सोमबार, मंसिर २३, २०७६

कम्युनिष्ट किल्ला धरानमा कांग्रेसको जित पक्का

चुनावी प्रचारका क्रममा का‌ंग्रेस उम्मेदवार तिलक राई।

धरान, मंसिर १६ : कम्युनिष्टको गढ मानिएको धरान उपमहानगरपालिकामा कांग्रेसका उम्मेदवार जित नजिक पुगेका छन्।

मतगणना अन्तिमतिर पुग्दा कांग्रेसका उम्मेदवार तिलक राई नेकपाका प्रकाश राईभन्दा दुई हजार ६ सय दुई मतले अगाडि छन्। तिलकले २५ हजार नौ सय ९५ मत पाएका छन्। त्यस्तै, नेकपाका प्रकाशले २३ हजार तीन सय ९३ मत पाएका छन्।

अहिलेसम्म ५३ हजार पाँच सय १७ मत गणना भएको छ। यहाँ ५५ हजार मत खसेका थिए। अब करिब एक हजार पाँच सय मत गणना गर्न बाँकी छ। अब सबै मत नेकपाका प्रकाशले पाएपनि कांग्रेसका तिलकलाई भेट्याउन सक्नेछैनन्।

झण्डै तीन दशकपछि धरानमा कम्युनिस्ट पार्टी हार नजिक पुगेको हो। २०४८ यता कुनै पनि निर्वाचनमा कांग्रेसले जितेको थिएन।

२०४९, २०५४ र २०७४ को स्थानीय निर्वाचनमा एमालेले नै जितेको थियो। २०७४ को निर्वाचनमा एमालेबाट जितेका तारा सुब्बाको निधन भए पछि अहिले उपनिर्वाचन भएको हो।

धरान उपमहानगर पर्ने सुनसरी–१ क्षेत्रमा पनि अहिलेसम्म कांग्रेसले संसदीय निर्वाचनमा पनि जित्न सकेको छैन।

 Published Date: Monday, 2nd December 10:20:56 AM