दमौलीमा होली फेस्टिवल हुने

काठमाडौं, फागुन १७ : फागुपुर्णिमाका अवसरमा तनहुँको सदरमुकाम दमौलीमा ‘दमौली होली फेस्टिवल–२०७५’ आयोजना हुने भएको छ । 

रोटरी क्लब अफ दमौली, रोटर्‍याक्ट क्लब अफ दमौली र विदेश पढ्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिंदै आएको संस्था युनिक्याम्पस ग्लोबलले संयुक्त रुपमा आयोजना गर्ने सो कार्यक्रमको सहआयोजक भने इनर ह्वील क्लब अफ दमौली रहने छ । 

‘ह्याप्पीनेस एण्ड सेलेब्रेसन’ नाराका साथ मनाइने उक्त कार्यक्रममा जनजातीका विभिन्न सांस्कृतिक झांकीहरु प्रस्तुत गरिने रोटरी क्लब अफ दमौलीका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए । वर्गीय, जातीय र लिङ्गीय विभेद हटाउने उद्देष्य राखिएको कार्यक्रमले देश भित्र र बाहिर बस्ने तनहुँका स्थायी बासिन्दाका तनहुँसँग जोड्ने लक्ष्य पनि राखेको जानकारी श्रेष्ठले दिए । यो फेस्टिवलको जानकारी दिनका लागि बिहीबार  काठमाडौंको पुतलीसडकमा पत्रकार भेटघाटको कार्यक्रम पनि आयोजना गरिएको थियो । 

पत्रकार भेटघाट कार्यक्रममा दिइएको जानकारी अनुसार कार्यक्रमले दमौली र समग्रमा तनहुँका पर्यटकीय क्षेत्रको महत्व बढाउन कोशिस गर्ने र आदिवासी जनजाती लगायत सकेसम्म सबै समुदायको संस्कृतिलाई प्रबद्र्धन गर्न कोशिस गर्नेछ । सांस्कृतिक पर्वहरुलाई तनहुँका सर्वसाधारण जनताको जनजीविकासँग जोड्ने प्रयास गरिएको जानकारी पनि रोटरी क्लब अफ दमौलीका अध्यक्ष सन्तोष श्रेष्ठले दिए । 

फेस्टिवलमा जुम्बा र एरोबिक्स, आदिबासी जनजातीहरुको सांस्कृतिक कार्यक्रम र  फेस पेन्टीङ्ग लगायतका मनोरन्जनात्मक कार्यक्रम छन् । त्यस्तै  व्यास नगरपालिकाको अग्नि नियन्त्रणको सुविधा भएको जानकारी दिन नगरपालिकाको अग्नि नियन्त्रण संयन्त्रको प्रदर्शनी समेत रहने जानकारी श्रेष्ठले दिएका छन् । 


 

 Published Date: Friday, 1st March 2019 4:28:16 pm