सोमबार, मंसिर २३, २०७६

धरानमा घाम डुब्नुको पाँच अर्थ

तिलक राई।

धरान, मंसिर १६ : नेपाली कांग्रेसका धरान नगर सभापति तिलक राईले पूर्वी नेपालकै एक मजबुत ‘लाल किल्ला’ भत्काएर नयाँ इतिहास रचेका छन्। शनिबार सम्पन्न उपनिर्वाचनमा नेकपाका प्रकाश राईलाई दुई हजार सात सय ९५ मतान्तरले पराजित गर्दै उनी धरानको नयाँ मेयर बनेका हुन्।

२०७४ मा सम्पन्न स्थानीय तहको चुनावमा पनि उनी मेयरका उम्मेदवार थिए। तर, उनी एमालेका तारा सुब्बासँग चार हजार आठ सय ७३ मतान्तरले पराजित भए। त्यो वेला एमाले र माओवादीबीच एकीकरण भएको थिएन।

एमाले र माओवादी एक भएपछि धरानको ‘लाल किल्ला’ झन् मजबुत भएको ठानिएको थियो। र, हालसम्म कांग्रेसले कहिल्यै नजितेको धरानमा यसपालि पनि वाम उम्मेदवारकै विजय हुने आशा नेकपाको थियो।

तर, सोमबार बिहान अन्तिम नतिजा सार्वजनिक हुनुअगावै तिलक राईको जित निश्चित भइसकेको थियो। उनले पूर्वएमालेको पकड रहेको कतिपय वडामा समेत नेकपाभन्दा धेरै मत ल्याए।

धरानको मेयर पदका लागि भएको उपचुनावमा कांग्रेसको विजयले राष्ट्रिय राजनीतिमा खासै प्रभाव पार्दैन तर यसले आउँदा दिनका लागि केही महत्वपूर्ण सन्देशहरू भने पक्कै दिएको छ।

विद्रोही शहर

धरान विद्रोही स्वभाव बोकेको शहर हो। पञ्चायतकालभरि धरानले निरंकुश दरबारविरुद्ध विद्रोह गर्‍यो। २०४६ यता अधिकांश समय केन्द्रीय सत्तामा कांग्रेसको बर्चस्व रह्यो, धरानले भने स्थानीय शासनको बागडोर एमालेको हातमा सुम्पिरह्यो।

कांग्रेस जति धेरै विवादास्पद काण्डहरूमा मुछिन्थ्यो, धरानले त्यति नै धेरै भरोसा एमालेलाई गथ्र्यो। अहिले केन्द्रीय सत्तामा पहिलोपटक नेकपाको नेतृत्वमात्रै होइन, दुई तिहाइको पकड पनि छ। तर, धरानले वाम नेतृत्वविरुद्ध विद्रोहको बिगुल फुक्न सुरू गरेको छ। राष्ट्रिय राजनीतिमा नेकपा जति बदनाम हुँदै छ, धरानमा त्यति नै धेरै कांग्रेसी रुखका जराहरू गाडिदैछन्।

भावनात्मक एकीकरण बाँकी

२०७४ को स्थानीय तहको चुनावमा विजयी एमालेका तारा सुब्बाले २० हजार नौ सय ७५ मत ल्याएका थिए। माओवादीले ११ हजार मत ल्याएको थियो। एमाले र माओवादी पक्षधरले यसपालि एक ढिक्का भई मत खसालेका भए धरानमा नेपाली कांग्रेसको चारतारे झण्डा फहराउने थिएन।

तर, पार्टी एकीकृत भए पनि पूर्वएमाले र पूर्वमाओवादीका कार्यकर्ताहरू एक–अर्काप्रति सशंकित थिए। जुन चुनावी नतिजामार्फत पनि प्रष्ट भयो। २०४८ यता धरानमा पहिलोपटक वाम उम्मेदवार पराजित भएको घटनाले धरानमा नेकपाको भावनात्मक एकीकरण हुन बाँकी नै रहेको देखाउँछ।

परिवर्तनको आकांक्षा

धरानमा पूर्वएमालेको सङ्गठन बलियो थियो र छ। पहिलो संविधानसभा निर्वाचनमा सुनसरी–१ जितेको माओवादीको पनि आफ्नै कार्यकर्ता पंक्ति छ। तर, ती दुई मिल्दा पनि कांग्रेसले जित्नुको एउटा मुख्य कारण धरानमा यसपटक देखिएको परिवर्तनको लालसा हो।

२०७४ मा मेयर पद जितेका तारा सुब्बाले खासै नराम्रो र विवादास्पद काम गरेका थिएनन्। तर, उनले धरानको विकासलाई गति दिने खासै नयाँ काम पनि गर्न सकेनन्। केही सडकहरू कालोपत्रे भए। ढल निकासको व्यवस्था भयो। कल्भर्ट बने। तर, ती कामहरू प्रक्रियागत रुपमा आफैं हुने खालका थिए। स्थानीय तहको चुनाव नभइदिएको भए पनि कर्मचारीतन्त्रकै भरमा ती कामहरू आफैं हुन्थे।

सुब्बाको निधनपछि कार्यकारी मेयर बनेका उपमेयर मञ्जु भण्डारीले त झन् नगरबासीलाई मात्र होइन, आफ्नै कार्यकर्तालाई पनि चिढाइन्। यसपालि तिलक राईले परिवर्तनको नारा दिए र धरानबासीले उनको वाचामा विश्वास गरे।

‘लौरो’ले नजित्ने रहेछ!

प्रजातन्त्रको पुनर्बहालीपछि धरानमा जति पनि स्थानीय चुनाव भए, ती सबै एमालेले नै जितेको थियो। यसले एमालेजनमा एक प्रकारको अहंकारको वीजारोपण गरेको थियो– धरानमा त हाम्रो पार्टीले लौरो खडा गरे पनि जित्छ!

उपनिर्वाचनको नतिजाले देखायो– धरानबासीहरू पार्टीप्रति बफादार उम्मेदवार होइन, कर्मठ मेयर खोज्दा रहेछन्।

धरानलाई चाहिन्छ धराने

धेरै धरानबासीका लागि धरान एउटा भूगोल मात्रै नभई एक सभ्यता, जीवन शैली र संस्कृति पनि हो। दार्जीलिङको सांस्कृतिक प्रभावमा परेको धरानको छुट्टै बोली बोल्नेहरू आफूलाई असली धराने ठान्छन्।

धरान–१८ मा जन्मे–हुर्केका तिलक राईलाई पनि धेरैले असली धराने ठान्छन्। नेकपाले पनि राई उम्मेदवार नै उठाएको थियो तर उनी धरानबासीका लागि तिलक राई जति धराने थिएनन्। यसैले, अघिल्लो चुनावमा एमाले र माओवादीलाई मत हालेका कतिपय धरानबासीले यसपालि नेकपाका उम्मेवादवारलाई मत हाल्नुको सट्टा हरदम आफूमाझ नै रहँदै आएका धराने युवालाई रोजे।

 Published Date: Monday, 2nd December 13:20:41 PM