सोमबार, भदौ ३०, २०७६

प्रचण्डले ओलीसँग सल्लाह नगर्दा गौतम र पौडेललाई डाके सिङ्गापुर  

नेकपा उपाध्यक्ष वामदेव गौतम र महासिचव विष्णु पौडेल। पृष्ठभूमिमा प्रधानमन्त्री केपी शर्मा ओली । | तस्वीर:फाइल फोटो

काठमाडौं, भदौ १८ः  प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएपछि नेकपाका उपाध्यक्ष वामदेव गौतम मंगलबार अपरान्ह साढे १ बजेको थाई एयरवेजबाट सिंगापुर प्रस्थान गरेका छन्।

प्रचण्डले अध्यक्ष ओलीलाई ‘बाइपास’ गरी पार्टी एकताका बाँकी कामबारे निर्णय गर्ने तयारी  गरेकाे थाहा पाएपछि प्रधानमन्त्रीले नेताहरू डाकेका हुन्। प्रधानमन्त्री ओलीले गौतमलाई राजनीतिक कारणले सिंगापुर डाकेपछि नजाने निर्णय गरेर बसेका गौतमले आकस्मिक रुपमा मंगलबारै त्यसतर्फ जाने निर्णय गरेका हुन्। नेकपा स्रोतले प्रधानमन्त्री ओलीले डाकेका कारण गौतम त्यसतर्फ हिँडेको पुष्टि गरेको छ। 

वामदेव गौतमका स्वकीय सचिव दीपक टमटाले उपाध्यक्ष गौतम साढे १ बजे थाई एयरवेजबाट सिंगापुर प्रस्थान गरेको पुष्टि गरे। ‘अस्ति सिंगापुर जानका लागि तयार हुनुहुन्थ्यो। उहाँ र महासचिव विष्णु पौडेल कमरेड सँगै जाने भन्ने कुरा थियो। हिजो बिहान म नजाने भएँ भन्नुभयो’, टमटाले भने,‘आज बिहान फेरि सिंगापुर जाने भन्नुभयो।’ 

महासचिव विष्णु पौडेलसँगसँगै सोमवार जाने बताइए पनि अन्तिम क्षणमा आएर गौतमले भ्रमण स्थगन गरेका थिए। उपाध्यक्ष गौतम र महासचिव पौडेल प्रधानमन्त्री ओलीसँगै पर्सि शुक्रबार एकै उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको स्वकीय सचिव टमटाले जानकारी दिए।

नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङले उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेलको सिंगापुर यात्रा प्रधानमन्त्रीको स्वास्थ्य बिग्रेका कारण नभएको बताए। ‘प्रधानमन्त्रीजीको स्वास्थ्य ठीक छ, मसँग कुरा हुँदा पनि उहाँ उत्साहित हुनुहुन्थ्यो, उहाँ शुक्रबार फर्कनुहुन्छ’, नेम्वाङले भने, ‘प्रधानमन्त्रीले बोलाउनुभएका कारण जानु भएको हो। अरु कारण त थाहा छैन।’

नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले उपाध्यक्ष गौतमको सिंगापुर यात्राको कारणबारे आफूलाई जानकारी नभएको बताए। ‘महासचिवले चाहिँ प्रधानमन्त्रीले बोलाउनुभएकोले जान लागेको बताउनुभएको थियो’, थापाले भने।

प्रधानमन्त्री ओलीनिकट स्रोतका अनुसार, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री फर्कनुअघि आज–भोलि नै नेकपा सचिवालय बैठक डाक्ने र पार्टी एकताका बाँकी कामबारे निर्णय गराउने तयारी गरेका थिए तर ओलीसँग कुनै सरसल्लाह भने गरेनन्। प्रचण्डको तयारीबारे थाहा पाएका ओलीले उपाध्यक्ष र महासचिवलाई डाकेको स्रोतको दाबी छ।  

नेकपा स्रोतका अनुसार, प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष गौतम र महासचिव पौडेलसँग पार्टी एकताका बाँकी काम सक्नेबारे छलफल गरेका थिए।

सचिवालय बैठक बस्न महासचिव अनिवार्य मानिन्छ । महासचिव पौडेल नै सिंगापुर हिँडेपछि नेकपा सचिवालयको बैठक नबस्ने पक्का थियो। नेकपा स्रोतका अनुसार, महासचिव पौडेलले हिजो प्रधानमन्त्री ओलीलाई प्रचण्डको तयारीबारे जानकारी गराएपछि गौतमलाई पनि बोलाएका हुन्।

ओलीको ‘विरासत’ धन्ने नेताका रूपमा एक्ला उपाध्यक्ष बनाएर ‘प्रोजेक्सन’ गरिएका गौतमलाई समेत विश्वासमा लिएर पार्टी एकताका बाँकी काम टुंगोमा पुर्‍याउने ओलीको तयारी छ। प्रचण्डले गरेको गृहकार्यबारे ओलीले गौतम र पौडेलसँग छलफल गरी एक किसिमको गृहकार्य गरी फर्कने स्रोतको दाबी छ । त्यसैका आधारमा दुई अध्यक्ष बसेर टुंगो लगाउने ओलीले गृहकार्य गरेका हुन्। 

यो पनि: प्रधानमन्त्री भेट्न नपाए पनि सिंगापुरमा शुभकामना दिन जानेकाे ताँती

ओलीसँगै गौतम र पौडेल एकै विमानमा फर्केर नेकपाको भावी नेतृत्वको सन्देश दिन पनि नेताद्वयलाई सिंगापुर डाकेको हुनसक्ने स्रोतको दाबी छ । ‘एक्ला उपाध्यक्ष भनेपछि प्रष्टै छ नि, फेरि सन्देश दिनु आवश्यक नै छैन’, अर्का नेताले भने।

केपी शर्मा ओली सिंगापुर प्रस्थान गर्नुअघि प्रचण्डलाई सचिवालय बैठक डाकेर आवश्यक निर्णय लिन अख्तियारी दिएका थिए तर प्रचण्डको अध्यक्षतामा भदौ ९ गते बसेको सचिवालय बैठकले ओलीसँगको परामर्शबिना नै चार जना पूर्वमाओवादी– देवेन्द्र पराजुली, कल्पना धमला, पदमबहादुर राई र किरण राईलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्‍यो । 
प्रचण्डको अध्यक्षतामा बसेको भदौ ९ गतेको सचिवालय बैठकले केही केही जनवर्गीय संगठनको इञ्चार्ज र सहइञ्चार्ज समेत तोक्यो, जुन विवादास्पद बनेको छ । 

नेकपाको अन्तरिम विधानअनुसारको केन्द्रीय अनुशासन आयोग, लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षहरू तोक्न अझै बाँकी छ । 
 

 Published Date: Wednesday, 4th September 14:26:51 PM