मंगलबार, असार ३, २०७६

भव्य बन्दैछ दरबार हाइस्कुल तर छैनन् विद्यार्थी

दरबार हाइस्कुलको निर्माणाधीन भवन। तस्वीर: रिवाज राई

काठमाडौं, जेठ २८ : राणा शासनका संस्थापक जङ्गबहादुरले बेलायत भ्रमणपछि विसं १९१० मा स्थापना गरेको दरबार हाइस्कुल भवन चीन सरकारले बनाइदिँदैछ। 

चार वर्षअघिको भुइँचालोले चिरा–चिरा पारेपछि पुरानै ढाँचामा बनाइदै छ–भव्य भवन। विद्यालय खुलेको पहिलो चार दशकसम्म ठाउँ–ठाउँमा सारिएको उक्त विद्यालय विसं १९४८ देखि अहिलेकै टाउँमा स्थायी रूपमा सञ्चालन हुँदै आएको हो।

सांघाई कन्स्ट्रक्सन प्रालिले बनाउँदै गरेको दरबार हाइस्कूलको डिजाइन भने पुरानै छ। रानीपोखरीअगाडि बनिरहेको उक्त चारतले भवन तयार हुँदा दरबार हाइस्कुल ४६ कोठा हुने छन्। बेलायत भ्रमणपछि तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरले पनि नेपालमा विद्यालय खोल्नुपर्ने आवश्यकता महसुस गरेर खोलिएको थियो उक्त स्कुल। 

भवन यति भव्य बन्दैछ तर त्यहाँ पढ्ने विद्यार्थी चाहिँ अत्यन्तै थोरै छन्।  प्रधानाध्यापक हेमचन्द्र महतोले दिएको जानकारीअनुसार, अहिले दरबार हाइस्कुलमा एक सय ७० जना विद्यार्थी छन्। अहिले ती विद्यार्थी प्रदर्शनीमार्गस्थित वाल्मिकी क्याम्पस परिसरमा बनाइएका अस्थायी टहरामा पढ्छन्।

१९९० सालको भूकम्पले पनि क्षति पुर्‍याएको थियो दरबार हाइस्कूलको भवनमा। त्यतिबेला छानोका केही भागमा मात्र क्षति पुगेको थियो। त्यसपछि टायलको सट्टा जस्ताले छाइएको थियो। 

प्रधानाध्यापक हेमचन्द्र महतो।

नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुन्छ। विद्यालयमा २१ जना शिक्षक–शिक्षिकाले जागिर खान्छन्– १८ जना स्थायी र ३ जना अस्थायी। सबैभन्दा कम विद्यार्थी कक्षा एक मा ६ जना मात्र छन्। 

यति राम्रो ठाउँमा अवस्थित ऐतिहासिक विद्यालयमा किन आउँदैनन् त विद्यार्थी ? प्रधानाध्यापक महतोले सजिलो जवाफ दिए, ‘सरकारी विद्यालयप्रतिको आकर्षण घटेको छ। त्यसमाथि यो विद्यालयवरिपरि बस्ती निकै कम छ।’

निर्माण कम्पनीको विद्यालय भवन आगामी दशैंसम्ममा पुनर्निर्माण गरी हस्तान्तरण गरिसक्ने लक्ष्य छ। काम धमाधम भइरहेको छ। 

विद्यार्थी छैनन् तर यति ठूलो भवन विद्यालयले कसरी प्रयोग गर्छ ? प्रध्यानाध्यापक महतोले भने, ‘नयाँ भवनमा गएपछि नयाँ योजना बनाउँछौँ। विद्यार्थी संख्या बढाउँछौँ।’
महतोले नयाँ भवन तयारमा सरेपछि विद्यालयलाई प्रविधिमैत्री बताउने पनि बताए। उनले भने, ‘अहिले बनिरहेको नयाँ भवनको अत्यधिक सदुपयोग गर्छाैं। अब दरबार हाइस्कूललाई प्रविधिमैत्री बनाउँछौँ।’ 

प्रध्यानाध्यापक महतोका अनुसार, नयाँ भवनमा दुई वटा विद्यालय सञ्चालित  हुनेछन्। दरबार स्कुल भवनको भुइँ तलामा संस्कृत मावि चल्ने छ। अनि माथिल्लो तलामा चाहिँ भानु माविका कक्षा चल्ने छन्। भूकम्पले क्षति पुर्‍याउनुअघि पनि दुबै विद्यालय दरबार हाइस्कुल भवनमै सत्तचालित थिए।

स्थापनाकालदेखि दरबार हाइस्कुलको नामबाट चल्दै आएको विद्यालय पछि  रानीपोखरी पाठशालामा परिणत भयो। नाम फेरिए पनि पहिचान चाहिँ पुरानै थियो। विसं २०२४ सालदेखि यो विद्यालयको नाम परिवर्तन गरी भानुभक्त माध्यमिक विद्यालय बनाइयो, जुन आजपर्यन्त छ।  

विसं १९३४ मा दरबार हाइस्कुलमै संस्कृत पाठशाला पनि स्थापना भयो । त्यो पाठशालाको नाम संस्कृत प्रधान पाठशाला, संस्कृत प्रधान मावि हुँदै अहिले संस्कृत मावि बनेको छ। जङ्गबहादुरले सुरुमा दरबार हाइस्कुल स्कुल थापाथली दरबारभित्रै खोलेका थिए। त्यसपछि थापाथलीबाट कान्तिपथस्थित चारबुर्जा दरबार (हाल निर्वाचन आयोग बसेको भवन) मा सारियो।

केही वर्षपछि त्यहाँबाट पनि जमलको सेतो दरबार लगियो। केही समयका लागि त्यहाँबाट नारायणहिटी दरबारभित्र सारिएको थियो, दरबार हाइस्कुल। 

प्रधानमन्त्री वीरसमशेरको पालामा १९४० सालताका स्कुललाई फेरि थापाथली दरबारको दाखचोकमा सारियो। अहिलेको ठाउँमा चाहिँ दाखचोकबाट १९४८ सालमा लगिएको थियो। यो ठाउँ हाल पनि दरबार हाईस्कुलककै नामले परिचित छ।

सुरुमा विद्यालय खोल्दा जङ्गबहादुरले मिष्टर केन्निक नाम गरेका अंग्रेजी शिक्षक बेलायतबाट झिकाइएका थिए । केन्निङ नै दरबार हाइस्कुलका पहिलो प्राचार्य हुन्।त्यसपछि उक्त विद्यालयमा लगातार छ जना प्राचार्य विदेशी नै रहे। केन्निङपछि पनि बेलायती नागरिक मिष्टर ड्रमण्ड नै दोस्रो प्राचार्य बनेका थिए। त्यसपछि चाहिँ लगातार चार जना भारतीय नागरिकले उक्त स्कूलको नेतृत्व सम्हालेका थिए।

दरबार हाइस्कुलको पहिलो नेपाली प्राचार्य बन्ने सौभाग्य चाहिँ रुद्रराज पाण्डेलाई प्राप्त भयो। उनी दरबार हाइस्कुलको छैठौं प्रध्यानाध्यापक बनेका थिए। अहिलेका महतो उक्त विद्यालयका २१ औं प्रध्यानाध्यापक हुन्।  

 Published Date: Tuesday, 11th June 17:40:47 PM