शुक्रबार, कात्तिक १, २०७६

‘दीगो पर्यटनका लागि संख्या मात्रै सफलताको वास्तविक संकेत होइन’

पर्यटनसम्बन्धी अमेरिकी विज्ञहरू दाया पिटर न्युमेन र बाया स्टिभन आर लसन | तस्वीर:काठमाडौं प्रेस

काठमाडौं‑ पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार निर्माण महत्वपूर्ण हुन्छ तर नेपालको सवालमा कमजोर पारिस्थितिक प्रणाली र स्थानीय समुदाय, संस्कृति र वातावरणमा पर्ने सम्भावित प्रभावलाई मनन गर्नुपर्ने हुन्छ।

गत साता नेपालका उच्च पर्यटन अधिकारी, उद्यमी र सरोकारवालासँग भेट गर्दै दीगो पर्यटनसम्बन्धी अमेरिकी विज्ञहरू पिटर न्युमेन र डा. स्टिभन आर लसनले दिएको मुख्य सन्देश यही हो। न्युमेन पेन स्टेन युनिभर्सिटीको रिक्रियशन, पार्क एन्ड टुरिजम म्यानेज्मेन्ट डिपार्टमेन्टका प्रमुख हुन्। लसन राष्ट्रिय पार्कका अनुसन्धाता तथा  रिसोर्सेज ग्रुप इन्स्टिच्युटका निर्देशक हुन् । नेपाल भ्रमण वर्ष -२०२० अगावै नेपाली अधिकारी र उद्यमीसँग दीगो पर्यटनका अवधारणा आदानप्रदान गर्न काठमाडौंस्थित अमेरिकी दूतावासले उनीहरूलाई निम्त्याएको हो। भ्रमण वर्ष- २०२० ले आउने वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

स्वेदश फर्किनुअघि काठमाडौं प्रेसका लागि गोविन्द परियार केदार दाहालले उनीहरूसँग दीगो पर्यटनसम्बन्धी विविध मुद्दामा अन्तर्वार्ता लिने अवसर पाएको थियो। सम्पादित अंशः

Read this interview in English: In sustainable tourism, number is not the true measure of success

नेपाली पर्यटन अधिकारी र उद्यमीसँग भेटेपछि नेपालमा दीगो पर्यटनको भविष्यबारे तपाईंहरुको सुझाव के छ?

नेपालमा पर्यटनको अभूतपूर्व सम्भावना छ। नेपालमा विश्वप्रसिद्ध प्राकृतिक श्रोत र साँस्कृतिक सम्पदा छन्। विश्वमा नेपाल त्यसरी नै विशिष्ट रूपमा अवस्थित छ। हामीले यो साता अनुभव गरेको एउटा कुरा के हो भने नेपालमा दीगो पर्यटनको भविष्यलाई सफल बनाउन सक्ने उत्साहित व्यक्ति धेरै छन्। त्यसैले नेपालमा प्रचुर सम्भावना छ।

तपाईं दुवै जनाले राष्ट्रिय पार्कसम्बन्धी काम गर्नुभएको छ। सानो देश भए पनि नेपालमा दश वटा राष्ट्रिय पार्क छन्। पर्यटक आकर्षित गर्ने सवालमा नेपालले ती राष्ट्रिय पार्कबाट कसरी फाइदा लिनसक्छ?

अमेरिकामा ठूला प्राकृतिक क्षेत्रदेखि साँस्कृतिक सम्पदा क्षेत्रलाई पनि राष्ट्रिय पार्क बनाइएको छ। यस्ता सम्पदा क्षेत्रहरू ठूला पनि हुनसक्छन् तर निकै साना साँस्कृतिक क्षेत्र र अमेरिकी इतिहासको कथा भन्ने राष्ट्रिय युद्ध क्षेत्र पनि हुनसक्छन्। त्यसैले राष्ट्रिय पार्कबारे हामीले कुरा गर्दा, हामीले विभिन्न प्रकारका स्थानबारे कुरा गरिरहेका हुन्छौं।

नेपालमा बजार प्रवर्द्धन र आउटरिचमार्फत पर्यटन प्रवर्द्धन गर्ने प्रशस्त सम्भावना भएको हामी देख्यौं। सम्भावित आगन्तुक र नेपाल भ्रमण गर्दा उनीहरू के खोज्छन् ? त्यो बुझ्न बजार अनुसन्धान महत्वपूर्ण हुन्छ।

पर्वतारोहण नेपाली पर्यटन उद्योगको मुख्य आधार सधैं रहँदै आएको छ। यसबाहेक पर्यटन अर्थतन्त्र वृद्धि गर्न नेपालले अन्वेषण गर्नसक्ने अन्य क्षेत्र के छन्?

पर्वतारोहण निश्चय पनि नेपालमा पर्यटनको मुख्य उत्पादन हो र यो विश्वस्तरको पनि छ। त्यसैले त्यो एकाग्रता कामय राख्नु उपलब्धिमूलक हुनेछ।

हाम्रो भ्रमणमा हामीले धार्मिक पर्यटनको महत्वबारे धेरै सुन्यौं। धार्मिक प्रयोजनका लागि नेपाल भ्रमण नगर्नेहरूका लागि पनि साँस्कृतिक सम्पदा क्षेत्रबारे थाहा पाउनु र त्यसको प्रशंसा गर्नु साँच्चै महत्वपूर्ण छ। स्थानीय नेपाली परिवारसँग बसेर स्थानीय परिकार र पारिवारिक जीवनको अनुभव गराउने होमस्टेका अवसरबारे पनि धेरै सुन्याैं। मेरो विचारमा त्यहाँ धेरै अवसर छ। मानिसहरूले कुनै स्थान भ्रमण गर्दा, रिसोर्टजस्ता सुविधाका कारण त्यस्तो वास्तविक अनुभव गर्न कठिन हुन्छ। त्यसैले स्थानीय समुदायसँग साँच्चिकै समायोजन हुने अवसर सिर्जना गर्नु निकै आकर्षक देखिन्छ।

पर्यटनसम्बन्धी अमेरिकी विज्ञहरू दाया पिटर न्युमेन र बाया स्टिभन आर लसन

ट्रेकिङको विविधता पनि हामीले सुनेको अर्को क्षेत्र हो। ट्रेकिङको अनुभवमा विविधता ल्याउन सकिन्छ भन्ने सोंच रहेछ। अनुभवमा आधारित योजना सिर्जना गर्ने इच्छा रहेछ। अनि वन्यजन्तु। चितवन, बर्दिया त्यहाँका बाघ पर्यटनको मुख्य विषय हुन्। यसले सम्पूर्ण तस्वीर देखाउँछ जुन आश्चर्यजनक छ।

साँस्कृतिक क्षेत्रसँगै ट्रेकिङ यात्राको प्याकेज बनाउने अवधारणा पनि रहेछ। अहिले मानिसहरू साँस्कृतिक सम्पदा स्थलमा ट्रेकिङ जाने वा समय बिताउने चलन रहेछ। यहाँ आएकारूलाई केहि समय ती साँस्कृतिक सम्पदा स्थलमा समय बिताउने र देशमा बसाइँ लम्ब्याउने अवसरहरूकाे व्यवस्थापन पनि निकै सम्भावना छ। 

हिमाल पर्यटनमा के चुनौती देख्नुहुन्छ?

यो साता हाम्रो संवादबाट हामीले सम्झेको केही कुराहरूमा पर्यटनलाई सहयोग गर्ने पूर्वाधारको विकास र यातायात प्रणाली हुन्। पूर्वाधारको विकासबारे सोच्नु अत्यन्तै महत्वपूर्ण छ भन्ने हामीले अमेरिकामा सिकेका छौं । तर पहिले तपाईंको प्राकृतिक श्रोत, ती पार्क र संरक्षित क्षेत्र, हिमालका अनुभव, पारिस्थितिक अवस्थाबारे के चाहनुहुन्छ? त्यसका लागि लक्ष्यहरू तय गर्नुपर्छ। ती अवस्थाहरू कस्तो होस् भन्ने चाहन्छौं? अनि मात्र पार्क र हिमालका लागि तय गरिएका ती लक्ष्यलाई सहयोग गर्ने पूर्वाधार र यातायातको विकास गर्न सक्छौं।

हिमाल पर्यटन आफैंमा चुनौतीपूर्ण छ। प्रभाव उत्पन्न हुने पारिस्थितिक अवस्था हुन्छ। हिमरेखामुनि छोटो सिजनमा चाँडै वनस्पति उम्रिन कठिन हुन्छ। यो एकदमै छोटो सिजन हुन्छ। त्यसैले प्रभाव एकदमै तीव्र हुन्छ तर फेरि पलाउन निकै समय लाग्छ।

हामीले विभिन्न स्थानमा मानिसहरूको भीड वा लाम देखेका छौं। अमेरिका र विश्वभरिका लोकप्रिय राष्ट्रिय पार्कमा यो सामान्य हो। मानिसहरू एउटै समयमा एउटै स्थान जान चाहन्छन् जसले धेरै चुनौतीहरू सिर्जना गर्छ।

के तपाईंहरू आगन्तुकको संख्या बढाउने अवधारणाको पक्षमा हुनुहुन्छ?

नेपालले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। अमेरिकामा विशेषगरी हाम्रा राष्ट्रिय पार्कको सवालमा एउटा रोचक इतिहास छ। राष्ट्रिय पार्कमा आगन्तुक प्रवर्द्धन गर्ने सवालमा सुरूका वर्षहरूमा राष्ट्रिय पार्कमा रूची सिर्जना गर्ने प्रयासमा बलियो अभियान थालनी गरिएको थियो। राष्ट्रिय पार्कको पर्यटन उद्योग बचाउनलाई आगन्तुकको संख्या बढाउने प्रयास पनि गरियो। आज हाम्रा राष्ट्रिय पार्कमा ३० करोड आगन्तुक आउँछन्।

यसले हाम्रा लागि पनि चुनौतीहरू सिर्जन गरेका छन्। यो हाम्रा लागि ठूलो अवसर हो। मानिसहरू ती स्थानमा जाऊन् भन्ने हामी चाहन्छौं। जीवन परिवर्तन गर्ने अनुभव लिऊन्, वातावरणलाई माया गर्न सिकून् र अमेरिकी इतिहासबारे जानून् भन्ने हाम्रो चाहना हो। तर यसले भीडभाड, श्रोतमा पर्ने प्रभाव, स्थानीय समुदायको सवालमा चुनौतीहरू सिर्जना गर्दछ। हो यसले आम्दानी त बढ्छ तर स्थानीय समुदायमा नकारात्मक प्रभाव पनि पार्नसक्छ। पर्यटनमा हुने तीव्र वृद्धिले ल्याउने प्रभाव सम्बोधन गर्न हामीले धेरै मेहनत गर्नुपर्‍यो।

त्यसैले धेरैभन्दा धेरै मानिसहरूले नेपालको प्राकृतिक र साँस्कृति श्रोतको अनुभव लिऊन् भन्ने हामी चाहन्छौं। तर फेरि पनि, नेपालले आफ्नो प्राकृतिक श्रोत, हिमाल र साँस्कृतिक सम्पदा स्थलका लागि चाहेको अवस्थाबारे के चाहन्छ, त्यसबारे सोच्न थाल्नु महत्वपूर्ण हुन्छ।

दीगो पर्यटनको सफलताको वास्तविक मापक आगन्तुकको संख्या मात्रै होइन। ती श्रोतको अवस्था र मानिसहरूले गर्ने अनुभव र त्यही अनुभव गर्न चाहने अन्यलाई उनीहरूले के भन्छन् त्यो पनि हो।

दीगो पर्यटनको सवालमा मुख्य चासो विशेषगरी नेपालको सवालमा के हो?

विश्वव्यापी रूपमा उब्जिएको ठूलो मुद्दा “ओभरटुरिजम” हो। थोरै स्थानमा धेरै मानिसहरू छन्। तर प्रष्टसँग विभिन्न स्थानहरू भएको पूर्वाधार सिर्जना गर्नसक्यौं भने त्यो माग पूरा गर्दै आपूर्ति बढाउने एउटा अर्थपूर्ण तरिका पनि हुनसक्छ।

नेपाल एउटा महत्वपूर्ण स्थानमा छ। यसले ती विभिन्न अनुभवहरू परिभाषित गरिरहेको छ। र ती स्थानहरू कस्तो हुनेछन् भनेर हाम्रो परिकल्पना बताउने उपयुक्त समय पनि हो। सम्पदाको आधारमा, वातावरणको आधारमा हाम्रो विशेषता पनि यहि हो। ती सबै स्थानमा यो प्रष्ट परिकल्पना हुनाले पूर्वाधारको विकास पनि सम्भव हुनेछ। जसले विद्यमान उच्च गुणस्तरीय अवस्थाहरू पनि पूरा गर्नेछ।

यो साता मानिसहरूसँग कुराकानी गर्ने क्रममा हामीले के थाहा पायौं भने नेपालमा केही स्थान विशेष छन् । जहाँ कहिलेकाहिँ पर्यटकको घुइँचो लाग्नेगर्छ। हामीसँग कुराकानी गर्ने व्यक्तिले सगरमाथाको उदाहरण पनि दिए। त्यहाँ समय समयमा अत्यधिक भीड हुनेगर्छ। तर ट्रेकिङ र पर्वतारोहणको अद्भूत अनुभव दिने अन्य उपत्यकाहरू पनि छन् जहाँ पर्यटक आकर्षित हुँदैनन्। त्यहाँका स्थानीय समुदायहरू नेपालको पर्यटन सम्भावनाबाट आर्थिक रूपमा लाभान्वित हुन सकेका छैनन्।

त्यसैले अवसरको प्रणालीको रूपमा ती सबै स्थानबारे विचार गर्नु महत्त्वपूर्ण हुन्छ। यदि केही स्थान पर्यटनको चापको तनावका कारण प्रभावित हुन्छ र अन्य स्थानको पर्यटकीय क्षमता विकास हुँदैन भने  त्यसका लागि ठोस योजना र कार्यक्रम आवश्यक पर्नेछ।

नेपाल दुई ठूला पर्यटन बजार चीन र भारतको बीचमा छ। पर्यटनका ती विशाल बजारबाट लाभ लिन नेपालले के गर्नुपर्छ?

सम्भावित बजारसम्म मात्रै पुग्ने र त्यहाँको पर्यटक मात्रै आकर्षित गर्नुपर्छ भन्ने म ठान्दिनँ। तर पहिले तपाईं के चाहनुहुन्छ त्यो आधार तयार गर्नुपर्छ। मेरो विचारमा भारत र चीनमा सम्भावित पर्यटन बजारबारे जानकारी संकलन गर्ने बजार अनुसन्धानका थुप्रै प्रभावकारी औजार, विधि र विशेषज्ञता उपलब्ध छन्।

अवसरको कस्तो प्रणाली छ भनेर भारतीय र चिनियाँहरू के खोजिरहेका छन् ? त्यो बुझ्ने प्रयास गर्नुहोस्। त्यसका लागि बजार अनुसन्धानले सहयोग पुर्‍याउनेछ। त्यो भनेको अहिलेसम्म नआएकाहरूले के चाहन्छन् वा के खोज्न सक्छन् भन्ने बुझ्नु हो। त्यसको विकास गर्नुपर्छ। त्यहाँ सञ्चारसम्पर्कको पाटो पनि छ जसले नेपालले उपलब्ध गराउन सक्ने सम्भावनाबारे सु-सूचित गर्नेछ।

यसरी नेपालमा पर्यटनबारे संवाद सुरू गरेर प्रतिस्पर्धी बन्न सकिनेछ। यो दीगो पनि हुनेछ। नेपालले यसरी नै वास्तविक पर्यटकीय अनुभव उपलब्ध गराइरहेको छ। यी केही महत्वपूर्ण रणनीतिहरू हुन्।

अहिले तपाईं के बन्न चाहनुहुन्छ र अबको ५० वर्षपछि के बन्न बनाउन चाहनुहुन्छ त्यो परिभाषित गरेर रणनीति सुरूवात गर्न सकिन्छ। सन् २०२० का लागि २० लाख पर्यटकको लक्ष्य तय गरिएको छ। सन् २०३० सम्म ४० लाख पुग्ला। यी संख्याहरू के हुन्? कुनै बिन्दुमा गएर हामी के बन्न चाहन्छौं, त्यहीँबाट प्रारम्भ हुनेछ। 

त्यसपछि तथ्याङ्कको आधारमा सु-सूचित निर्णय आवश्यक हुनेछ। त्यो भनेको तपाईंसँग उपलब्ध जानकारी बुझ्ने भनेको हो। तपाईंको सम्भावित बजार को हो ? सिक्नु, ती पर्यटकको प्राथमिकता र चाहना बुझ्नु हो। यसले पर्यटनको योजना बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
 

 Published Date: Wednesday, 2nd October 10:56:57 AM