सोमबार, जेठ १९, २०७७

भारतीय सोच र नेपाली राष्ट्रियताको नयाँ युग

भूकम्पको चपेटामा पिल्सिएको नेपाल र नेपाली नागरिकमाथि नाकाबन्दीको वर्षा वर्षाएर भारतले आम नेपालीबीच आफ्नो पुरानै अनुदार छवि छताछुल्ल बनाएको थियो। 

भाषा र बोलीमा मिठास एवं उदारता देखाउने र व्यवहारमा कटुता भारतको पुरानै चरित्र हो। भारतीय नेताहरुले दुई देशबीचको सम्बन्धको व्याख्या गर्दा भन्ने गर्छन्– रोटीबेटीको सम्बन्ध। तर व्यवहारमा त्यो खालको आत्मीयता भएको कहिल्यै देखिँदैन।

भारतको यही नीतिका कारण आम नेपाली नागरिकमा भारतप्रतिको दृष्टिकोण राम्रो देखिँदैन। विगतका सबै राजनीतिक परिवर्तनमा भारतको कुनै न कुनै रुपमा भूमिका देखिँदै आएको छ। कतिपय सन्र्दभमा हामीले नै राजनीतिक परिवर्तनमा भारतको साथ रोज्यौ होला भने कतिपयमा उनीहरुको स्वार्थ मिलेको हुन सक्छ।

यी घटनाक्रमले के प्रमाणित गर्छ भने भारत सधैँ नेपालमा आफ्नो स्वार्थ सिद्धका लागि मात्र सहयोगको बाहनामा हात फैलाउँछ।

हाम्री नेपाली चेलीको अभिनयबाट खर्बौंको व्यापार बढाएको भुल्छ र उनले खाएको रोटी र दालमा गिद्देनजर लगाउँछ। मनिषा कोइराला भारतको दया र मायाले उदाएकी होइनन्। उनी आफ्नै क्षमताले बलिउडकी सेलेब्रेटी बनेकी हुन्।

एक सचेत र ऐतिहासिकता बोकेको राजनीतिक परिवारमा जन्मिएर हुर्किएकी मनिषाको राजनीतिक चेतनामा कोही भारतीयले पनि प्रश्न गर्न सक्दैन। मनिषामाथि प्रश्न गरिरहँदा भारतीयहरुले भुले, अंग्रेजविरुद्धको भारत छोड संग्राममा उनको सिंगो परिवार र सयौं नेपालीहरुको ठूलो योगदान थियो।

कुरा यत्तिमात्र पनि होइन, आज पनि तिम्रो देशको सीमाको रक्षा वीर गोर्खाली सेनाले नै गरिरहेका छन्। यी सेनाको इमान्दारिता, कर्तव्य निष्टता र लगनशीलताका कारण विश्वभर नेपाली वीर गोर्खाली भनेर परिचित छन्।

भारतले विवादित क्षेत्रबारे कुनै पनि सरसल्लाह नेपालसँग नगरिकन एकतर्फी ढंगले नक्सा प्रकाशन ग¥यो। नेपाली छापा र सबैखाले सञ्चारमाध्यमहरुले आफ्नो संयमता गुमाएनन्। बरु नेपाल सरकार र नेपाली राजनीतिज्ञलाई यसबारेमा एकोहोरो घच्घच्याए। 

तर, अहिले नेपालले आफ्नो भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि भारतीय सञ्चारमाध्यम नेपाली भूमी र नेपाली नागरिकप्रति आफ्नो संयमता गुमाएर प्रस्तुत भएका छन्।

जबरजस्त नेपाली जमिनमा राज गर्न खोज्ने भारतीय सोच र प्रवृत्तिको नेपाली जनस्तरमा व्यापक आलोचनना हुने गरेको छ। लामो समयदेखिको जनदबाब, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको कडा र चर्को दबाबमा परेर भूकम्पपछि बनेको नेपालको संविधानमा असन्तोष देखाउँदै लगाइएको नाकाबन्दीको सेरोफेरोमा जन्मिएको नवराष्ट्रवाद वा राष्ट्रियतालाई यो एउटा सकस थियो। अन्तत ऊ लाजगाल छोप्नका लागि नेपालको राजनीतिक नक्सा जारी गर्न राजी भयो।

हाम्रो भारतसँगको सीमा विवाद छोटो छैनै। यो निरन्तरको प्रयास पछाडि धेरै विषय र घटनाक्रम एकापसमै जोडिएर आएका छन्।

यसलाई बुझिने गरी भन्ने हो भने भूकम्पीय नवराष्ट्रियताभन्दा अतियुक्ति नहोला। हाम्रो राष्ट्रियताको परिभाषाको आधार हामीले भारत विरोधी अभिव्यक्तिलाई नै मान्ने गरेका छाँै।
जसले हजारांै मानिस लाई टँुडिखेलमा भेला गराएर काठमाडौं उपत्यका नै थर्किने गरी भारतीय विस्तारवादविरुद्ध उत्तेजित भएर बोल्छ। सोझा नागरिकमा भ्रम छर्छ अनि बेलुका लैनचौर दरबारमा हुने रात्रिकालीन भोजमा ह्रिस्कीको गिलास ठोक्छ। हो, यही चरित्र र प्रवृत्तिमा रमाएको हाम्रो राष्ट्रियता र राष्ट्रवादको नयाँ स्वरुप, अनुहार र चरित्र हो–भूकम्पीय नवराष्ट्रवाद र राष्ट्रियता।
 
यसको गहिरो पृष्ठभूमिमा नै गएर व्याख्या गर्दा यसले संकेत गर्न खोजेको र उठान गर्न खोजिएको विषयवस्तुलाई अझ प्रभावकारी  तरिकाले उजागर गर्न सकिन्छ। खासगरी २०७२ सालमा भारतीय संस्थापन पक्ष र नेपाल सरकारबीच सम्बन्ध चिसियो। यसको परिणाम भारतले नेपालतर्फको नाकाबन्दी ग¥यो। नेपाल महाविनाशकारी भूकम्पबाट उठ्न कोशिश गर्दै थियो। हजाराै‍ हजारको संख्यामा मानवीय क्षति, लाखौं नागरिक अंगभंग र खर्बाैको नोक्सानीमा चुर्लुम्म डुबेको नेपालले यस्तो विपतको समयमा एक असल छिमेकीबाट नाकाबन्दीको उपहार पायो। त्यो अवस्था नेपालले कल्पना समेत गरेको थिएन।

नेपाल आयातको लगभग सबैजसो क्षेत्रमा भारतसँग निर्भर थियो। आफ्नो असन्तुष्टि पोख्ने र साध्ने रामवाणको अचुक अस्त्रको रुपमा उसले नाकाबन्दीलाई प्रयोग ग¥यो। यो स्थिति निर्माण भइसक्दासम्म आम नेपाली नागरिकमा भारतप्रति हेर्ने दृष्टिकोणमा आमुल परिवर्तन भइसकेको थियो।
 
नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको चट्टानी अडानमा बनेको नेपालको संविधान २०७२ मा टेकेर खेल्न खोज्ने देशीविदेशी सबैखाले तत्वको चंगुलमा फस्यो नेपालको राजनीति। राष्ट्रियताको सवालमा अडिग र खरो उत्रिएका कोइराला नै बने त्यसको पहिलो शिकार। भारतीय अतिवाद र नाकाबन्दीले सामान्य नेपाली नागरिकमा पनि म भारत विरोधी हुँ भन्ने अमिट छाप छोड्यो। सत्तारोहणसँगै ठीक त्यसैको फेरो समात्न पुगे खड्गप्रसाद ओली।

कमरेड ओलीमा एउटा राजनीतिकर्मीमा हुनुपर्ने सबै गुण र दोष छन्। हेराइमा आवेग, बुझाइमा सतही, गाम्भीर्यतामा हलुका, प्रस्तुतिमा छुद्रता, व्यवहारमा कटुता, शब्दमा व्यंग्य, सोचाइमा आत्मकेन्द्रित र मित्रतामा अविश्वास। यस्तै व्यवहारले गर्दा उनी यथार्थतारहित प्रख्यात भारत विरोधीको उपमा ग्रहण गरी सोही अनुरुपको काफी अभिनय प्रदर्शन गर्दै भोक, रोग, शोक र पीडामा बाँचेका नागरिकको आवाजलाई सम्बोधन गर्ने बहानाबाजीमा पुनः अढाइ वर्षदेखि सत्ताको बागडोर सम्हाल्न पुगेका छन्।

भूकम्पीय नवराष्ट्रवाद र राष्ट्रियताको जगमा अडेको वर्तमान नेपालको राजनीतिलाई आम नेपाली नागरिकले सुक्ष्म ढंगले अध्ययन गरेनौं भने हाम्रो बाँकी यात्रा झन् बढी दुखदायी र कष्टप्रद हुनेछ।

अन्तमा, कमरेड ओलीकाप्रति गरिएका शंका, उपशंका र अड्कलबाजीलाई पार लगाउन भोलिका दिनमा उनले राष्ट्रिय एकताका लागि लचकता र राष्ट्रियताका लागि पत्थरी कूटनीतिक अडान देखाउन जरुरी छ। राजनीतिक नक्सा प्रकाशनले उनको आकृतिमा झल्कने अदृश्य छायाँलाई कदापी छेक्न सक्दैन। देश र जनताले चाहे जस्तो पक्ष र प्रतिपक्ष सबैको सर्वपक्षीय साथ र सहयोगलाई आत्मसाथ गर्ने राजनीतिक चरित्रको विकास गर्दै अघि  बढ्ने थालनीसहितका पाइला चालेमात्र नेपाली राष्ट्रियताको नवयुगको शुरुवात हुनेछ।
 
लेखक कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।
 

 Published Date: Saturday, 23rd May 12:05:51 PM