शनिबार, चैत्र २२, २०७६

यी हुन् कोरोना भाइरसबाट संक्रमित चर्चित फुटबलर

काठमाडाैं, चैत ११ : कोरोना भाइरसका कारण अहिले विश्व नै आतंकित छ। त्यसबाट खेलकुद पनि अछुतो रहन सकेको छैन।

कोरोनाकै कारण अहिले विश्वखेलकुद नै ठप्प छ। सन् २०२० मै हुने तय भएका ठूला फुटबल प्रतियोगिताहरु युरोकप र कोपा अमेरिका एक वर्षपछि सरिसकेका छन्।

कोरोनाकै कारण स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्ज र स्पेनकै मालागको एक स्थानीय क्लबका प्रशिक्षक फ्रान्सिस्को गारिकाको मत्यु भएको छ। यस्तै, इटालिनय क्लब युभेन्ट्सका अर्जेन्टाइन स्ट्राइकर पाउलो डिबालादेखि आर्सनलका प्रशिक्षक मिकेल अर्टेटासम्म कोरोना भाइरसबाट संक्रमित छन्। 

रिपब्लिक अफ आयरल्यान्डका प्रशिक्षक माइक म्याक्राथ, बेल्जियन फुटबलर मारोउने फेलानी, अर्जेन्टिनाका पूर्वगोलकिपर ह्युगो गुटी, टर्किस क्लब गालातासारेका प्रशिक्षक फातिथ टेरिम, रियल मड्रिडका पूर्वअध्यक्ष फर्नान्डो मार्टिनलगायतलाई कोरोनाको संक्रमण देखिएको छ।  

युरोपका उत्कृष्ट पाँच लिगमा क–कसलाई भएको छ त कोरोनाको संक्रमण ?

सिरी ए : डिबालादेखि माल्दिनीसम्म संक्रमित

कोरोनाबाट सबैभन्दा बढी प्रभावित युरोपियन मुलुक हो इटाली। इटालीको शीर्ष डिभिजन सिरी ‘ए’ का एक दर्जनभन्दा बढी खेलाडीमा कोरोनाको संक्रमण देखिएको छ।

सिरी ‘ए’ क्लब साम्पडोरियाका सबैभन्दा बढी ७ खेलाडी छन् भने युभेन्ट्सका ३, फियोरेन्टिनाका ३ र एसी मिलान र भेरोनका एक खेलाडीमा कोरोनाको संक्रमण रहेको बताइएको छ। 

युभेन्ट्सका पाउलो डिबाला कोरोना संक्रमित बनेका हाइप्रोफाइल फुटबलर हुन्। युभेन्ट्सका स्टार डिबालाले आइतबार इन्स्टाग्राममार्फत आफू कोरोना संक्रमित भएको बताएका थिए। उनीसँगै प्रेमिका ओरिना सबाटिनीलाई पनि कोरोना संक्रमण देखिएको छ। डिबालासँगै युभेन्ट्सकै अन्य दुई खेलाडी डिफेन्डर ड्यानिअल रुगानी र मिडफिल्डर ब्लेइस मटुइडीमा पनि कोरोनाको संक्रमण देखिएको छ। 

यसैगरी, एसी मिलानका टेक्निकल निर्देशक पाउलो मान्दिली र छोरा ड्यानिअल माल्दिनी पनि कोरोनाको संक्रमण रहेको बताइएको  । पाउलो माल्दिनी एसी मिलानका पूर्वस्टार हुने भने छोरा ड्यानिअल अहिले एसी मिलानबाटै शीर्ष डिभिजन खेलिरहेका छन्। 

ला लिगा : वि लेइ कोरोना संक्रमित पहिलो चाइनिज खेलाडी

कोरोनाको संक्रमण बढी भएको अर्को मुलुक हो, स्पेन। मार्च २२ मा स्पेनको शीर्ष डिभिजन ला लिगा क्लब स्पानियोलका खेलाडी वि लेइमा कोरोना पोजेटिभ देखियो। चीनबाटै सुरु भएको कोरोना भाइस अहिलेसम्म कुनै पनि चाइनिज फुटबलरमा देखिएको थिएन। 

यसैगरी, अर्को ला लिगा क्लब भ्यालेन्सियाका इलिक्वेम मांगाला र इजक्वेल ग्यारीमा कोरोनाको संक्रमण देखिएको छ। यस्तै, भ्यालेन्सियाकै अन्य तीन स्टाफमा पनि कोरोनाको संक्रमण देखिएको बताइएको छ। अल्भेसका तीन खेलाडीसहित १५ जनामा कोरोनाको संक्रमण देखिएको छ। तर उनीहरुको नाम खुलाइएको छैन।

प्रिमियर लिग : अर्टेटा र ओडोइमात्र संक्रमित

इंग्लिस प्रिमियर लिग अन्तर्गत ब्राइटनविरुद्धको खेलअघि आर्सनलका प्रशिक्षक मिकेल अर्टेटामा कोरोना संक्रमण भएको पाइयो। लगत्तै चेल्सीका युवा स्ट्राइकर कालुम हड्र्सन ओडइमा पनि कोरोना भाइरस देखियो। यी दुईमा कोरोना देखिएपछि इपिएलका प्रायः सबै क्लबले खेलाडीसहित सम्पूर्णलाई क्वारेन्टाइनमा राखेका थिए। इंग्ल्यान्डको सेकेन्ड डिभिजन क्लब पोस्र्टमाउथका चार खेलाडीमा पनि कोरोनाको संक्रमण देखिएको छ। 

लुका कोरोना संक्रमित पहिलो बुन्डेस लिगा खेलाडी

जर्मनीको यु–२१ टिमका सदस्य लुका किलियन कोरोना संक्रमित हुने पहिलो बुन्डे्स लिगाका खेलाडी हुन्। पाडेर्बोनका डिफेन्डर किलियनमा सोमबारमात्र कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो।

जर्मनीकै दोस्रो डिभिजन क्लब ह्यानोभरका दुई खेलाडी पनि कोरोना संक्रमण देखिएको छ। ह्यानोभरका टिमो हुर्वेस र जनेस हर्नमा कोरोना देखिएको थियो। हुर्वेस कोरोना संक्रमित हुने पहिलो फुटबलर पनि हुन्।

यी कोरोना संक्रमित खेलाडी

पाउलो डिबाला, युभेन्ट्स
ड्यानिअल रुगानी, युभेन्ट्स
ब्लेइस मटुइडी, युभेन्ट्स
मनोलो गाबियद्दिन, साम्पडोरिया
बार्टोस बेरेन्जिस्की, साम्पडोरिया
ओमर कोली, साम्पडोरिया
अलिबन इक्दल, साम्पडोरिया
एन्टोनियो ला गुमिना, साम्पडोरिया
मार्टेन थोस्र्बी, साम्पडोरिया
फाबियो डेपाओली, साम्पडोरिया
जर्मन पेजेल्ला, फियोरेन्टिना
प्याट्रिक कुट्रोन, फियोरेन्टिना
डुसान भालाहोभिच, फियोरेन्टिना
कालुम हर्ड्सन ओडोई, चेल्सी
इलिक्वेम मांगाला, भ्यालेन्सिया
इजक्वेल ग्यारी, भ्यालेन्सिया
वु लेइ, स्पानियोल
लुका किलियन, पाडेर्बोर्न
मारोउने फेलानी, सान्दोङ लुनेङ
ह्युङ जुन सुक, ट्रोयस
टिमो हुवेर्स, ह्यानोभर
जनेस हर्न, ह्यानोर
जेम्स बोल्टन, पोर्ट्समाउथ
एन्डी क्यानोन, पोर्ट्समाउथ
सेन रागेट, पोर्ट्समाउथ
हाजी मनोगा, पोर्ट्समाउथ

-एजेन्सीको सहयोगमा

 Published Date: Tuesday, 24th March 16:58:49 PM