बुधबार, साउन २१, २०७७

‘नेकपा नेताको प्रतिकूलतामा बेच्ने हतियार होइन’

पार्टी एकता राजनीतिक र वैचारिक बहसबाट भएन। संगठनात्मक बहस पनि भएन। विचारमा वृहत बहस भएर पार्टी एकता भएको होइन। नेताहरुबीच सहमतिका आधारमा तत्कालीन एमाले  र माओवादी केन्द्रबबीच पार्टी एकता भएको हो।   

नेकपाको विचार के हो ? सिद्धान्त के हो ? भनेर केन्द्रीय कमिटी र देशभरबाट कुरा उठेपछि नेकपाको सिद्धान्त जनताको जनवाद हो र त्यसको चरित्र समाजवाद उन्मुख हुनेर नेताहरुबाटै भनियो। तर, आर्थिक कार्यक्रम कस्तो हुन्छ? कसरी समाजवादमा पुगिन्छ ? भन्ने विषय स्पष्ट हुन सकेन र सकेको छैन। 

त्यही अस्पष्टता र अन्योलता स्थानीय सरकारसम्म पुगेको छ। पार्टी विचारले चल्ने हो, विचार नै स्पष्ट नभएपछि जसलाई जे मन लाग्छ, त्यही गर्छ। अहिले केन्द्रदेखि स्थानीय तहसम्मका सरकारमा देखिएको मूल समस्या पनि यही अस्पष्टता हो।

पार्टी नै विचारमा अस्पष्ट भएपछि सरकारलाई उसले निर्देशन दिन सक्दैन। सरकारले पनि जे मन लाग्यो त्यही गर्छ। यही अस्पष्टताले अहिले सरकारका कामप्रति जनतामा उत्साह छैन। यसअघिका सरकार जसरी चलेका थिए, अहिलेको करिब दुई तिहाइ जनमत प्राप्त गरेको सरकार पनि त्यसरी नै चलेको छ, कुनै फरकपन छैन। 

राष्ट्रियताका सवालका नक्सा सार्वजनिक गर्ने कामबाहेक अन्य कुनै पनि काम जनताको प्रत्यक्ष जीवनमा प्रभाव पार्ने खालका भएका छैनन्। यही मनोदशा केन्द्रदेखि स्थानीय तहसम्म व्याप्त छ। अहिले देखा परेका समस्या र पार्टी जीवनलाई हेर्ने हो भने वैचारिक प्रश्न नै मुख्य कुरा हो। त्यसमा छलफल गर्न आवश्यक छ। वृहत राजनैतिक र वैचारिक बहस गरेर सकारात्मक निकास निकाल्न आवश्यक छ। त्यसपछि समस्याको हल निस्कन्छ। विचारमै समस्या भएपछि अलमल भइरहन्छ र कहीँ पुगिँदैन। 

हामीले सामन्तवादको अन्त्य गर्‍यौं। तर, अहिले दलाल नोकरशाही पूँजीपति वर्ग  देखा परेको छ। त्यसको चरित्र पार्टीभित्र पनि छ, समाजमा पनि अभिजात वर्ग देखा परेको छ। यसले नेकपालाई समाजवादतर्फ उन्मुख हुन र समृद्धिका कार्यक्रम अघि बढाउन अवरोध गरेको छ। 

अवसरवाद, परिवारवाद, आत्मकेन्द्रित व्यक्तिवाद, गुटगत चिन्तनसँगै विचार र नैतिकताको डरलाग्दो क्षयीकरण पार्टीभित्र देखा परेको छ। यी प्रवृत्ति अङ्गालेर एक्लै दौडिएर विजेता बन्ने प्रवृत्ति देखा परेको छ। यो पार्टी जीवनका लागि हितकर विषय होइन। 

कम्युनिष्ट पार्टी सामूहिक योगदानबाट चल्छ। जब कम्युनिष्ट पार्टीमा एक्लै दौडिएर विजेता बन्ने प्रवृत्ति देखिन्छ, तब पार्टीमा संकट आउँछ। अहिले यो आम प्रवृत्तिका रुपमा देखा पर्न थालेको छ। मूल्यमान्यता, आदर्श, इमान्दारिता र निष्ठाको राजनीति कमजोर बनेको छ। अहिले जनताको ठूलो समर्थन पार्टीलाई मिलेका  बेला मूल्य, मान्यता, आर्दश, इमान्दारितासहित निष्ठाको राजनीतिको आवश्यकता थियो। तर, त्यसो हुन सकेको छैन। 

आज नेकपामा जे समस्या देखिएको छ, त्यसको दीर्घकालीन समाधान केही नेताको स्वार्थका लागि गरिने भागबण्डाले हुँदैन। भोलिका लागि स्पष्ट गन्तव्य र लक्ष्य प्राप्तिका लागि विचार स्पष्ट हुनुपर्छ। वैचारिक तागतलाई बलियो बनाउँदै लैजानुपर्छ।

तर, आज पार्टीमा अवसरवाद झाङ्गिएको छ। भविष्यलाई नजरअन्दाज गर्दै नेताहरु लाभ र हानीको खेलमा लिप्त हुने प्रवृत्ति देखिएको छ। यो अवसरवाद मात्रै होइन गन्तव्यहीनता समेत हो। यही कारण आज एउटा पंक्ति निराश छ भने अर्को पंक्ति मालामाल छ। 

हामी माक्र्सवाद जप्छौं, तर वर्ग मान्दैनौं भने यो कम्युनिष्ट पार्टी हुन सक्दैन। लेलिनका कुरा गर्छौं, तर विधि र प्रणाली मान्दैनौं। सामूहिकतामा आधारित संगठन प्रणाली मान्दैनौं। मार्क्स, लेलिन, माओ, पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको नाम बेच्ने अनि निजी धन्दामा लिप्त हुने भने हामी कसरी कम्युनिष्ट भयौं?  

विचारमात्रै समाजवादी भएर हुँदैन। व्यवहार पनि समाजवादी हुन आवश्यक छ। समाजवाद भनेको सामूहिकतामा आधारित व्यवस्था हो। समाजवाादतर्फ उन्मुख हुने हो भने विचार, सांस्कृतिक र नैतिक बलमा उभिएको नेतृत्व आवश्यक पर्छ। यस्तो नेतृत्व, जो समूहको तागतमा उभियोस्। हामीले अहिले खोजेको यस्तै नेतृत्व हो।

गत माघमा बसेको केन्द्रीय समिति बैठकमा हामीले केही विषय छलफलमा ल्याएका थियौं। पार्टीलाई एक वर्षभित्र महाधिवेशनमा लैजाऔं र विधि स्थापित गरेर पार्टीभित्र पद्धति बसालौं। महाधिवेशनमा विचारको बहस हुन्छ, विचारले विधि निर्माण गर्छ र पार्टीलाई प्रणालीमा चलाउन सकिन्छ। 

तर अहिले पार्टीको गतिविधि यस्तो छ कि नेता मिल्दा हामी सबै मिलिदिनुपर्ने, नेता नमिल्दा सबै तरंगित हुनुपर्ने। यसको अन्त्य आवश्यक छ। जे काम गर्ने हो, छलफल गरेर गरौं भन्ने हाम्रो जोड थियो। सरकारले गर्ने कामबारेमा पार्टीसँग फिडब्याक लेओस्, पार्टीले सरकारलाई सुझाव देओस्। चाहे त्यो नीति तथा कार्यक्रमका सन्दर्भमा होस् वा राष्ट्रिय महत्वका निर्णय गर्दा होस्। त्यसो हुँदा  सरकार बलियो हुन्छ र सरकारले गरेका कामको स्वामित्व लिन्छ।  

उक्त बैठकमा हामीले उठाएको तेस्रो विषय थियो– पार्टीभित्र चरम अराजकता बढ्यो। जुन अराजकताले सत्तामा हुनेहरु भ्रष्टाचारमा लिप्त हुन थाले। बाहिर हुनेहरु लाभको पद प्राप्त गर्न किलो उखेलेर लाग्ने प्रवृत्ति देखा पर्‍यो। पार्टीभित्रको अनियमितताको छानविन गर्न उच्चस्तरीय समिति बनाउन माग गरेका थियौं।

पार्टीभित्र मात्रै होइन, सरकारले ०४६ सालपछि राजकीय भूमिकामा रहेका नेताहरू, मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति छानविन गर्न बलियो संयन्त्र निर्माण गरौं भन्ने प्रस्ताव थियो। यसले एक कदम देशलाई अघि बढाउन सहयोग गर्थ्यो। जनताको पसिनाबाट जम्मा भएको राजश्वमाथि ब्रम्हलुट गर्ने प्रवृत्ति हट्थ्यो। पार्टीभित्र र बाहिर पनि त्यस्तो काम गर्न सकेको भए नैतिक मूल्य स्थापित हुन्थ्यो। त्यसो हुँदा शासकीय शक्तिको दुरूपयोग रोकिन्थ्यो, जनताले पचाउने खालको संस्कृति निर्माण हुन्थ्यो। 

हामीले शीर्ष नेतालाई भनेका थियौं– तपाईंहरुको राजनीतिमा ठूलो योगदान छ। तर, जीवनको उत्तराद्र्धमा आएर परिवारवाद, नातागोता, स्तुतिगान र चाकडी गर्ने जमातसँगै बहुराष्ट्रिय निगमका घरानाका प्रभावमा नपर्नुस्। यस्तो प्रभावले समाजवादमा पुग्न सकिँदैन। किनकि हामीले माथिको स्थिति र जनताको अवस्था देखेका छौं। जनताले भन्न थालेका छन्, व्यवस्था फेरियो हाम्रो अवस्था फेरिएन। पार्टी बलियो भए तर जनता बलिया हुन सकेनन्। संस्कार फेरिन सकेन। यी  विषयलाई हामीले बहसमा ल्याउन खोजेका थियौं। 

म अहिले पनि भन्छु– सिद्धान्तहीन बहस, अस्पष्ट कार्यदिशा, धुर्त र सत्ता संर्घषमा लिप्त स्वार्थ केन्द्रित नेता र आलोचनात्मक चेत नभएका कार्यकर्ताबाट कहीँ पनि पुगिँदैन। अहिलेको अवस्थामा हाम्रो पार्टी कम्युनिष्ट पार्टी नै होइन। तत्काल  पार्टीलाई पूर्ण कम्युनिष्ट चरित्रको बनाउन त सकिँदैन। तर, बुर्जवा पार्टीभन्दा केही फरक र केही कम्युनिष्ट पार्टी बनाऔं भन्ने हो। वैचारिक राजनीतिक रुपमा स्पष्ट हौं। यदि नहुने हो भने महाधिवेशनको मिति तोकेर त्यहीँ बहस गरौं भन्ने हो। केन्द्रीय समिति बैठकमा उठेका बहसतर्फ फर्कने हो भने पनि अहिले देखिएका समस्या समधान हुन्छ। 

अहिलेको अवस्थामा हामीले नेताहरुको व्यवस्थापन र कार्यविभाजनको कुरा मात्रै मिलाउन खोज्यौं भने त्यो अस्थायी समाधान मात्रै हुन्छ। दीर्घकालीन समाधान खोज्ने हो भने विचार, विधि र प्रणालीमा स्पष्ट हुनै पर्छ। एकतापछि बनेका कमिटीलाई चुस्त बनाउनुपर्छ र आगामी बैशाखभित्र महाधिवेशन जुनसुकै मूल्यमा हुनुपर्छ। त्यो नगरी नेकपाभित्रको समस्या समाधान हुँदैन। 

महाधिवेशनमा जाने हो भने पनि नेताहरु झगडा गरिदिन भएन। महाधिवेशनमा वृहत वैचारिक बहस गर्न कार्यकर्ता ध्रुवीकृत गरियो भने निष्कर्ष निस्कन्छ। होइन भने गुट, स्वार्थ समूह र गिरोहमात्रै खुसी हुने अवस्था आउँछ। पार्टीभित्र वैचारिक बहस हुँदैन। नत्र ‘दिनभर लगाएर बनाएको पर्खाल, मुखियाको भालेले भत्काइदियो,’ भनेर रुनुको अर्थ छैन। 

अहिले नेताहरुले यस्तै गर्न खोजेका छन्। कति कमजोर पार्टी एकता गरेछन्? कि  एउटा भालेले पर्खाल नै भत्काइदिने अवस्था आउने स्थिति देखा पर्‍यो। आज पार्टी कमजोर बनेको छ, तर नेता बलिया बनेका छन्। संस्था धराशायी हुँदा व्यक्ति हराभरा र चमकदार बनेका छन्। जनता गौण बने कुर्सी र पद मुख्य भयो।

सार्वजनिक सरोकार कमजोर बन्यो। अहिलेको समस्याको जड नै यही हो। त्यसैले पार्टी प्रणाली स्थापित गरेर सामूहिक प्रणालीमा अघि बढाउन आवश्यक छ। अध्यक्षहरु पनि पार्टी सदस्य नै हुन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष र अरुको एउटै हैसियत हो। मात्रै प्रधानमन्त्री र अध्यक्षको जिम्मेवारी फरक हो। 

अर्को महत्वपूर्ण कुरा के हो भने, मिलिभगत र भागबण्डाको अन्त्य गर्नुपर्छ। नेताहरुले आफू अनुकूल हुँदा आफू–आफू मिलेर निर्णय गर्ने। तर, प्रतिकूल भए विधि खोज्ने कुरा गलत हो। जहिले पनि प्रणाली र विधि महत्वपूर्ण कुरा हो। अहिले नै हेरौं न राजदूत बोलाएर भेटेको विषय पार्टीको विदेश विभागलाई थाहा छैन। सरकारमा रहेका मानिसलाई राजदूतले भेट्दा परराष्ट्र मन्त्रालयलाई थाहा छैन। राजदूत भेट्ने पनि विधि होला, त्यो किन अनुसरण गरिएन। त्यसलै पार्टी प्रतिकूलतामा बेच्ने हतियार होइन।

पार्टी केही होइन, जनता केही होइनन्, हामी नै सर्वेसर्वा हौं भन्ने चिन्तन हाबी भयो भने त्यसले पतन निम्ताउँछ। संस्थागत निर्णयमा सबै काम हुनपर्छ। देशभर ‘एक व्यक्ति, एक पद’ लागू गर्नुपर्छ। प्रधानमन्त्री, पार्टी अध्यक्षदेखि वडा तहसम्म ‘एक व्यक्ति, एक पद’ लागू गर्न आवश्यक छ। त्यसो भयो भने पार्टी प्रणालीमा चल्छ। पुस्तान्तरणको प्रक्रिया सुरु हुन्छ। प्रधानमन्त्रीबाट हटेका नेता विस्तारै रिटायरमेन्टतिर जान्छन्। त्यसैले भागबण्डामा होइन, विधिमा ध्यान दिनुपर्छ।

अर्को पुस्तामा आशा जगाउने काम पनि अहिलेकै नेतृत्वको हो। आशाविना मानिस सक्रिय हुँदैन। तर, भागबण्डामा सहमति गर्ने, पद र शक्तिमा लिप्त हुन अभिसप्त हुने कुराले आशा जगाउन सक्दैन। जहाँसम्म पछिल्लो समय देखा परेको विवाद छ, यो कुनै वैचारिक विवाद होइन। वैचारिक विवाद भएको भए हामी पनि कम्मर कसेरै बहसमा उत्रिन्थ्यौं।

तर, यो नेताहरुको भागबण्डाको कुरा हो। र, अर्को कुरा नेकपा केही सीमित नेताको कम्पनी होइन। हामी ती नेताको दास, कामदार होइनौं। हामी विचारका आधारमा स्वेच्छिक रुपमा राजनीतिमा आएका मानिसहरु हौं। नेतृत्वले हामीलाई रैती, कामदार ठान्ने अनि उनीहरुले गरेका सबै निर्णयमा हामीले सही छाप गरिदिने भन्ने हुँदैन। पार्टीमा सबैले योगदान गरेका छन्। हामीले पार्टी एकतामा जोड दिने हो। खबरदारी गर्ने हो।

यसअघि एमाले र माओवादी केन्द्र दुवैले विभाजनको पीडा भोगिसकेका छन्। जनमत कहिल्यै विभाजनको पक्षमा हुँदैन। अहिले बलियो जनमत प्राप्त भएको सरकारले जनताको मन जित्ने काम गर्नुपर्ने हो। समाजवाद र समृद्धिको कार्यक्रम लागू गर्नुपर्ने हो। केही थान नेताहरुको झगडाले हाम्रो लक्ष्य छोड्ने भन्ने कुरा रहँदैन। अहिलेको झगडा केही दिनभित्र समाधान भएन भने हामी बहुमत केन्द्रीय सदस्यले केन्द्रीय कमिटीको बैठक माग गर्छौं।

तर, स्थायी कमिटी बैठक नै फेस गर्न नसक्ने नेताहरुले केन्द्रीय कमिटी बैठक कसरी फेस गर्लान्? यसद नसच्चिने, केन्द्रीय कमिटी फेस गर्न नचाहने हो भने महाधिवेशनमा जानुपर्छ। अहिले कसले राजीनामा दिने र कसले पद हत्याउने भन्ने विषय महत्वपूर्ण होइन। २१ औं शताब्दीमा कम्युनिष्टको जीवनशैली कस्तो हुने? कार्यशैली कस्तो हुने? भिजन कस्तो हुने? भन्ने विषयमा बहस हुनपर्छ। 

जनताले बुझ्ने भाषामा व्याख्या हुनुपर्छ। समाजवादतर्फ उन्मुख हुने भनिएको छ। तर, कस्तो समाजवाद भन्ने स्पष्ट छैन। उही ‘बरमझियाको बैजनाथ बाजेको पेडा’ जस्तै हुन पुगेको छ। नारा बेच्यौं तर समाजवादको मोडल कस्तो हुने भन्नेमै अलमलियौं। त्यसैले गन्तव्य नभई कहीँ पुग्न सकिँदैन। नेकपालाई अहिले भएको पनि त्यही हो।  गन्तव्य छैन, अघि बढ्ने भनेको छ, कहिले भीरमा ठोकिएको छ, अहिले खाल्डामा झरेको छ। 

विचारविना अघि बढ्न खोज्दा समस्या थपिएका छन्। चुनावका बेला जनताले भन्ने गर्छन्– जुन जोगी आएपनि कानै चिरेका ! तर, गत निर्वाचनमा एक ठाउँमा जनताले मलाई भनेको कुरा सम्झन्छु, जुन निकै घतलाग्दो छ। त्यहाँ मलाई भनिएको थियो– पार्टीले देखाउने खसी, खुवाउने फर्सी, त्यो पनि पर्सी ! यसले के देखाउँछ भने पार्टीले आशा देखाउँछन्, तर काम गर्दैनन्। यो अवस्था सरकारले चिर्नुपर्छ। त्यसका लागि प्रष्ट विचार चाहिन्छ। विभाजन होइन, एकता चाहिन्छ। 

जनताले अहिले विभाजन चाहेका छैनन्, एकता नै चाहेका छन्। अब ज–जसका कारण पार्टी फुट्छ, उहाँहरु नेताहरु रहिरहनु हुन्न। अहिलेसम्म हामीले नेता मानेका छौं। उन्माद आयो भने र त्यो हर्कतसम्म पुग्नुभयो भने यो युगमा अब उहाँहरु नेता रहनुहुन्न। राजीनामा प्राविधिक विषय हो। त्यसैले अहिलेको प्रमुख प्राथमिकता भनेको विचार, विधि, प्रणाली, कार्यशैली र त्यसलाई नेतृत्व प्रदान गर्न सक्ने नेतृत्व हो। यो बाटोमा हिँडेमात्रै हाम्रो सुल्टो यात्रा तय हुन्छ। होइन भने अहिले देखिएको रडाको नेकपाको उल्टो बाटो हो। 

(नेकपाका केन्द्रीय सदस्य भण्डारीसँग गरिएको कुराकानीमा आधारित) 

 Published Date: Wednesday, 8th July 18:47:30 PM