्यो?

यो आन्दोलन निश्चित समुदायका मानिसहरुप्रति लक्षित थियो। चेतना भएका अन्य समुदायका मानिसहरुले पनि हाम्रा माग सम्बोधनका लागि ऐक्यबद्धता व्यक्त गरे। यो समस्या निश्चित जातका मानिसले खेपेका थिए। तर यसको समाधानमा अन्य समुदायका मानिसहरुको भूमिका पनि स्मरण लायक छ। नागरिक समाजका मानिसहरुले हाम्रा आवाजलाई  राज्यको कानमा पुर्‍याउन सहयोग गरे। त्यसैले हाम्रो संघर्षले सफलता हात पार्यो।

राज्यसत्ता माग सम्बोधनका लागि कसरी तयार भयो?

आफ्ना माग सम्बोधनका लागि राज्यसत्ता तयार भएन भने त्यसलाई आफूप्रति उत्तरदायी बनाउनुपर्ने हुन्छ। त्यसका लागि आफ्ना अभियानलाई सशक्त बनाउन जरुरी हुन्छ।

जब दमितका प्रतिरोधका ध्वनी राज्यको कानमा पर्छ उ निश्चय पनि झस्किन्छ र माग सम्बोधनका लागि तयार हुन्छ। राज्यले दिने लाभबाट अभियानलाई विचलित गराइयो भने मात्रै हो माग सम्बोधनका लागि समय लाग्ने। राज्यको सोचमा पनि परिवर्तन ल्याउन जरुरी छ। भारतको संविधानले भन्थ्यो जातीय विभेद दण्डनीय छ। फोहोर फाल्ने मानिस चाहीँ सुघरी र सफाई कर्मचारी चाहिँ फोहोरी ठान्ने मानसिकताले विभेदलाई प्रश्रय दिइरह्यो। राज्य सत्ताको यो सोच फाल्न समय लाग्यो । तर उनीहरुमा चेतना पलाएपछि हाम्रा माग सम्बोधनक लागि राज्य पनि तयार भयो। राज्यसँग कानुन पनि थियो। तर पालना भएको थिएन। सफाई पेशामा आवद्ध महिलाहरुले सरोकारवालाहरुलाई कानुनका दफा उपलब्ध गराएर माग सम्बोधनका लागि दबाब दिइरहे। त्यसपछि माग सम्बोधन भयो।

(यो दलित लाइभ्स म्याटर नेपाल मा समता फाउण्डेशनका अध्यक्ष प्रदिप परियारले भारतीय सफाई कर्मचारी अभियानका अभियान्ता बेजवादा विल्सनसँग गरेको कास्ट कन्भरशेसन सिरिजको अन्तर्वार्ता हो)

 Published Date: Monday, 27th July 2020 6:10:34 am