गण्डकी प्रदेशको बजेट अधिवेशन जेठ १५ मा

पोखरा, जेठ ३ : प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन जेठ १५ गतेका लागि आह्वान गरिएको छ। 

गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले चौथो तथा बजेट अधिवेशन जेठ १५ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको हो। सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमका साथै आर्थिक वर्ष २०७६/७७ को बजेट पेश हुने भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।

बैठकले प्रहरीलाई मोटरसाइकल खरीदका लागि ९२ लाख रूपैयाँ छुट्याइएको छ। सरकारले छुट्टै अफ्सेट प्रेस सञ्चालनका लागि विनियोजित एक करोडमध्येबाट सो रकम रकमान्तर गरी मोटरसाइकल खरीदका लागि दिने निर्णय भएको मन्त्री बस्नेतले बताए।  

 Published Date: Friday, 17th May 2019 4:20:36 pm