बुधबार, मंसिर २५, २०७६

सुनको मूल्य तोलाकाे ७० हजार, अझै बढ्न सक्ने

साउनमा बढेकाे सुनकाे मूल्य।

काठमाडौं, साउन २३ : सुनको मूल्य आकाशिएको छ। आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ।

विश्वभरी सुनको माग बढेसँगै नेपाली बजारमा पनि सुनको भाउले नयाँ रेकर्ड राखेको हो। हिजोभन्दा आज तोलामा पाँच सय रुपैयाँ बढेर सुनको भाउ ७० हजार रुपैयाँ पुगेको हो। हिजो सुनको मूल्य प्रतितोला ६९ हजार पाँच सय रुपैयाँ थियो। यो हालसम्मकै उच्च मूल्य हो।

साउनको पहिलो सातादेखि लगातार उकालो लागेको सुनको मूल्य मंगलबारभन्दा बुधवार प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेको थियो। साउन १ गते सुनको मूल्य ६४ हजार पाँच सय रुपैयाँ रहेको थियो।

जुन साउन २३ गते बिहीबारसम्म आइपुग्दा प्रतितोला पाँच हजार पाँच सय रुपैयाँ बढेको छ। जसका कारण बजारमा सुन खरिद गर्ने भन्दा बिक्री गर्ने चाप बढेको छ भने सुन बैंकमा थुप्रिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघको तथ्यांकअनुसार, दैनिक २५ देखि ३० किलोसम्म सुनको बिक्री हुने गरेको थियो। भाउ बढेसँगै अहिले दैनिक १० किलोको हाराहारीमा मात्र बिक्री भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि यसको असर नेपाली बजारमा परेको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले बताए। ‘बजारमा सुन किन्नेभन्दा बिक्री गर्ने बढी छन्,’ अध्यक्ष सुनारले भने। यसरी नै चीन र अमेरिकाको द्वन्द्वजारी रहेमा सुनको मूल्य अझै बढ्दै जाने उनको भनाइ छ।

अमेरिका र चीनबीचको व्यापार युद्धसँगै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौंती गरेपछि सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको छ। ब्याजदर घटेसँगै विश्वभरका लगानीकर्ता सुनतर्फ आकर्षित हुदाँ विश्वभर सुनको माग अत्याधिक भएको हो।

त्यसमा इरानसँग अमेरिका र बेलायतको तनाव, उत्तर कोरियाले गरेको मिसाइल परीक्षणले कोरिया क्षेत्रमा देखिएको तनावले पनि थप असर पारेको बुझाई अध्यक्ष सुनारको छ।

अमेरिकाले लिएको नीतिका कारण इन्धनको भाउ र सेयर बजारमा ओरालो लागिरहेको छ। जसका कारण लगानीकर्ताले सुनलाई सुरक्षित क्षेत्रका रुपमा लिने गरेका छन्।

शुक्रबार चीनसँगको वार्ता निश्कर्षविहीन भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप बस्तुमा १० प्रतिशत भन्सार शुल्क लगाएका छन्। त्यसको असर झनै विश्वभर फैलिएको छ।

त्यस्तै, जम्मु र कश्मिरको विषयमा भारतले लिएको निर्णयविरुद्ध पाकिस्तान र चीन उभिएपछि तनाव बढ्ने देखिन्छ। कश्मिरको तनावले गर्दा भारतीय रुपैयाँ कमजोर भएपछि यसको असर अझै नेपालमा पर्ने देखिन्छ।

जसका कारण पाकिस्ताले भारतीय राजदूतलाई फिर्ता पठाएको छ भने व्यापारिक सम्बन्ध अन्त्य भएको घोषणा गरिसकेको छ। यसको असरले पनि सुनको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ।

 Published Date: Thursday, 8th August 12:31:37 PM