सोमबार, भदौ २, २०७६

कलेजो प्रत्यारोपण सफल भएपछि फुटबलमा गोल हान्दाझैं खुशीले चिच्याएँ : डा.रमेशसिंह भण्डारी

डा.रमेशसिंह भण्डारी, कलेजो प्रत्यारोपण सर्जन, त्रिवि शिक्षण अस्पताल। | तस्वीर:काठमाडौं प्रेस

काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकाका कलेजो प्रत्यारोपण सर्जन हुन्– डा.रमेशसिंह भण्डारी। ४२ वर्षीय उनैको नेतृत्वमा महाराजगञ्ज शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण कार्य जेठदेखि सुरु भयो।

अहिलेसम्म दुई वटा कलेजो प्रत्यारोपण सफल भएको छ– २०७६ जेठ १७ गते एउटा र साउन ३ गते अर्को। नेपालमै भर्खरै सुरु भएको कलेजो प्रत्यारोपणबारे अस्पतालका प्राध्यापक सर्जन डा.रमेशसिंह भण्डारीसँग काठमाडौंप्रेसका लागि इन्द्रसरा खड्काले गरेको कुराकानीः

तपाईंको नेतृत्वमा त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरू भयो। कस्तो महसुस भइरहेको छ?

एकदमै खुशी छु, जुन म शब्दमा बयान गर्न सक्दिनँ । यसका लागि मलाई साथ दिने सबै चिकित्सक साथीहरुलाई पनि धन्यवाद दिन्छु। अंग प्रत्यारोपण गर्नु सामान्य कुरा हैन। त्यसमा पनि कलेजो प्रत्यारोपण निकै गाह्रो काम हो। साथीहरुले मलाई सहयोग गर्नुभयो। हामी सफल पनि भयौं निकै खुशी लागेको छ।

यसको पूर्वतयारी कसरी गर्नुभएको थियो ?

भर्खरै योजना गरेर लगत्तै काम थालेको होइन। यसका लागि लामो सयदेखि योजना बनाएका हौँ। मलाई मानव अंग प्रत्यारोपण विषयमा पहिलेदेखि नै चासो थियो। त्यसमा पनि कलेजो प्रत्यारोपण बढी चासो थियो।

पढाइको सिलसिलामा  सन् २००९ मा सर्जनका लागि अस्टेलियाको छात्रवृत्ति पाएको थिएँ। पढाइकै क्रममा मेलबर्नको कलेजो प्रत्यारोपण गर्ने अल्फ्रेड अस्पताल केही समय काम गर्ने मौका पनि पाएँ।

त्यहाँ प्राक्टिस गर्दा मनमनै लाग्यो– ओहो यो त निकै ठूलो र गाह्राे काम रहेछ। नेपालमै गर्न पाए त्यहाँका नागरिकलाई कति सजिलो हुन्थ्योहोला।

भनेपछि पढ्ने बेलैमा यो सपना देख्नुभएको थियो?

सपना देख्न त पाइयो नि ! मैले त्यतिबेला नै सोचेको हो– नेपालमै यो काम गर्न पाए कति राम्रो हुन्थ्यो।

म पढाइ सकेर (०६९ सालमा) नेपाल फर्केँ । नेपालमा कलेजो प्रत्योरोपण आवश्यक छ। यो कसरी गर्न सकिन्छ भन्नेबारे साथीभाइहरुसँग कुरा गरे। कतिपयले त नेपालमा यो सम्भव नै छैन पनि भने तर मैले हिम्मत हारिनँ।

नेपालमा कलेजोका बिरामी धेरै छन्। लाखौँ खर्च गरेर यसैका लागि भारत लगायतका विभिन्न देश जानुपर्ने बाध्यता छ। नेपालमै प्रत्यारोपण गर्नसक्यो भने खर्च पनि कम, आफ्नै ठाउँमा उपचार गर्न सकिने देखेँ । मलाई लाग्यो– जसरी भए पनि नेपालमै काम थाल्नुपर्छ।

मैले यो कुरा विभिन्न देशका साथीहरुसँग पनि गरेँ। उहाँहरुले हौसला दिनुभयो। अष्ट्रेलियाका डाक्टरसँग पनि राखेँ– उहाँले आउनुस्, हामी सहयोग गर्छौँ भन्नुभो । म फेरि २०७१ सालमा अष्ट्रेलिया गएँ।

डा.रमेशसिंह भण्डारी।

फेरि अष्ट्रेलिया गएर एक वर्षमा सिक्नुभो?

अष्टेलियामा कसरी काम गर्छन् भन्ने सिकेँ । कस्तो टिम बनाउने, यसका लागि के–के उपकरण चाहिन्छ ? भन्ने कुराहरु धेरै सिके। गाह्रो छ भन्ने त थाहा भयो तर असम्भव छैन भन्ने पनि लाग्यो।

एक वर्षपछि नेपाल फर्केँ। मैले अठोट गरेँ– अब हामीले शिक्षण अस्पतालमै कलेजो प्रत्यारोपण गर्न सक्छौँ। धेरै साथीले अझै पत्याएका थिएनन्। कतिपयले भने हौसला पनि दिए।

म टिम बनाउन लागेँ । आफैँले सिकाउने काम पनि गरेँ । बजेट आवश्यक थियो । यो कुरा मैले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापालाई भेटेर राखेँ। उहाँले सहयोग गर्नुभयो। हामीले ११ करोड रुपैयाँ पायौँ । त्यसबाट आवश्यक सामान जोडियो । टिम पनि बन्यो । त्योलगत्तै लाइसेन्स पायौँ । काम सुरु गर्‍यौँ।

कलेजो प्रत्यारोपणमा काम गर्ने कति जनाको टीम छ तपाईंसँग?

फुटबल टीममा ११ जना खेलाडी हुनैपर्छ भन्ने जस्तो हुँदैन। धेरैजना साथीहरु हुनुहुन्छ, जसले विभिन्न काममा हामीलाई सघाउनुभयो। विशेषगरी २५–३० जना जतिको हाम्रो टीम छ।

कलेजो प्रत्यारोपण गर्ने अघिल्लो दिन के सोचिराख्नुभएको थियो?

के हुन्छ, कस्तो हुन्छ भन्ने त थियो । सँगै खुशी पनि थिएँ । पाँच वर्षदेखिको योजना पूरा हुँदै थियो। सँगै डर पनि थियो–कतै फेल पो हुन्छु कि ? म फेल भएमा यो कार्यक्रम नै फेल हुन्थ्यो।

अर्को, बिरामीलाई केही भइहाल्यो भने के गर्ने होला? यस्तै कुरा मनमा थियो। म आफु हार्ने त सामान्य भयो। त्योभन्दा पनि डर यो कार्य सफल नभए अस्पतालले अझ थुप्रै वर्ष कुर्नपर्छ भन्ने थियो।

अनि शल्यक्रिया गर्दा?

पूरै टीम तयारी अवस्थामा थियौँ। डर, खुशी दुवै थियो। कलेजो जस्तो संवेदनशील अङ्ग । कुरा भन्नै सकिँदैन । डर भइरहेको थियो।

शल्यक्रिया सकेपछि कस्तो महसुस भयो?

राति ११ बजे शल्यक्रिया सकियो। अपरेशन सफल त भयो तर पछि केही समस्या आउँछ कि भन्ने डर मनमा थियो। जमिनबाट त माथि उठ्यौँ भन्ने त भयो त्यो दिन तर, त्यसपछि पनि आकाशमा कतै केही हुने त हैन भन्ने लागिरहेको थियो।

बिस्तारै विरामीको स्वास्थ्य राम्रो हुँदै आयो। १० दिनपछि बिरामीलाई आईसियूबाट जर्नल वार्डमा सारेपछि बल्ल अलि ढुक्क भएँ।

भनेपछि तपाईंको खुशी बल्ल प्रस्फुटित हुन पायो?

हो, म सर्जन भएर काम गरेको १४ वर्ष भयो। कलेजोसम्बन्धी काम गरेको आठ वर्ष जति भयो। जति बिरामीको शल्यक्रिया सफल हुन्थ्यो, सधैँ खुशी हुन्थेँ ।

मेरो जीवनमै सबैभन्दा खुशी भएको दिन त्यो हो, जुन दिन पहिलोपटक कलेजो प्रत्यारोपण सफल भयो। त्यो दिनको खुशी अहिले शब्दमा व्यक्त गर्न सक्दिनँ।

अरुभन्दा पनि धेरैजसोले मलाई पत्याएका थिएनन्। नेपालमा सम्भव नै छैन पनि भनेका थिए। तर, पनि मैले काम सफल गरेरै छोडेँ।

मेरा साथीहरुलाई भनेको थिएँ– जुन दिन हाम्रो उद्देश्य पूरा हुन्छ, म फुटबलमा गोल हानेको जस्तै कराउँछु। बाह्य रूपमा त म त्यसरी कराइनँ तर भित्री रूपमा खुशीले त्योभन्दा धेरै चिच्याएँ।