सोमबार, भदौ ३०, २०७६

डेंगू रोग के हो? कसरी बच्ने? (भिडियो वार्ता)

काठमाडौं : डेंगू लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो। यो रोग एडिज एजिप्टाइ र एडिज अल्वोपिक्टस् जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ। 

१० हजार मानिसलाई डेंगू संक्रमण भएमा एक हजार मानिसमा मात्र लक्षण देखापर्छ। उनीहरुमा डेंगू संक्रमण भएपछि सबैभन्दा पहिला ज्वरो आउँछ।  १० हजारमध्ये पाँच सयमा भने ज्वरोका साथै टाउको दुख्छ, आँखाका गेडी दुख्छन्, जोर्नी दुख्छ, शरीरमा रातो दाग आउने लगायतका लक्षण पनि देखा पर्छ। 

भिडियाे अन्तर्वार्ता

यसको रोकथाम गर्न नसके कलेजो, मृगौला लगायतका कोमल अंगमा असर पर्न सक्छ। जसले मृत्युको मुखमा समेत धकेल्न सक्छ। 

यो पनि:  देशभर साढे २४ सयभन्दा बढीमा डेंगूको संक्रमण

डेंगूको सामान्य लक्षण

१. रुघा लाग्नु, सामान्य ज्वरो आउनु

२. टाउको दुख्नु (आँखाको पछाडीको भागमा)

३. वान्ता आउनु, वाकवाकी लाग्नु

४. पेट दुख्नु, पखाला लाग्नु

५. मांशपेसी, हाड र जोर्नी दुख्नु

६. छालामा रातो फोका देखिनु

गम्भीर लक्षण ४ देखि ७ दिनमा देखा पर्न थाल्छ 

डेंगूको गम्भीर लक्षण

१.उच्च ज्वरो (१०४ डिग्री फरेन्हाइटसम्म)

२.नाक र मुखबाट रगत बग्नु 

३. रगतमा प्लेटलेट्सको मात्रामा कमी आउनु

४. रक्तचाप अत्यधिक घट्नु

कसरी सर्छ डेंगू?

१. एडिज एजेप्टी जातको लामखुट्टेको टोकाइबाट

२. संक्रमित लामखुट्टेको टोकाइबाट

३. संक्रमित व्यक्तिको रगत वा कुनै अंग प्रत्यारोपणबाट

४.गर्भावस्थामा आमालाई डेंगू लागेमा शिशुमा समेत सर्ने सम्भावना

डेंगू संक्रमणबाट कसरी बच्ने?

-घर वरिपरिको वातावरण सफा राख्ने

-झ्यासझुस हटाउने, घर छेउछाउका नाला, खाल्डा आदिमा पानी तथा फोहरमैला जम्मा हुन नदिने

-सुत्ने बेलामा झुल प्रयोग गर्ने

-लामखुट्टेको वृद्धि रोक्न किटनाशक औषधि छर्कने

-साँझबिहान लामखुट्टे अत्यन्त चनाखो हुने भएकाले उक्त समयमा घरको झ्यालढोका बन्द राख्ने

-पूरा बाहुला भएको लुगा लगाउने, शरीरको खुला अंगमा तोरीको तेल लगाउने

-रोगविरुद्ध भ्याक्सिन लिने, सीमावर्ती क्षेत्रमा डेंगूको जोखिम उच्चस्तरमा रहने भएकाले आवतजावत गर्ने शंकास्पद व्यक्तिका लागि रोग परीक्षण तथा औषधोपचारको व्यवस्था मिलाउने

-खानेपानीको ट्यांकी, जमेको पानी, फालिएको टायर, ट्युब, गमला, खाली बोतल र मिनरल वाटरका खाली बोतलमा समेत डेंगू सार्ने एडिज एजेप्टाइ जातको लामखुट्टेले बास गरेको पाइन्छ। यसबाट पनि सतर्कता अपनाउनुपर्छ।

उपचार विधि 

-रोग लागि औषधि खानुभन्दा रोग नै लाग्न नदिने उपाय अपनाउनु निकै प्रभावकारी हुन्छ। अस्पतालमै जानु परेपनि चिकित्सकको परामर्शमा प्रयोग गर्नुपर्छ। किनकि एस्प्रिनको प्रयोगले कतिपय रोगीको आन्द्राबाट रक्तश्रावजस्ता जटिल समस्या आउने सम्भावना हुन्छ।

-ज्वरोको तापक्रम ज्याँदा बढेमा चिसोपानीले शरीरलाई स्पोन्ज गर्ने 

-जलवियोजनका लागि जीवनजल वा नुन, चिनी, पानी प्रयोग गर्ने। 

-झोलिलो खाना प्रशस्त खाने र रक्तश्राव बढी भएमा चिकित्सकको सल्लाहमा रक्त प्रत्यारोपण गर्ने, रोगका लक्षण देखा पर्नासाथ नजिकको अस्पताल वा स्वास्थ्यचौकीमा उपचारका लागि जाने।

-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. बास्तोलासँग इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित

 Published Date: Friday, 6th September 18:14:16 PM