आईतबार, फागुन ११, २०७६

धरहरा चढ्न लिफ्ट, पूरातत्वविद् भन्छन, ‘मौलिकता गुम्छ’

विसं १९९० र २०७२ काे भूकम्पमा भत्किन अघिका धरहरा र अहिले पुन:निर्माण गरिँदै।

काठमाडौ, माघ ३ : विवादै विवादको सामना गर्दै आएको धरहरा पुनःनिर्माणले अहिले गति लिएको छ। तर, यसमा पनि नयाँ विवाद निम्तिएको छ, लिफ्ट।

२०७२ को विनासकारी भूकम्पले ध्वस्त बनेको धरहराको चार वर्षपछि पुनःनिर्माणले गति लिएको हो। धरहरा पुनःनिर्माणको जिम्मा पाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रत्येक महिना दुई तल्ला बनाउने लक्ष्यसहित काम गरिरहेको छ। तर, ऐतिहासिक तथा पुरातात्विक दृष्टिकोणले निकै महत्वपूर्ण धरहराको पुनःनिर्माणमा अत्याधुनिक प्रविधि प्रयोग हुने भएपछि पुनः विवादित बन्न पुगेको छ।

धरहराको पहिचान नै ऐतिहासिकता हो। यसलाई प्राचिन मौलिकता झल्कने गरि निर्माण गर्नुपर्नेमा पूरातत्वविद्हरुले जोड दिँदै आइएका छन्। प्राधिरकणले भने यसमा लिफ्टलगायतका प्रविधि जडान गर्ने भएको छ। प्राधिकरणकातर्फबाट धरहराको पुनःनिर्माण हेरिरहेका सम्पदाविज्ञ राजुमान मानन्धरले यसमा लिफ्ट जडान गरिने बताए। ‘तलबाट सिधै टुप्पोमा पुग्ने गरि लिफ्ट जडान हुन्छ,’ मानन्धरले भने, ‘लिफ्टसँगै भर्‍याङ पनि राखिनेछ।’