बिहीबार, साउन २, २०७६

हाम्रो अर्थतन्त्रको बाटो राष्ट्रिय पूँजी विकास गर्दै समाजवादतर्फ जाने हो

नेकपा नेता घनश्याम भुसाल।

लोकतान्त्रिक गणतन्त्रको लामो इतिहास छ। यसको अस्थिरताको पनि लामो इतिहास छ। त्यसको जगमा आर्थिक कारणहरू छन्। विकासको विगत ७० वर्षको इतिहास हेर्दा मूलतः पश्चिमले पूर्वलाई, उत्तरले दक्षिणलाई बजार बनाउनका लागि विकासको कुरा सुरु भएको थियो। त्यसले आफ्नो बजार विस्तार गर्न चाहन्थ्यो। 

बजार गयो तर ती नव–स्वाधीन ती मुलुकमा बजार थेग्ने उत्पादन थिएन। यसले गर्दा सस्तो श्रम र कच्चा पदार्थ प्राकृतिक साधनस्रोतले त्यो थेग्नुपथ्र्याे। बजारलाई केही पूर्वाधार चाहिन्थ्यो। त्यो आफैँले बनाउनुपथ्र्यो। त्यो पूर्वाधार थेग्न उनीहरूले ऋण लिनुपथ्र्यो। त्यसको चपेटामा यिनीहरू पर्दै गए। त्यो सत्ता थाम्न अब राजनीति र अर्थतन्त्र एकै ठाउँमा मिल्दै गयो। यसरी दलाल अर्थतन्त्रहरू सिर्जना हुँदै गए। ती दलाल अर्थतन्त्रहरूले समस्या समाधान नगरेपछि त्यसविरुद्ध जनता उठे। त्यो दलालतन्त्रको रक्षाका लागि सत्ताहरू फासिस्ट हुँदै गए। पछिल्ला मुलुकहरूको इतिहास यस्तै हो। 

हामी आज संघीय लोकतान्त्रिक गणतन्त्रमा छौँ। जनताले लोकप्रिय मतद्वारा बहुमतका साथ हामीलाई जिताएर पठाएका छन्। यसर्थ हामीलाई कुनै पनि हिसाबले यस अर्थमा असफल हुने छुट छैन। आज यो लोकप्रिय जनमत असफल हुँदा यसलाई थाम्ने, व्यहोर्ने र त्यो रिक्तता पूरा गर्ने अर्को शक्ति छैन। हामी अनिवार्य रूपले अर्को पपुलिष्ट नामको वा अर्को कुनै नामको दक्षिणपन्थी दिशामा जान्छौँ। हाम्रो टाउकोमा पनि यो खतरा मडारिइरहेको छ, जसरी तेस्रो विश्वका विगत ७० वर्षको इतिहासमा ती मुलुकहरूमा नाँच्यो। यसर्थ हामी यो सन्दर्भ राखेरै बजेट निर्माण गर्नुपर्छ। 

बजेटको सिद्धान्तको संविधानलाई बनाउने हो। स्वयम् त्यो संविधानको आधार के हो ? त्यसले समाजवादको कुरा ग¥यो। किन त्यो समाजवादको कुरा ग¥यो ? यसबारे कम छलफल भएको छ। अहिलेको अर्थतन्त्रको मूल स्वरुप दलाल हो भन्ने बारेमा अब करिब–करिब एक हिसाबले बौद्धिकहरू र राजनीतिक पार्टीहरूमा एक खालको सहमति भएको छ। 

खासगरी हाम्रो व्यापार घाटा किन छ ? पैसै नभएर त रहेन छ नि ! हामी एक खर्ब बेच्छौँ तर १२ खर्बको कसरी किन्न सक्छौँ ? भन्नुको अर्थ, हामीसँग पैसा नभएर हैन। त्यो पैसाले गर्नुपर्ने हाम्रो काम गरिरहेको छैन। त्यसले राष्ट्रिय काम गरिरहेको छैन। यसर्थमा त्यसले राष्ट्रिय पूँजीको निर्माण गरिराखेको छैन। पाँच लाख हाम्रा सन्तानलाई वयस्क बनाउँछौँ। चार लाखलाई बाहिर पठाउँछौँ। एक लाख चाहिँ प्लेनको टिकट नपाएर वा केही भएर यहाँ बस्छन्। यो अर्थतन्त्रको जुन हामीले राजाबाट लियौँ, हिजोको प्रजातान्त्रिक इतिहासबाट लियौँ, यो उत्तरदान हामीले लिएका छौँ कि अहिले दलाल अर्थतन्त्र उत्तरदानमा पाएका छौँ। यसर्थ हाम्रो बजेटको सिद्धान्त यसका आधारमा बनिनुपर्छ। 

यसको अर्थ– हामी समाजवादमा जाने भनेको दलाल अर्थतन्त्रलाई रुपान्तरण गर्ने हो। यसर्थ यसको सिद्धान्त मूलतः दलाल अर्थतन्त्रको ठाउँमा हामी समाजवादतर्फ जाने, राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादतर्फ जाने हाम्रो अर्थतन्त्रको बाटो हो भन्ने कुरा यसमा (बजेटको सिद्धान्त र प्राथमिकतामा) यत्रतत्र लेखिएका छन्। तर, यसको व्याख्या खासगरी दलाल अर्थतन्त्रको व्याख्याबारे हामी राम्ररी सचेत हुन सकेनौँ भने अन्ततः हाम्राजस्ता सत्ताहरू जुन फासिष्ट सत्तामा परिवर्तन भए। त्यो खतराबाट हामीले बच्नुपर्छ। हामीले ध्यान राखेनौँ भने त्यही बाटो हिँडेर हामी पुग्ने ठाउँ त्यही नै हुन्छ। बजेटको सिद्धान्तका कुरा गर्दा यसलाई ध्यान दिनुपर्छ। 

प्राथमिकताको कुरा गर्दा, जसरी हामी यसको सिद्धान्त सामाजिक स्वरुप, अर्थ–राजनीतिक स्वरुपलाई ध्यान दिन्छौँ। त्यसैगरी बजेटको प्राथमिकताको कुरा गर्ने हो भने यहाँ अरु अरु धेरै कुरा आए। करको कुरा आयो। पूर्वाधारको कुरा आयो। सामाजिक विकासको कुरा आयो। अझै मान्छेकै कुरा आउनुपर्छ भन्ने लाग्छ मलाई। 

मार्क्सवादी आँखाबाट हेर्दा चाहिँ हाम्रो दलाल अर्थतन्त्रले हाम्रो अर्थतन्त्रमा कस्ता वर्गहरू बनाएको छ भन्ने कुराहरू हेर्नुपर्छ। यसरी हेर्दा म पाँच वटा वर्ग देख्छु– पहिलो, दलाल पूँजीपतिवर्ग। यो वर्ग कहीँ उद्योगमा देखिनसक्छ। मूलतः यसले खानी, खोलानाला कब्जा गर्छ। भन्सार कब्जा गर्छ। न्याय–कानून कब्जा गर्छ। अदालत कब्जा गर्छ। राजनीतिक पार्टीहरूलाई कब्जा गर्छ। सार्वजनिक सम्पत्ति र राष्ट्रको दोहन गर्छ। सबभन्दा शक्तिशाली हुन्छ। निरन्तर माथि हुन्छ।

दोस्रो, राष्ट्रिय पूँजीपति हो। पूँजीपति यसर्थ हो कि यो नाफामा बाँच्छ। राष्ट्रिय यसर्थ हो कि यसले रोजगारी दिन्छ। यो कताकता अलि दुःखी छ। करको हाकिम बुझाउनुपर्ने छ। पार्टीलाई चन्दा दिनुपर्ने छ। के मिलाउनुपर्ने छ। जेनतेन बाँचेको छ। यसर्थ प्रगतिशील हो कि यसले कर तिर्छ र रोजगारी दिन्छ। 

अर्को मध्यमवर्ग हो, जो आफैँ पनि काम गर्छ। र, अरुलाई पनि काम गराउँछ। दुवै खालको नाफामा यो बाँचिरहेको हुन्छ। 

त्यसबाहेकको श्रमिक हो। त्यो श्रमिक जो सङ्गठित क्षेत्रमा छ वा बाँच्नेसम्मको उसको आधार छ। जिनतिन बाँचिरहेको छ। अस्तित्वका लागि समस्या छैन तर राम्ररी बाँच्न पाएको छैन। यसले गर्दा ऊ संघर्षरत छ।

त्यसबाहेकको भनेको, जसलाई मैले सीमान्त श्रमजीवी भन्छु। श्रमजीवी हो तर त्यो सीमान्त ठाउँमा छ। त्यो संगठित ठाउँमा छैन। त्यसले जागीर पाउँदैन। त्यसको सम्पत्तिको नाउँमा असाध्यै थोरै दुई–चार कान्ला खेतहरू छन्। त्यसमा टाँसिएको छ। त्यसलाई छोड्न पनि सक्दैन। निक्लन पनि सक्दैन। यस्ता मान्छेहरू अधिकांश त इँटा बोकेर खान्छन्। ढुंगा फोरेर खान्छन्। बाटो बनाएर खान्छन्। भारी बोकेर खान्छन्। यहाँ पनि टिक्न नसकेपछि ती विदेश जान्छन्। विदेश जाने चार लाखमध्ये सबभन्दा यिनै मान्छे हुन्। यिनको कोही माइबाप छैन।

यसर्थ प्राथमिकताको हिसाबले हेर्दा, मान्छेलाई प्राथमिक बनाउने हो भने हाम्रो बजेटले त्यो सीमान्त श्रमजीवीलाई सबभन्दा बढी ख्याल गर्नुपर्छ। त्यसलाई हेर्ने भनेको के हो ? अरु सबै कुरा त्यस्तै हुन्, त्यसलाई रोजगारी दिने हो। हाम्रो ६५ प्रतिशत मान्छेले कृषिमा श्रम गर्छन्। त्यसले कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशतमात्र योगदान गर्छ। ती मान्छेलाई त्यो परम्परागत कृषिको श्रमबाट निकाल्दिने हो। परम्परागत कृषिश्रमलाई उद्यममा ल्याइदिने हो। जहाँनिर परम्परागत कृषि श्रमलाई उद्यममा ल्याइँदैन, त्यो पूँजी दलाल हुन्छ। राष्ट्रिय हुने भनेर हामी खुब भनिरहेका छौँ, त्यो राष्ट्रिय हुने भनेको यसको चक्र जुन छ, त्यसलाई सुचारु गरिदिनुपर्छ। 

परम्परागत कृषिश्रमलाई उद्यममा ल्याउने जुन चक्र छ, यसलाई सुचारु राखिदिनुपर्छ। हाम्रो समाजवादी बजेटले गर्ने काम यही हो। हामी यहाँ केन्द्रित भयौँ र त्यो चार लाख मान्छेलाई जागीर दिन थाल्यौँ भने त्यसले राष्ट्रिय पूँजीको निर्माण गर्छ। त्यसले त्योभन्दा अलिमाथिको श्रमजीवी वर्गको हैसियत राम्रो बनाइदिन्छ। अहिलेको मध्यमवर्ग त धेरै राष्ट्रिय पूँजीपतिमा परिणत भइसकेका हुन्छन्। राष्ट्रिय पूँजीपति अझ ठूला राष्ट्रिय पूँजीपति हुनेछन्। हामीले त्यहाँसम्म पुग्दा दलाल पूँजीलाई नियन्त्रण र रुपान्तरण गरिसकेका हुनेछौँ। एउटा राम्रो राष्ट्रिय पूँजीको विकास भएको राम्रो मुलुक निर्माण गर्नेछौँ। यो प्रक्रियाबाट हामी जाने हो भनेर मिडियालाई, नागरिक समाज, दुनियाँलाई राजनीतिक वृत्तलाई हामीले बताउनुपर्छ। यो प्रक्रियाबाट जाने हो, हामी त्यसरी  जान तयार छौँ। 

यसरी हामीले मान्छेलाई अपील गरेर सबैभन्दा तल परेको हाम्रो जनसंख्यालाई केन्द्रित गरेर हामी अगाडि जान्छौँ भनेर भन्नुपर्छ। यो कुरालाई कसैले क्रिटिकल मोडर्निजम भने। कसैले लोकतान्त्रिक समाजवाद भनून्, जेसुकै भने पनि अन्ततः टेक्ने मार्क्सवादमा हो। मार्क्सवादमा नटेकी तपाईंले वैचारिक हिसाबले सैद्धान्तिक हिसाबले अहिलेको अर्थराजनीतिक विश्लेषण गर्न समस्या समाधान गर्न सकिँदैन।

(नेकपा नेता भुसालले सोमबार प्रतिनिधिसभाको प्रि–बजेट छलफलमा व्यक्त गरेको विचारको सम्पादित अंश।)
 

 Published Date: Monday, 13th May 16:27:24 PM