शनिबार, साउन ४, २०७६

अर्थमन्त्रीज्यू! यो वर्ष मेरा लागि सुखद् रह्यो भन्ने एउटा मान्छे मलाई भेटाइदिनुस् 

नेपालमा पहिलो पटक कम्युनिष्टको ५ वर्षसम्म हलचल नहुने पूर्ण बहुमतको सरकार बनेको छ।

डा. बाबुराम भट्टराईले कम्युनिष्ट नरहेको घोषणा गरिसक्नु भएपश्चात यो भन्न अल्मलिनु परेन–नेपालको कम्युनिष्टमध्ये अर्थतन्त्र सम्बन्धी सबैभन्दा पढेको र जानेको व्यक्ति अहिलेको नेपालको अर्थमन्त्री हुनुहुन्छ। यस्तो अनुकुलता भएको सरकार यस्तो विद्वान अर्थमन्त्रीबाट भ्यागुता उफ्रने अर्थतन्त्रको अपेक्षा हुनु स्वभाविक हो।

गएको एक वर्षमा के भयो त?  अर्थमन्त्रीज्यूको दाबी छ–एक वर्षमा गज्जब भयो। संघीयता कार्यान्वयन उत्कृष्ट भयो। शिक्षा र स्वास्थ्यको क्षेत्रमा पहुँच बढ्यो, काम र रोजगारीमा वृद्धि भयो, गरिब वर्गको उत्थान भयो, आर्थिक पूर्वाधार निर्माणमा उत्साहजनक काम भयो, बजेट अनुशासनको पालना भयो, सुशासनको वर्ष रह्यो राम्रै, राम्रै भयो। हरेक दिन एक कदम सरकारले चालेको हुनाले गर्दा जनतामा खुसीयाली छायो।

म चुनौतीका साथ अर्थमन्त्रीलाई भन्न चाहन्छु–एक पटक नेपाल घुमौं। प्रदेश सरकारदेखि, स्थानीय सरकारसम्म विद्यार्थी, शिक्षक, मजदुर, किसान, उद्यमी, उद्योगी, व्यवसायी, नयाँ-पुरानो कसैलाई पनि भेटौं र सोधौं। यो वर्ष नेपालमा मेरा निम्ति सुखद वर्ष रह्यो भन्ने एकजना मान्छे तपाईँले मलाई भेटाइदिनुहोस्। 

मेरो कुरा सुनेर अर्थमन्त्रीज्यूले पक्कै भन्नुहुन्छ–अर्थतन्त्रको कुरा यसरी मनोगत ढंगले गर्ने हैन, तथ्यांकमा हेर्नुहोस्। एकपटक तथ्यांक हेरौं। एकातर्फ लक्षित राजश्व संकलन हुन सकेको छैन। अर्कोतर्फ आन्तरिक राजश्वले चालु खर्च धान्न नसक्ने अवस्था आएको छ। ९ महिनामा ४० प्रतिशत विकास खर्च हुन सकेको छैन। निर्यातको अनुपातमा आयात तपाईँकै पालामा १४ बाट १६ गुण पुगेको छ। बजेट घाटा बढ्दो छ, भुक्तानी सन्तुलनमा चाप बढ्दै गएको छ। 

२ वर्षमा देखिने तरलता क्षेत्रको अभाव हरेक दुई–तीन महिनामा देखिन थालेको छ। भएका उद्योगहरू बन्द हुन थालेका छन्। नयाँ उद्योगको कुरै नगर्नुहोस्, देशभित्रको निजी क्षेत्रको लागतमात्र हैन निराशा पनि बढेको छ। तपाईँले फेरि भन्नुहोला–तथ्यांक यसरी हेर्ने होइन। कुल ग्राहस्थ उत्पादनमा भएको वृद्धि हेर्नुहोस्। ८ प्रतिशतको लक्ष्य थियो, ६.८ प्रतिशत यसको नजिक–नजिक हामी पुगेका छौं। त्यो पनि कृषि क्षेत्रमा खासगरि पुनर्निर्माणमा काष्ट सामग्रीहरुको प्रयोगका कारणले आएको हो।

एउटा त्यसले गरेका योगदान र अर्को सधै जस्तो आयातमा आधारित  सेवा क्षेत्रमा भएको मार्जिनल ग्रोथको कारणले गर्दा देखिएको वृद्धि  हो। औद्योगीक क्षेत्रमा झन् गिरावट आएको छ। यो सरकारको नीति तथा कार्यक्रमले भएको होइन। हामी कसैले गर्दा भएको होइन। यो बाह्य कारणले गर्दा भएको हो। यो दिगो छैन। यो दिगो रहँदैन। यसको आधारमा यो एक वर्षमा हामीले चमत्कार भयो भन्दिनु पर्ने–अर्थमन्त्रीले जादु गर्नु भयो भनेर भन्दिनु पर्ने?

कम्युनिष्टमा आत्मालोचनाको खुबै चर्चा हुने गरेको छ। आत्मालोचना कमजोरीको संकेत हैन, उच्च परिपक्वताको संकेत हो। मैले गर्न खोजे तर, सकिनँ। तर, अब यो पटक गर्छु सुधार भन्ने ठाउँबाट अर्थमन्त्रीज्यूले सुरु गर्नुभएको भए सायद हामी ठीक बाटोमा जान्थ्यौं होला। 

समिक्षा ठीक ढंगले नगर्नु भएकाले गर्दा १६ वटा सिद्धान्त र २६ वटा प्राथमिकता अलमलमा परेको छ। सन्तोषजनक प्रगति भयो अब यसलाई दुई अंकको बनाउनुपर्छ। माथिदेखि तलसम्म हामी त्यो हेर्छौं। हामीलाई दुई अंकको आर्थिक वृद्धि हैन, हाम्रो अर्थतन्त्रलाई निर्यातमा आधारित त्यो वृद्धिको ठाउँमा पुर्‍याउनु पर्नेछ। 

१५ वटाभन्दा बढी देशहरूले २५ वर्षसम्म ७ प्रतिशतको आर्थिक वृछि कसरी हासिल गरे? भारत र चीन पछिल्लो समयमा कसरी जोडिए? राम्रो अध्यन गर्नुहोस्। त्यसले सिकाएका के कुराहरू छन्। कतिपय हाम्रा आफ्ना विशेषताहरु छन्। हाम्रा जनशक्तिको आफ्नै विशेषता छ, जो अझै केही वर्षसम्म तन्नेरी रहन्छ। पछि बुढ्यौली लाग्छ।

हाम्रो भू–अवस्थितिको केही विशेषता छ। हाम्रो प्राकृतिक प्रकोपको आफ्ना जोखिमहरू छन्, हामीले रोजगार सिर्जना गर्नुपर्छ, सबैभन्दा ठूलो  कुरा हामीले हाम्रो वृद्धिलाई समावेशी गर्नुपर्छ। हाम्रो असमानता र गरिबी मात्रै समस्या होइन, हामीसँग स्रोत र साधन छ। हामीसँग भएको सबै स्रोत र साधन परिचालन गरेता पनि हामीले हाम्रो लक्ष्य भेटाउन सक्दैनौं। 

हामीलाई लगानी चाहिएको छ। लगानी कहाँबाट ल्याउने? कसको ल्याउने? कसरी आउँछ? हामीले गएको वर्षसँग तुलना गरेर मात्रै हुँदैन। दक्षिण एसियामा सबैभन्दा कम वैदेशिक लगानी रहेको नेपालले अरु देशसँग कसरी प्रतिष्पर्धा गर्ने? सरकार जति अनुदारबादी हुँदै जान्छ त्यति लगानी आउने सम्भावना घट्दै जान्छ। योतर्फ हामी सचत हुने कि नहुने? 

 चालु खर्चलाई स्थिर कसरी गर्ने? पूँजीगत खर्च भएन भनेर यत्रो वर्षसम्म भनियो। त्यसमा गुणात्मक फड्को कसरी मार्ने एक–एक अध्ययन गर्नुपर्‍यो। एउटा समस्याको निदान के हो? हामीले थाहा पाएका छौं, त्यसमा काम गर्ने हिम्मत गर्ने कि नगर्ने? राजश्व परिचालनका सन्दर्भमा हामी सीमामा पुगेका छौं। यसमा नवीनता ल्याएर आएनौं भने यो यही जमेर बस्छ। 

विश्व अर्थतन्त्रमा आयामको परिर्वतनसँग हामी कसरी जोडिने? हामीले के उत्पादन गर्ने र के उत्पादन नगर्ने? निजी क्षेत्रमा काम कसरी गर्ने? उद्यमशिलताको वातावरण कसरी बनाउने? जसले गर्दा नेपाल औद्योगीकरणको बाटोमा जान सकोस् र त्यो क्षेत्रले नेपालको ग्रोथलाई लिन गर्न सकोस्। 

सिद्धान्तमा समस्या देखिएपछि क्षेत्रगत कार्यक्रममा के गर्ने, के नगर्ने भन्ने मेसो नपाउने कुरा स्वभाविकै हुने भयो। शिक्षा क्षेत्रमा सबैभन्दा ठूलो समस्या कक्षा कोठामा सिकाइको हो। सरकार साक्षरता अभियानमा अलमलिएको छ। स्वास्थ्य क्षेत्रमा आधारभूत आकस्मिक र स्वास्थ्य बीमा फरक के हो भन्ने पनि नीति र कार्यक्रममा र फेरि यहाँ पनि त्यही कुरा दोहोर्‍याइको छ।

कृषिमा त्यही पुरानो छ। औद्योगीकरण गर्ने, व्यवसायीकीकरण गर्ने, यान्त्रीकरण गर्ने, विशिष्टीकरण गर्ने, उत्पादन बढाउने यही कुरामा हामी अलमलिएका छौँ। नेपालमा हिजोको भन्दा आज उत्पादन घटेको हैन, हाम्रो उपभोग बढेको छ भन्ने सामान्य ज्ञान पनि नराखी पहिले असाध्यै दुःखी हुने काम जताततै छ। 

समृद्धिको परिकल्पना हावादारी भएको हुनाले नीति र कार्यक्रम ओरालो बरालिएको हो। यसैले गर्दा बजेट कार्यक्रम झन अलमलियो। अब बजेट कस्तो आउला भन्ने त्यो हेर्न बाँकी छ। 

(नेपाली कांग्रेसका युवा नेता थापाले प्रतिनिधिसभाको प्रि–बजेट छलफलमा व्यक्त गरेको विचारको सम्पादित अंश।)

 Published Date: Monday, 13th May 19:33:50 PM